विस्थापित स्थानिय बासिन्दा तीन महिनादेखि अलपत्र

बागलुङ, २१ असोज — खेतबारी र घरघरमा चिरा परेपछि पहिरो खस्ने डरले बिस्थापित भएका बागलुङको काठेखोला ५ बिहुँका स्थानीय बासिन्दा अझै डरले घर फर्कन सकेका छैनन् । गत असारमा गाउँभरी चिरा परेर पहिरोको खतरा भएपछि उनीहरु घर छाडेर सुरक्षित स्थानमा बस्दै आएका थिए । बर्षात र मध्यपहाडी लोकमार्गको निर्माणको क्रममा लगाइएका ठूला मेसिनबाट थर्केर गत असार दोश्रो साता बिहुँको काउलेमा पहरोले खसेको थियो । पहिरोबाहेक गाउँमा बिचबिचमा देखिएका चिरापछि उनीहरु बिस्थापित थिए । यहाँका १४ घर परिवारमध्ये केही छिमेकीको घरमा आश्रय लिएर बसेका छन्भने केही दिनभरी काम गरेर रात बिताउन अन्यत्रै जाने गरेका छन् । ‘घर भत्कने जोखिम भएकोले बाहिर सरेको अझै फर्कन सकेको छैन’ स्थानीय भबिराम परियारले भने, ‘अर्को घर बनाउन सक्दिन, भएको स्थानमा बस्न नसकिने अबस्था छ ।’ बिहुँको पोखरा लगायत बस्ती नै खतरा पर्ने गरी उपल्लो खण्डमा चिरा परेको थियो । पहिरो नखसेपनि बारी र घरछेउमा चिरा परेकोले स्थानीयले रात बिताउने गरी बस्न डराएका छन् ।

बिस्थापितलाई दैविप्रकोप उद्दार समितिले १० देखि १२ हजार रुपैयाँसम्म दिएको थियो । बिदेशमा बसेका बिहुँका बासिन्दाले पनि केही रकम सहयोग गरेपछि पिडितहरु छिमेकीको घर, सार्वजनिक पाटी लगायतमा बसेर दिन बिताईरहेका छन् । पिडितलाई तत्काल अन्यत्र सार्ने स्थान नपाएकोले गाउँपालिका तहबाट समस्या समाधान गर्न नसकिएको अध्यक्ष अमर थापाले बताए । ‘समस्या त हो, तर बर्षातमा जस्तो नहुन सक्छ’ थापाले भने, ‘हामीले तत्काल दिने जग्गा नभएकोले पिडितलाई केही राहत दिएर बसाल्ने योजना छ ।’ गाउँपालिकाले दिएको जग्गा संघिय सरकारले चाहेको बेला फिर्ता गर्नुपर्ने भएकोले सार्वजनिक जग्गा खोजेर दिन नसकेको उनले बताए । उक्त स्थानमा भूगर्भविदहरुले पनि खतरा हुन सक्ने सुझाव दिएका थिए । ‘खतरा भएको स्थानमा कसरी फर्केर जाने ?’ पिडित सुनिता बिकले भनिन्, ‘हामीलाई बासको खोजी गरिदिनु प¥यो ।’ बालबालिकासहित सधै बाहिर बस्नुपर्दा सास्ती खेपेको उनले गुनासो गरिन् ।’ यो स्थानमा मध्यपहाडी लोकमार्गको सडक खण्ड छ । यहाँ एक्स्काभेटर, डोजर लगायतका उपकरण लगातार प्रयोग गर्दा गाउँनै खतरामा परेको स्थानीयको गुनासो छ । ‘चिरा परेको स्थान बग्यो भने बिस्थापित घर मात्र नभई सयौं घरमा असर पर्छ’ वडा अध्यक्ष शिवप्रसाद कंडेलले भने, ‘राज्यको उपल्लो तह र लोकमार्ग आयोजना नै गम्भिर भएर लाग्नुपर्ने भएको छ ।’ यसबारे धेरै संस्थाको ध्यानाकर्षण गराएपनि चासो कम भएको उनले बताए । बिहुँको पोखरा लगायतको बस्ती बढी जोखिममा पर्ने उनले बताए । साथै उक्त स्थानमा रहेको अमर मावि लगायतका बिद्यालयमा पनि असर पर्ने खतरा भएको स्थानीयको गुनासो छ ।