कविता – नजन्मिएकी छोरीप्रती

छोरी म पछुताउने गर्थें
तिमी नजन्मिएकोमा
किनकि म सोच्थें
एकदिन तिमी
राष्ट्रपति हुने थियौ
सभामुख हुने थियौ
प्रधानन्यायाधीश हुने थियौ
प्रदेश प्रमुख हुने थियौ।

तर आज छोरी
म पछुताएको छैन
तिमी नजन्मिएकोमा
किनकि आज यो समाजले
तिमीलाई पनि पक्का
निर्मला पन्त बनाउथ्यो होला।
सम्झना दास बनाउथ्यो होला।
श्रीया सुनार बनाउथ्यो होला।
पुष्पा के सी बनाउथ्यो होला।

छोरी तिमी जन्मन्छौ नै भने
देवी या काली बनेर जन्म
दूर्गा या शक्ति बनेर जन्म
अनि समाज भित्र रहेको
दानव प्रवृत्तिलाई मास्ने
एक वीर योद्धा बनेर जन्म।