पर्यटन क्षेत्रका लागि सरसफाईमा जुटे काँठेखोलावासी

देउरालीको छेडोदेखि शिवालय मन्दिरसम्मको ५ सय मिटर सडकखण्ड र देउरालीको छेडोदेखि सापकोटा चोकसम्मको ५ सय मिटर पैदल मार्ग सरसफाई गरे ।

बागलुङ, २० असोज – जिल्लाको काँठेखोला-५ का स्थानीय पर्यटन क्षेत्रका विकास गर्ने लक्ष्यकासथा आफ्नै क्षेत्रको सरसफाईमा जुटेका छन । उनीहरुले स्थानीयको समाजप्रतिको मायालाई उजागार गर्न सरसफाईमा जुटेको वताएका छन ।
काँठेखोला गाउँपालिका वडा ५ उपल्लो विहुँ क्षेत्र अन्र्तगत रहेका ठान्डाँडा, काउले, राईटेपोखरी, तल्लो काउले, मिलन चोक, देउराली बजार र सापकोटा चोक क्षेत्रका स्थानीय जनताहरुले विश्वकै प्रसिद्ध र सुन्दर धार्मिक स्थलको रुपमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर (स्थानीय क्षेत्रमा शिवालय र रामकोट मन्दिर भनेर समेत चिनिने) वरपरको क्षेत्रिय भागमा शुक्रवार सरसफाई गरेका छन ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत रहेको देउरालीको छेडोदेखि शिवालय मन्दिर सम्मको झण्डै ५ सय मिटर सडकखण्ड र देउरालीको छेडोदेखि सापकोटा चोकसम्मको ५ सय मिटर पैदल मार्ग पनि सरसफाई गरेको स्थानीय खिमानन्द कँडेलले वताए ।
स्थानीय जनताको जनश्रमदानबाट समेत स्थानीय पैदल मार्गहरुको सरसफाई, पैदल मार्गहरुको निर्माण, आफ्नो गाउँ र टोलको सरसफाई, टोल टोलमा सुन्दर फुलका बोटविरुवाहरु रोपेर आफ्नो स्थानीय मेहनतमा नै उपल्लो विहुँ क्षेत्रलाई नेपालकै नमूना पर्यटकीय स्थलको रुपमा विकास गर्न पहिलो चरणमा होम स्टे अवधारणालाई अगाडि बढाउने प्रतिवद्धताका साथमा स्थानीय समुदाया सवैजना यो सरसफाई अभियानमा सामेल भएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङ बजारबाट झण्डै २० किलोमिटर पश्चिममा रहेको उपल्लो विहुँ क्षेत्र अन्र्तगत दहपानी, ठान्डाँडा, राईटेपोखरी, सापकोटाचोक एवं आसपासको क्षेत्रमा देश तथा विदेशका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य स्थानीय जनताहरुले लिएका छन् ।
पर्यटन प्रवद्र्धनको लागि त्रिपुरेश्वर महादेव मन्दिर यस क्षेत्रको मात्र नभएर विश्वकै हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको र यस क्षेत्रबाट पूर्व पट्टी विहुँका दुईवटा कोटहरु सुन्दर डाँडामा समेत रहेका छन् । यस क्षेत्रको शिरमा सुन्दर घोडावाँधे र शिवधुरी, पश्चिमी भागमा पर्यटकीय महत्वको थामनेटा क्षेत्र र यसको नजिकैमा गाजदह क्षेत्र समेत यस होम स्टे क्षेत्र (ठान्डाँडा आसपास) बाट सहजै जान सकिन्छ ।
यसका अलावा यहाँबाट केही तल विहुँको पोखरामा सुन्दर पोखरी रहेको छ । विहुँको उत्तरी भागमा सुन्दर जंगलहरुले भरिएको विशाल बनजंगल क्षेत्र शिवधुरी, लटेखोरिया, झुलेनीको धुरी, धम्जा हुँदै बागलुङ र म्याग्दीको सिमानाबाट सोझै ढोरपाटनको शीरसम्म पुग्दछ ।
यस क्षेत्र अन्र्तगत फापरखेत र धम्जामा पनि होम स्टे संचालनको लागि स्थानीय जनताहरुले पहल गरिरहेका छन् भने पूर्वी बागलुङ उपत्यकाको दक्षिण पूर्वी भागमा बागलुङ जिल्लाकै पहिलो अतिथि सत्कार होम स्टे भकुण्डेमा रहेको छ । यस क्षेत्र अन्र्तगत रेश र लेखानीको कादेशमा पनि स्थानीय जनताहरुले होम स्टे अभियान संचालनको तयारी गरिरहेका छन् ।

पूर्वी बागलुङ उपत्यकाको पश्चिमी मध्य भागमा रहेको हाल संचालन हुने लागेको होम स्टे क्षेत्र संभवत नेपालको मध्यपहाडी लोकमार्गको काखमा रहेको सुन्दर क्षेत्र हो । तनहुँको बन्दिपुर क्षेत्रको पर्यटकीय विकासको अध्ययन अवलोकन गर्दै लमजुङको घले गाउँ र भुजुङ क्षेत्रको समेत पर्यटकीय अध्ययन अवलोकन गरी टान पश्चिमाञ्चल पोखरा, पर्यटन वोर्ड, पोखरा र पर्यटन प्रवद्र्धन अभियान बागलुङको संयुक्त अभियानमा गण्डकी प्रदेशका पर्यटन मन्त्री माननीय विकास लम्सालसँगै पोखरामा कार्यक्रममा सहभागी भएर फर्केका स्थानीय यूवाहरु यतिवेला आफ्नो क्षेत्रको विकास हामी आँफै गर्छौं भन्ने महान शोचका साथ अगाडि बढिरहेका छन् । यस अभियानमा फापरखेत र धम्जाका स्थानीय जनताहरु समेत मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
आज भएको सरसफाई अभियानमा स्थानीय झण्डै ४० जना जनताहरुको सहभागिता रहेको थियो । आजको सरसफाई अभियान देउरालीको छेडो देखि त्रिपुरेश्वर महादेव मन्दिरसम्म हाल भएको सडकको बरिपरी पूर्ण रुपमा सरसफाई गरिएको छ भने दउराली बजार, तल्लो काउले र सापकोटा चोक क्षेत्रका कागज एवं फोहोरहरुलाई संकलन गरी व्यवस्थापन गर्ने काम सम्पन्न भएको छ ।
आजको सरसफाई अभियानको नेतृत्व स्थानीय यूवाहरु प्रेम पुन मगर, प्रेम श्रीस मगर, डिल बहादुर विक, डिल बहादुर पुन, कोपिला पुन, जमुना सापकोटा, तेजकुमारी कँडेल, कुलराज कँडेल लगायतका स्थानीय महिला एवं पुरुषहरुको सकृय सहभागितामा सम्पन्न भएको थियो ।

समृद्ध समाज निर्माण गर्नको लागि सँधै सरकारको मुख ताकिरहने प्रवृत्तिमाथि सांकेतिक प्रहार गर्दै रचनात्मक कामहरु स्थानीय स्तरबाट शुरु गर्दै जाँदा सरकारी क्षेत्रबाट पनि स्वतः सहयोग प्राप्त गर्न सकिन्छ र रचनात्मक ढंगबाट पर्यटन, कृषि, यातायात, स्वास्थ्य क्षेत्र, खानेपानी, सिंचाई, बन संरक्षण, शिक्षा, सेवामूलक क्षेत्र, अध्ययन अनुसन्धान एवं लगायतका विविध क्षेत्रहरुमा स्थानीय जनताहरुले समेत महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने सन्देश नेपालका गाउँ गाउँमा र सत्ता र शक्तिको केन्द्रमा रहेका सम्बन्धित वडा, गाउँपालिका÷नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रमा रहेका नेता र कर्मचारीहरुसँग पनि एकैचोटी पुगोस् भनेर यो अभियान संचालन गरिएको श्री प्रेम श्रीसले जानकारी दिए ।
आँफुले सिकेका अनुभव र गर्दै गरेको अभ्यास आसपासका वडाहरु, स्थानीय तह हुँदै सम्पूर्ण देशसम्म पुग्न सकोस् भन्ने आफ्नो उद्धेश्य रहेको पनि उहाँले वताउनु भयो । विशेष गरी यस क्षेत्रबाट देश तथा विदेशमा गएर विभिन्न पेशा तथा व्यवसाय गरेर बसिरहेका सम्पूर्ण विहुँकोटे दाजुभाई तथा दिदी बहिनीहरुको यस क्षेत्रमा ठूलो माया र भावनात्मक सम्बन्ध रहेको सन्दर्भलाई मध्यनजर गर्दै स्थानीय क्षेत्रमा उत्पादन र विकासका विविध क्षेत्रहरुमा लगानी आकर्षण गर्नु मुख्य उद्धेश्य रहेको श्रीसले वताए ।
विहुँकोटे स्थानीय जनताहरुले समाज विकासको लागि स्वतस्फुर्त रुपमा जनश्रमदान गरी आँफ्नो गाउँको विकासको लागि चालेको यो कदम सबैको लागि अनुकरणीय छ ।