व्यवसायमा नयाँपन हुनुपर्छ (अन्तरवार्ता)

अहिले गण्डकी प्रदेशमा साना रेष्टुरेण्टदेखी तारे होटलसम्म गरेर १० हजारभन्दा धेरै होटल छन्

देशमा संघिय संरचना लागु भएपछि सदरमुकाम बागलुङ बजारमा प्रभाव देखीन थालेको । संघियतासँगै स्थानीय तहमा केन्द्रित भएका सरकारी कार्यालयका कारण स्थानीय तहका केन्द्रमा बजार बिस्तार भएका छन्भने जिल्ला मुकाममा कारोवार ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेका कारण सदरमुकामको व्यवसायमा केही न केही रुपमा प्रभाव देखीएको छ । संघियताको मारमा सबैभन्दा धेरै होटल व्यवसायी परेको गुनासो सुनिन् थालेको छ । सरकारी कामका लागि सदरमुकाम आउने सर्वसाधारणले लिने गरेको सेवाका कारण सञ्चालनमा रहेका होटल संघियताको मर्म अनुसार आफुलाई परिवर्तन गर्न नसकेकै कारण धारासायी बनेका हुन् । गण्डकी प्रदेशमा होटल व्यवसायको अवस्था, होटल व्यवसाय र पर्यटन व्यवसायको सम्बन्ध, होटल व्यवसायमा देखिएका सुधार गर्नुपर्ने पक्ष र होटल व्यवसायीको आगामी रणनीतिको बिषयमा होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालसँग सहकर्मी तारानाथ आचार्यले गरेको संक्षिप्त संवाद ।

गण्डकी प्रदेशमा होटल व्यवसायको अवस्था कस्तो छ ?
–देश संक्रमणकालबाट स्थिरतातिर लम्किएको छ तर हामी संक्रमणकालमा प्रवेश गरेका छौं । प्रदेशभित्र रहेका ११ जिल्ला सदरमुकाममा होटल व्यवसाय खस्कँदो अवस्थामा छन् । तर संघियतासँगै बनेका स्थानीय तहका मुकाममा भने व्यवसायले केही गति लिएको छ । समय अनुसार चल्नु पर्ने हो तर हामीले तत्कालै देशको शासन व्यवस्था अनुसार व्यवसायलाई स्थानान्तरण गर्न सक्ने कुरा भएन । बजारमा मानिसको फ्लो निकै घटेको छ । एकातर्फ महंगीको मार, महंगिदो घरभाडा, करको चाप र घट्दो व्यापारका कारण अहिले सञ्चालनमा रहेका साना ठुला होटल धान्न नसकिने अवस्थामा पुगेका छन् ।
व्यवसाय धरापमा पर्नुको खास कारण के हो ?
–पहिलो कुरा त हामीले जर्बजस्त व्यापारलाई मात्रै प्राथमिकतामा राख्यौं । मानिसको रोजाई बन्न सकेनौं, अर्को कुरा सिमित ठाउँमा केन्द्रित रहेको बजारमा हाम्रा व्यवसायहरु सञ्चालनमा छन् । समय अनुसार स्नान्तरण र परिवर्तन गर्न नसकेका कारण यो अवस्था आएको हो । धरासायी नै त नभनौ तर व्यवसायमा ठुलो संकट पैदा भएको छ । यसलाई कम गर्नको लागि हामीले पहल थालिसकेका छौं । केही बर्ष पहिला ५ हजार व्यवसाय कर तिर्ने व्यवसायीले अहिले १० हजार कर तिर्छन् । भाडा बढेको छ । खाद्य बस्तु, बिजुली र पानी लगायतको भुक्तानी गर्नुपर्ने दायित्व कायम नै छ । तर सोचेजस्तो व्यापार छैन् । लाखौं लगानी भएको व्यवसायमा मुनाफाको खोजी हुनु स्वभाविक हो तर अहिले अधिकांश व्यवसायी मुनाफा गर्न सक्ने अवस्थामा छैनन् । व्यवसाय धरापमा परेकोभन्दा पनि व्यवसायमा संकट आईलागेको हो, यो समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ ।
व्यवसायीले सुधार गर्नुपर्ने पक्ष के–के हुन् ?
–अबको व्यवसाय भनेको जसले नयाँ कुरा दिन सक्छ उसैको सफल हुन्छ । पोखरामा पाक्ने दालभात र बागलुङमा पनि पाक्न थाल्यो भने त्यो मानिसको रोजाईमा नपर्न सक्छ । तनहुँमा फापरको डिँढो पाक्दा नवलपुरमा मार्सी चामल पाक्नु पर्छ, म्याग्दीमा कोदो पाक्दा गोरखाले मकैको आटो पकाउन सक्नु पर्दछ । अर्को कुरा होटल रेष्टुराँहरुले आफ्नो व्यवस्थापनमा पनि सुधार गर्न आवश्यक छ । गाउँघरमा कामको थकान मेटाउन बजार झरेको एक जना व्यक्तिले होटलमा पसेपछि आराम हुने अनुभुती गरोस् । होटलमा बसेपछि उसलाई बस्तु तथा सेवाको उपलव्धता होस् जसका कारण उसले खर्च गर्न सकोस् र खर्च बराबरको सन्तुष्टि लिन पाओस् ।
पर्यटन र होटल व्यवसायको बीचमा कस्तो सम्बन्ध हुन्छ ?
–पर्यटकसँग प्रत्यक्ष जोडिने व्यवसाय हो होटल व्यवसाय । आन्तरिक तथा विदेशी, सबै खाले पर्यटक घुम्नका लागि जहाँ–जहाँ जाँदा पनि खान बस्नको लागि आवश्यक होटल व्यवसाय पर्यटनसँग निकै नजिक छ । पर्यटन प्रवद्र्वनको लागि सरकारले योजना बनाउँदा पनि पर्यटकीय स्थानको पहिचान गरेर पर्यटकको चाहना अनुसारका होटलको व्यवस्थापन गर्ने योजना बनाएको हुन्छ । तर सरकारले अहिलेसम्म पर्यटकका लागि खानबस्न र रमाउनका लागि तोकिएका स्थानलाई हेर्दा होटल व्यवसायमा पनि सरकारी सिण्डिकेट जस्तो देखीन्छ । सिमित क्षेत्र तोकेर पर्यटकीय क्षेत्र भनिएको हुन्छ जस्तोः पोखारको लेकसाईड, चितवनको सौराहा । यस्तो सोचबाट अब हामी माथि उठ्न जरुरी छ । पोखरा घुम्न आएको पर्यटकलाई गोरखामा बास बस्ने वातावरण बनाउनु पर्छ । बागलुङ घुमेर पर्यटक पोखरा बास बस्न जान सकुन, त्यसका लागि पुर्वाधार तयार गर्ने जिम्मेवारी राज्यको हो । अर्को कुरा पर्यटकीय क्षेत्र र पर्यटकले रुचाउने ठाउँको पहिचान गरेर उनीहरुलाई सुबिधा हुनेगरी होटल व्यवसायको व्यवस्थापन गर्न जरुरी छ ।
यहाँका स्थानीय उत्पादन र पर्यटनलाई होटल व्यवसायीले कसरी जोड्न सक्छन् ?
–हाम्रो अहिलेको होटल व्यवसाय भनेको खाने बस्नेको ब्यवस्थापन गर्ने मात्रै बनेको छ । तर यहि व्यवसायसँग अन्य व्यवसायलाई पनि जोड्न सकिन्छ । हाम्रोमा घुम्न आउनेलाई खाना, खाजा खुवाउँछौं, बास बसाल्छौं र सोही सेवा अनुसारको सेवा शुल्क लिन्छौं र पठाउँछौं । तर हामीले कहिल्यै पनि जाने बेला उसले लिन चाहेको बस्तु तथा उत्पादनको बारेमा सोधेका छैनौं । हामीसँग खानासँगै बेच्न सकिने कयौं स्थानीय उत्पादन हुन सक्छन तर त्यसको व्यवस्थापन हामीले कहिल्यै गरेनौं । अबको ब्यवसायमा नयाँपन दिनको लागि गर्नुपर्ने त्यही हो । होटल व्यवसायसँगै हाम्रा स्थानीय उत्पादनको बिषयमा कम्तिमा पर्यटकलाई होटलमा बसिरहेकै अवस्थामा जानकारी होस् । उसले लिन वा खरिद गर्न चाहेको उत्पादन व्यवसायीले तत्कालै उपलव्ध गराउन सक्ने वातावरण होस् । यदि यस्तो भयोभने हामीले स्थानीय उद्यमबाट उत्पादन भएका बस्तु तथा सेवाको सहज निर्यात गर्न सक्छौं ।
प्रदेश सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्राउछौं भनेको छ । २० लाख पर्यटक राख्ने क्षमताका होटल छन् ?
–हामी हाम्रो व्यवसायसँगै सरकारले तय गरेको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने जिम्मेबारीबाट पनि उम्किन सक्दैनौं । अहिले गण्डकी प्रदेशमा साना रेष्टुरेण्टदेखी तारे होटलसम्म गरेर १० हजारभन्दा धेरै होटल हामीसँग छन् । सरकारले अहिलेको जस्तै सिमित क्षेत्रलाई तोकेर मापदण्ड बनाउने र तिनै क्षेत्रहरुको विकासमा ध्यान दिने होभने त हामीले पर्यटक धान्न सक्दैनौं । किनभने अहिले पर्यटकका लागि बस्न मिल्ने मापदण्ड पुगेका सिमित होटल र सिमित क्षेत्र मात्रै हामीसँग छन् तर सरकारले फराकिलो सोच बनाएर व्यवसायीलाई प्रोत्साहन हुने खालका कार्यक्रम तय गर्ने, व्यवसायीको पेशागत हितको संरक्षण गर्ने होभने हाम्रा व्यवसायीहरु तयार नै छन् ।
सरकारबाट कस्तो खालको सहयोगको अपेक्षा गर्नु भएको छ ।
–हामीले व्यवसाय सञ्चालन गरेबापत निकै महंगो कर तिरिरहेका छौं । राज्यले कर तिरे अनुसारको सेवा दिन सक्नु पर्छ । व्यवसायीको क्षमता विकास, व्यवसायिक क्षेत्रको पुर्वाधार निर्माण, तालिम, गोष्ठी र सेमीनारमार्फत व्यवसायीलाई सक्षम बनाउने काममा सरकार लाग्नु पर्छ । अर्को कुरा होटल व्यवसायमा दक्ष जनशक्तिको पनि अभाव छ । जनशक्ति उत्पादनको लागि पनि राज्यले सोच्नु पर्ने बेला आएको छ । राज्यले बनाएका कतिपय विधि र प्रक्रियाका कारण व्यवसायीले झण्झटिलो महसुस गरिरहेका छन्, सुधार हुनुपर्छ । राज्यले होटल व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार आउनु पर्छ ।
हजुर एउटा व्यवसायिक संगठनको अध्यक्ष हुनुहुन्छ । आफनो कार्यकालका योजना कस्ता छन् ?
–हामीले व्यवसायिक हितका लागि होटल व्यवसायी संघ बनाएर संगठित भएका छौं । मेरो कार्यकालको पहिलो काम मैले प्रदेश भित्रका साना–ठुला सबै होटल तथा रेष्टुरेण्ट व्यवसायलाई दर्ता गर्ने काममा लाग्ने छु । जसका कारण हाम्रो व्यवसायको अवस्थाका बिषयमा जानकारी हुनेछ । अर्को कुरा नयाँ व्यवसायीलाई भित्राउने र पुराना व्यवसायीको व्यवसाय सुरक्षाका लागि पहल हुने छ । प्रदेश भित्रका हरेक ठाउँको पहिचान झल्किने खालको सेवा दिन व्यवसायीलाई प्रेरित गर्ने छौं । व्यवसायीको क्षमता विकासमा अझै धेरै समय खचिर्ने सोचमा छु ।