निर्मलाका लागि कविता…

बागलुङ, ३ असोज — निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुइ महिना बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको बिरोधमा बागलुङका सर्जकले ‘निर्मलाका लागि न्याय’ बिषयक कविता बाचन गरेका छन् । नागरिक क्षेत्रका व्यक्तिहरुको स्वतस्फूर्त जुटेको समूहमा सर्जकले निर्मलाको बलात्कार र हत्याको दोषी पत्ता लगाउन नसक्ने सरकारबाट अरु केही आस गर्न नसकिएको टिप्पणी गरे । उनीहरुले बर्तमान सरकारको तिखो आलोचना समेत गरेका थिए । कार्यक्रममा १६ जना सर्जकले कविता, गजल र गीत मार्फत निर्मलाका लागि न्याय मागेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिबाट दोषी पत्ता लगाउने बिषय भन्दा पिडितलाई पिडा दिने बिषय आएको भन्दै स्रष्टाहरुले कवितामै चोटिलो प्रहार पनि गरेका थिए । त्यस्तै प्रहरी, प्रशासन र राज्यको उपल्लो तहमै दोषीलाई संरक्षण गर्ने नियत राखिनुले सर्वसाधारण जनताले न्याय पाउन नसकेको समेत उनीहरुको अभिव्यक्ति थियो ।

कविता बाचन गर्नेहरुले कविताबाटै सरकारको राजिनामा मागेका थिए भने कसैले सरकार हराएको सूचना जारी गरेका थिए । नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरलले संचालन गरेको कार्यक्रममा अध्यक्ष दिल शिरिष, धनराज सापकोटा, राजेन्द्र आचार्य, प्रतिमान थापा, ताराप्रसाद शर्मा स्टार, बिशेष पराजुली, संगम घर्ती मगर, कोपिला कंडेल, सिर्जना पन्तले कविता बाचन गरेका थिए । त्यस्तै कार्यक्रममा सज्जन कुमार सिंह, बिनोद पौडेल, हरि शर्मा हरिष, बिष्णुराज पौडेल, सिर्जना कार्की, आरसी गौतम र मुकेश राजभण्डारीले पनि आफ्नो रचना बाचन गर्दै निर्मलाका लागि न्याय मागेका थिए । केही दिन देखि बागलुङमा पनि निर्मलाको बलात्कार र हत्याको प्रतिबिम्म बिरोधका कार्यक्रम भैरहेका छन् ।