मूल्य सूची खोई ?

दशैं तिहार जस्ता पर्वहरु नजिकिन थालेपछि बागलुङमा बजारप्रतिकोे शंका बढ्दै गएको छ । बजारमा कालोबजारी हुन सक्ने, उपभोक्ता ठगिने सम्भावनालाई बिभिन्न संघ संगठनले चासोका साथ हेर्न थालेका छन् । व्यवसायसँग सम्बन्धित संस्थाहरुले सूचनानै जारी गरेर मुल्य सूचीको खोजी गरिरहेका छन्भने अधिकारबादी संघ संस्थाहरुले पनि मनोमानी नगरी मुल्य सूचीका आधारमा चाडपर्वका बेला उपभोग्य बस्तुको सहज आपुर्तिका लागि आग्रह गरिरहेका छन् । प्रत्येक बर्ष दशैं तिहारको बेला बागलुङ बजारमा हुने गरेको अनुगमन यस बर्ष अझै सुरु भएको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र राष्ट्रिय उपोक्ता महासंघ लगायतका सरोकारवालाले बजारको अनुगमन गर्ने गरेको भएपनि यस बर्ष अझै सुरु भएको छैन् । उपभोक्ता अधिकारको क्षेत्रमा काम गरिरहेको मञ्चले स्थानिय प्रशासनसँग मिलेर अनुगमनको लागि अनुरोध गरिरहेको भएपनि सामान्य गोष्ठी र बैठकमा काम टारिएको छ ।

केही दिन पहिला मात्रै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको अध्यक्षतामा प्रहरी, नगरपालिका, पत्रकार, व्यवसायी समेतको छलफलबाट अत्यावस्यक बस्तुको मुल्य सूची राख्ने र कालोबजारी रोक्ने छलफल गराएर उपभोक्ता मञ्चले जिल्लाका सबै बजार क्षेत्रका व्यवसायीलाई मुल्य सूची राख्न अपिल गरेको छ । उपभोक्ता अधिकारको संरक्षण गर्दै चाडपर्वका बेला हुने कानुन बिपरितका कामलाई रोक्नका लागि मुल्य सूचीको खोजी भएको हो । उपभोक्ता मञ्चले मात्रै हैन दशैं सुरु हुनुभन्दा एक महिना पहिलेदेखी नै व्यवसायीहरुको साझा संगठन उद्योग बाणिज्य संघ बागलुङले सार्वजनिक सञ्चार माध्याममा सूचनानै जारी गरेर मुल्य सूची राख्न आग्रह गरिरहेको छ । अधिकारबादी संस्था र सरोकारवालाले बारम्बार आग्रह गरिरहेको भएपनि बागलुङ बजारका कुनैपनि पसलमा अझैपनि मुल्य सूची टाँस भएको छैन् । केही मिठाईं पसलमा र रेष्टुँराका मेनुहरु बाहेकका पसलहरुमा मुल्य सूची राखिएको छैन् ।
चाडपर्वका बेला उपभोक्ताले अत्याधिक प्रयोग गर्ने खाद्य बस्तुको बिक्री बितरण गर्ने पसल र लत्ता कपाडा बिक्री गर्ने पसलमा नै मुल्य सूची टाँस भएका छैनन् अथवा राखिएका छैन् । नुन, चिनी, मैदा, दाल, चामल तेल घिउ, दुध, लत्ताकपडा र मासुमा पर्वका बेला बढी प्रयोग हुन्छ । यिनै बस्तुहरुमो मुल्य सूची नभएका कारण उपभोक्ता नजानिदो रुपमा ठगीमा पर्ने गरेका छन् । पहिलो कुरा त व्यवसायीले सधैं मुल्य सूची राखेर उपभोक्तालाई सहज बनाउनु पर्ने हो । तर सबै समय मुल्य सूची राख्न नसकेको भएपनि चाडपर्वका बेला मुल्य सूची राख्ने, तोकिएकै मुल्यमा उपभोक्तालाई बस्तु तथा सेवाको उपलव्ध गराउने जिम्मेबारी व्यवसायीहरुले पुरा गर्न जरुरी छ । मौकाको फाईदा उठाएर क्षणभरमै मालामाल हुने भन्दा उपभोक्ताको मन जितेर दिगो व्यवसायको परिकल्पना गर्नु व्यवसायीको दायित्व हुने छ । स्थानिय प्रशासन र सरोकारवालाले गरेको आग्रहलाई पालना गरे नगरेको बिषयमा निरन्तर अनुगमन र नियमन गर्ने काममा सरोकारवाला चुक्नु हुँदैन् ।