सुरु भयो तीब्र गतिको रेल, हङकङबाट नौ घण्टामै बेइजिङ

हङकङ, ८ असोज – हङकङबाट चीनको राजधानी बेइजिङ जोड्ने गरी नयाँ तीब्र गतिको रेल सेवा शनिबारबाट सुरु भएको छ। यो तीब्र गतिको रेलबाट केबल नौ घण्टामै हङकङबाट बेइजिङ पुग्न सकिनेछ ।शनिवारबाट सुरु भएको यो रेल सेवामार्फत थोरै समयमै लामो यात्रा तय गर्न सकिनेछ । तर यो रेल सेवा सुरुवात भएसँगै स्वायत्त क्षेत्र हङकङमा चीनको प्रभाव अझै बढ्ने चिन्ता पनि जनाइएको छ। यस रेल सञ्जालको निर्माणमा आठ वर्ष भन्दा धेरै समय लागेको थियो । १० अर्ब डलर भन्दा धेरै लगानी चीनले यस रेल सञ्जालमा गरेको छ। यसको उद्धेश्य भनेको दैनिक ८० हजार भन्दा धेरै यात्रुलाई हङकङदेखि बेइजिङसम्मको रुटका गन्तब्यमा पुर्‍याउनु रहेको छ।

यो तीब्र गतिको रेलबाट केबल १४ मिनेटमै २६ किलोमिटर अर्थात् हङकङबाट शेनझेनसम्म यात्रा हुने भएपछि मानिसहरुको धेरै समय बचत हुने भएको छ । यस रेलले सीमामा बसेका चिनियाँलाई पनि सजिलै राजधानीसम्म पुग्ने ढोका खुलेको छ। रेलबाट आधा घण्टा भन्दा कम सयममा गुआङ्डोङ्गको राजधानी गुआन्गऔसम्म पुग्न सकिनेछ । अब त्यहाँ पुग्न पहिले भन्दा ९० मिनेट कम समय लाग्नेछ । यो रेल सेवाका कारण ४४ वटा ठूला सहरी गन्तब्य राजधानीसँग सीधै जोडिएका छन् । जसमा संघाई, बेइजिङ्ग र शिआन सहर पनि छन् ।
चीनकै केही विपक्षी सांसदहरुले भने यसले कानुनको उलं‌घन गर्ने जिकिर गरेका छन् । बेलायतका शासकबाट सन् १९९७ मा चीनको अधीनमा आएपछि हङकङको मिनी संविधान अनुसार उसको आफ्नै कानुनी तन्त्र छ  र नागरिक स्वतन्त्रता पनि रहेको छ। यो संविधान हङकङबासीलाई अभिव्यक्ति स्वतन्त्रता र र सभा गर्ने स्वतन्त्रता पनि दिन्छ । तर यो कुराको त्यहाँ निरन्तर उल्लंघन भइरहेको छ। रक्षा, विदेश मामिला र राष्ट्रिय सुरक्षासँग जोडिएका कानुनी मामिला चीनले नै हेर्दै आएको छ। सहरको राजनीतिमा बेइजिङको कडा नियन्त्रण र वृहद आर्थिक र लोकतान्त्रिक सुधारको माग गर्ने नेताविरुद्ध लगातार कारबाही चलाइँदा हङकङको बचेखुचेको स्वायत्तता पनि समाप्त हुने आशंका गरिएको छ।