मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सञ्चालनमा

पहिरोले बगाएको सडक मर्मत गरेपछि सडकमा सवारी सञ्चालन हुन थालेका आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

म्याग्दी,८ असोज – बेनी-जोमसोम सडक १० दिनपछि आइतबार साँझदेखि सञ्चालनमा आएको छ । पहिरो र नदी कटानका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा भदौ २७ गतेदेखि सिधा सवारी आवागमन अवरुद्ध थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भीरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि सडकमा सवारी सञ्चालन हुन थालेका बेनी-जोमसोम कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको सुवेदीले बताए । राहुघाट, रुप्से, घाँसा र लेते खण्डमा अवरुद्ध भएको सडक यसअघि नै मर्मत गरी सवारी सञ्चालन गरिएको थियो । ‘बेनीदेखि सिधै जोमसोमसम्म सिधा सवारी सञ्चालन गर्न सकिन्छ’ आयोजना प्रमुख सुवेदीले भने । सडक अवरुद्ध हुँदा स्थानीयबासी, पर्यटक र तिर्थयात्री समस्यामा परेका थिए । साथै अन्य उपभोग्य वस्तु ढुवानीमा पनि समस्या भएको थियो।