प्रचण्ड र चिनियाँ उपराष्ट्रपति वाङ क्वी सानबीच भेटवार्ता

‘चुनौतिहरुको सामना गरेर मात्र विद्यमान अवसरहरु प्राप्त गर्न सकिन्छ।’

बागलुङ, ३ असोज – छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको बताए। त्यसको आधारका रुपमा कम्युनिष्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरेको प्रचण्डले चिनियाँ उपराष्ट्रपतिलाई बताएका थिए।
‘हामीसँग थुप्रै अवसर र चुनौतिहरु छन्’ प्रचण्डको भनाई थियो, ‘चुनौतिहरुको सामना गरेर मात्र विद्यमान अवसरहरु प्राप्त गर्न सकिन्छ।’ प्रचण्डले नेकपा-चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य भएको बताएका थिए। उपराष्ट्रपति सानले प्रचण्डलाई चीनमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पुरानो मित्रको रुपमा आफूहरुले लिएको बताएका थिए।
‘तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ, तपाईसँग भेट गर्न पाउँदा हामीलाई खुसी लाग्छ’ उपराष्ट्रपति सानले भनेका थिए, ‘तपाईं हाम्रो पहिले पनि भेट भएको थियो।’ शान्ति स्मृति दिवसका अवसरमा प्रचण्डले गरेको सम्बोधन निकै प्रभावशाली भएको भन्दै उपराष्ट्रपति सानले प्रचण्डको प्रसंशा पनि गरेका थिए। अध्यक्ष प्रचण्डले चीनको च्याङ्सु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसलाई बुधबार विहान सम्बोधन गरेका थिए। सो कार्यक्रममा विभिन्न देशका राष्ट्रपति, उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतको उपस्थिति रहेको थियो।