पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र छ – अध्यक्ष प्रचण्ड

सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए ।

काठमाडौं, २० असोज – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिएका छन् । उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।
दशैंलगायतका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।
सरकारको कामलाई लिएर पार्टी भित्रैबाट आलोचना भइरहेका बेला उनले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने समेत बताए । गियर बदल्दै गाडीले गति दिए जसरी नै सरकारको काममा गति दिने उनकाे भनाई छ । प्रचण्डले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि स्मरण गराए ।