समृद्विका लागि नेपाली भाषा

‘बाली राम्रो अर्काको छोराछोरी राम्रा आफ्ना’ यो उखान गाउँघरतिर प्रचलनमा छ । तर आधुनिक र शिक्षित तथा शहरिया हामीहरु न त बाली न त छोराछोरी नै आफ्नो राम्रो मान्दछौं । सबै पराइका राम्रा मान्ने हाम्रो चलन बनिसकेको छ । त्यसकारण भाषा पनि हामीलाई आफ्नो भन्दा पराईको राम्रो लागिरहेको छ ।
विद्यालय सानो समाज नै हो । त्यसैले केही कुरा परिवर्तन गर्नुछ भने विद्यालयबाट सजिलै गर्न सकिन्छ । यही बुझेर होला कुत्सित उद्देश्यका साथ शिक्षा ऐन २०२८ मा विद्यालय शिक्षाको माध्यम अंग्रेजी वा नेपाली दुवै हुनसक्ने आत्मघाती व्यवस्थालाई लागू गरियो । हामी जनताले त्यो कुरा बुझेनौं । अनि देशव्यापी रुपमा अंग्रेजी मिडियमको लहर सुरु भयो । निजी विद्यालय त्यो व्यवस्था कार्यान्वनका पक्षमा लागे । यो संशोधित व्यवस्थाले नेपाली भाषामाथिको व्यवस्थित आक्रमण सुरु ग¥यो । भाषामाथिको आक्रमण भनेको केवल भाषामा मात्रै सीमित हुँदैन, संस्कृति, धर्म, परम्परामाथि पनि हुन्छ । यसरी सुरु भएको आक्रमणले हजारवर्षभन्दा लामो इतिहास भएको नेपाली भाषाको अस्तित्वमै धरापमा पर्ने शंका जन्माइदिएको छ ।

नेपाली भाषा संस्कृत भाषाबाट प्राकृत अपभ्रंश हुँदै विकसित भएको भाषा मानिन्छ । यसको उत्पत्ति जुम्ला जिल्लाबाट भएको विश्वास छ । जुम्ला जिल्लाको गोठीज्यूलाभन्दा तीन चार किलोमिटर भित्र हाडसिंजा भन्ने ठाउँ छ । त्यही नै नेपाली भाषाको उत्पत्तिस्थल मानिन्छ । तर त्यो ठाउँको हविगत आज पनि निकै कमजोर छ । जनजीवनमा प्रचलित भनाइअनुसार सिंजाली अन्तिम राजा सोबन शाहीले एकीकरणको लडाईंको क्रममा बहादुर शाहसँग दुई शर्त राखेका थिए रे ! पहिलो, सिंजा राज्यमा प्रचलित भाषालाई देशकै भाषा बनाइनुपर्छ । दोस्रो, सिंजा राज्यमा प्रचलित भेष दौरासुरुवाल कोटलाई देशकै भेष अर्थात पोशाक बनाइनुपर्छ । त्यो शर्त बहादुर शाहले स्वीकारेपछि सिंजाको नेपालसँग एकीकरण भएको थियो रे । परिणामतः जुम्ली भाषा र भेषले नेपाली भाषा र भेषको मान्यता पायो । तर नेपाली भाषाको उत्पत्तिस्थल हाडसिंजामा सोबन शाहीको दरबारको भग्नावशेष पनि अब धेरै समय रहला जस्तो छैन । अहिले त मुस्किलले मात्रै त्यस्तो भग्नावशेष भेटाउन सकिन्छ । त्यो नेपाली भाषाभाषी र शिक्षक विद्यार्थीहरुको तीर्थस्थल हुनुपर्ने थियो । तर कसैको चासो त्यतातिर गएन । बरु अंग्रेजी भाषाका साहित्यकारहरुको जन्मस्थलहरुमा नेपाली भाषाका विद्वानहरु पुग्नुभए होला तर नेपाली भाषाको उत्पत्तिस्थल जाने जाँगर कसैलाई चलेन । सत्यमोहन जोशी, चूडामणि बन्धु आदि यस्ता प्रवृतिका अपवाद देखिए । हजारौं विद्यालय र क्याम्पसहरुमा नेपाली भाषा माध्यमका रुपमा र ऐच्छिक विषयकै रुपमै पठनपाठन हुन्छ तर त्यस्तो विशाल भाषाको तीर्थस्थलको हविगत त्यति कमजोर हुनु दुखलाग्दो कुरा हो । त्यो ठाउँमा त नेपाली भाषाको अनुसन्धान केन्द्र बन्नुपर्ने थियो ।

नेपाली भाषाका विद्वानहरुले ठेलीका ठेली पुस्तकहरु लेखेका छन् भाषाका बारेमा । थुप्रैले त्यही भाषालाई भजाएर पेशा व्यवसाय पनि गरेका पनि छन् । तिनै विद्वानहरु भाषाबाटै आफ्नो पहिचान बनाएर देशदेशावर पनि घुमेका छन् तर आफ्नै भाषाको उद्गम थलोका बारेमा भने जानकार छैनन् । हुँदाहुँदा नेपाली भाषा जसरी लेखेपनि मिल्ने अवस्था आइसकेको छ । आज विद्यार्थीहरु नेपाली भाषा डिको नदिइकन लेख्छन् तर पनि हामीले नम्बर दिएकै छौं । अन्य विषयका विद्यार्थीहरु नेपाली प्लस अंग्रेजी भाषामा लेख्न थालेका छन् । कस्तो भाषा हो, नेपाली प्लस अंग्रेजी ? बुझ्न कठिन छ ।

भाषा समृद्धिको आधार पनि हो भन्ने कुरा एसियाकै मुलुकहरु चीन, जापान, कोरिया र अन्य मुलुकहरु फ्रान्स, जर्मनी, रुस आदिलाई हेरे पुग्छ । तसर्थ सबै नागरिकहरुलाई अंग्रेजी पढाउनैपर्छ भन्ने जरुरत छैन । निश्चित संख्यालाई अंग्रेजी पढाए पुग्छ । भाषाको माया भनेको माटोको माया पनि हो भन्ने कुरा यी मुलुकहरुले प्रमाणित गरेकै छन् । धर्म, संस्कृति, भेषभुषा, परिवार आदिको रक्षा पनि आफ्नै भाषाबाट नै हुन्छ । नेपाली मौलिक पोशाक त हराइसकेको छ । अब भाषाको अस्तित्वको सवाल छ । भ्रम कसैलाई भ्रम नरहोस् ह्रस्व दीर्घ नामका आन्दोलनहरुले नेपाली भाषाको रक्षा गर्दैनन् । संस्कृतिको रक्षा गर्दैनन् । त्यो त केवल पाँच प्रतिशतहरुको आन्दोलन हो । यहाँ पचानब्बे प्रतिशतको सवाल छ । तसर्थ विद्यालय तहमा विषयका रुपमा मात्रै अंग्रेजी पढाइनुपर्छ । नभए विद्यालय शिक्षाको माध्यम नेपाली नै कडाइका साथ लागू गरिनुपर्छ । माध्यका रुपमा अंग्रेजी पढाइने कार्यमाथि प्रतिबन्ध लगाइनुपर्छ ।