बुटवलमा पनि फस्टाउदै जमराको जुसको ब्यवसाय

जमरामा पानी हाल्नु र तयार भइसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु बुटवलका वरिष्ठ परिवारको दैनिकी भइसकेको छ ।

रुपन्देही,  २० असोज  – डिलाराम वशिष्ठ (उपाध्याय) विगत ६ महिनादेखि बिहान ४ बजे नै उठ्छन् । उनी उठ्ने बित्तिकै जमराको जुस पेल्न शुरू गर्छन् । ५ बज्न नपाउँदै उनी कहाँ आउन भीड शुरू हुन्छ, जमराको जुस खानेहरूको । दशैंमा निधारमा र काँधमा लगाइने जमराको उपयोगिता बाहेक स्वास्थ्यका लागि लाभदायक हुने भएपछि बुटवल–४ लक्ष्मीनगरमा वशिष्ठले गुल्मी मुसिकोट जैविक कृषि फर्म स्थापना गरी व्यावसायिक रूपमा जमरा लगाई जुस उत्पादन थालेका हुन् ।
बिहान उठ्ने बित्तिकै जौं÷गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा छर्नु, तयार भइसकेका जमरामा पानी हाल्नु र तयार भइसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु बुटवलका वरिष्ठ परिवारको दैनिकी भइसकेको छ । उनलाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म जमराको स्याहार सुसार गर्दैमा सयम गएको पत्तो हुँदैन ।
होटल तथा रेस्टुरेन्टमा लामो अनुभव संगालेका वशिष्ठले अहिले व्यावसायिक रूपमा जमरा लगाएर त्यसको जुस बिक्री गर्न थालेका हुन् । ‘गएको चैतमा मैले १ जना महिलाले जमराको जुस बनाउँदै गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा देखे । त्यहाँ जमराले धेरै मानिसलाई विभिन्न प्रकारका रोग निको बनाएको थाहा पाए । त्यसपछि आफूले जमरा लगाएर त्यसको जुस बिक्री गर्न थाले,’ वशिष्ठले भने ।
जमराको जुसले क्यान्सरदेखि मानव शरीरका विभिन्न रोगहरू निको पार्नेबारे उनले धेरै ठाउँबाट बुझे । केही चिकित्ससँग पनि सल्लाह गरे र त्यसपछि शुरू गरे व्यावसायिक जमराको जुस उत्पादन । शुरूदेखि नै केही नयाँ काम गर्नुपर्छ भन्ने सोचका साथ अगाडि बढेका वशिष्ठका पतिपत्नी (अनिता) अभियानमा जुटेका छन् ।
‘१ दिन मात्र जुस पिएर हुँदैन । दैनिक रूपमा नियमित खानुपर्छ । जमराको जुसले शरीरको ‘इम्युनिटी पावर’ बढाउँछ,’ उनले भने । जमराको जुसले कोलेस्ट्रोल, सुगर, मोटोपन, कब्जियत नियन्त्रण गर्दै शरीरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने उनी बताउँछन् । जुसमा भिटामिन, खनिज, आइरन, क्याल्सियम तत्व पाइने वाशिष्ठको भनाइ छ । स्वास्थ्यका लागि लाभदायक हुने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म मर्निङ वाक गर्नेहरू दिनहुँ २ सय जना उनको पसलमा आउँछन् ।
‘पछिल्लो समय जमराको जुस सेवन गर्नेहरूको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘बिहान मर्निङ वाक गर्न लक्ष्मीनगरतर्फ आउनुहरू धेरै छन् । औषधि हुने भएकाले दीर्घरोगीहरूले बढी खाइरहेका छन् । रोग प्रतिरोधी क्षमता बढाउने भएकाले युवाहरू पनि यसतर्फ आकर्षित भइरहेका छन्,’ उनले भने । उनले थपे, ‘जुस खानेमा चिकित्सक, पत्रकार, राजनीतिक दलका नेतादेखि सर्वसाधारण छन् ।’ १ गिलास जुस ३० रूपैयाँमा बिक्री गर्ने गर्छन् उनी । लक्ष्मीनगर सामुदायिक वन उपभोक्ता समूहको जग्गा लिजमा लिएर उनले जमरा लगाएका छन् ।
उनले जमराको जुस बिक्री गरेर मासिक १ लाख रूपैयाँ आम्दानी गर्न सफल भएका छन् । ‘शुरूमा मेलै जमराको जुस बताउन जमरा लगाउँदा धेरैले हाँसोमा उडाए । अहिले तिनीहरू नै मेरोमा जुस खान आउँछन् । यसैमा मलाई गर्व छ,’ उनले भने ।
उनी जुम्लाबाट जैविक जौं मगाएर जमरा लगाउँछन् । लगाएको करीब १० दिनमा जमरा तयार हुन्छ । जमरा रेखदेखका लागि उनले २ जना युवालाई १०÷१० हजार रूपैयाँ तलब दिएर काममा लगाएका छन् । जमरामा उनले कुनै विषादी प्रयोग गर्दैनन् ।
बहुउपयोगी जमराको बारेमा व्यापक प्रचारप्रसार हुन सके उपचार नपाएर रोगले आक्रान्त बनेकालाई राहत हुनेमा वशिष्ठ विश्वस्त छन् । स्थानीय स्तरमै उत्पादन तथा प्रयोग गर्न सकिने बहुगुणी जमराको उपयोगिताबारे सरकारी तवरबाटै जनचेतनामूलक अभियान थाल्नुपर्ने आवश्यकता महसुस गरिएको उनले बताए । बेलैमा यसको औषधीय गुणबारे सचेत भई सफल प्रयोग गर्न सके आउँदो पिँढीले यसबाट प्रशस्त लाभ लिन उनको भनाइ छ ।
जमराको लागि उनले जंगलमा गएर मलिलो माटो खोजर ल्याउँछन् । जमरा विभिन्न किरा फट्याङग्रा र मुसाबाट बचाउनुपर्छ । उनकी पत्नी अमृत भन्छिन्, ‘जमराको जुस बनाउन भनेजस्तो लगाए मात्र भइहाल्न जस्तो सजिलो छैन । साह्रै गाह्रो छ । दुःख धेरै हुन्छ ।’ वशिष्ठले जमरा लगाउन शुरू गरेपछि बुटवल हिलपार्कमा पनि केही व्यक्ति यसको जुस बनाएर बिक्री गर्न थालेका छन् । लोकान्तर