बेसिजनमै सुन्तला बजारमा आयो

बागलुङ, २१ असोज — बागलुङ बजारमा बेसिजनी सुन्तला देखीन थालेका छन् । चाडपर्वलाई दक्षित गरेर स्थानीय स्तरमै उत्पादन भएको बेसिजनी सुन्तला बजारमा आएको हो । बागलुङको सिगानाका किसान टोपबहादुर खड्काले बेसिजनमा फलाएको सुन्तला दशैंको मौका छोपेर बजारमा ल्याएको बताए । सामान्यतया कात्तिक मंसिरमा मात्रै सुन्तला प्रयोग गर्नका लागि योग्य हुने भएपनि खड्काले उन्नत जातको बिउ प्रयोग गरेर बेसीजनमा सुन्तला उत्पादन गरेका हुन् । सिजन सुरु हुनु पुर्व तयार भएको सुन्तलाको माग स्थानिय बजारमा अत्याधिक भएका कारण खड्का सुन्तला बजार पठाउँन व्यस्त छन् । बागलुङ नगरपालिका–८ सिगानाका किसान खड्काले आफ्नो बगानमा लगाएका एक सय बढी सुन्तलाका बोटका सुन्तला पाक्न थालेपछि बागलुङ बजारमा बिक्री गर्न थालेका हुन् । चार दशकदेखि व्यवसायीक सुन्तला खेती गर्दै आएका अगुवा किसान खड्काले लगाएका नयाँ जातका सुन्तला सिजन अगावै पाक्न थालेपछि बजारमा बिक्रीका लागि पठाउने गरेको बताए । चार वर्ष अगाडि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमा लटरम्म फलेका सुन्तला भदौदेखि नै पाक्न थालेका थिए । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता र आफ्नो कृषिप्रतिको अध्ययन अनुसन्धानका क्रममा किर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रमा पुगेका खड्काले त्यहीबाट विभिन्न जातका सुन्तलाका बिरुवाहरु ल्याएर रोपेका थिए । नेपालमा अधिकांश कात्तिक मंसिरमा पाक्ने सुन्तलाका जातको खेती गरिदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानीज उन्सो जातको सुन्तला खेती गरेका छन् । मौसमी सुन्तलाको मूल्यभन्दा तेब्बर बढी मूल्यमा बिक्री हुने उन्सो जातको सुन्तलाको स्वाद मौसमी सुन्तलाकै जस्तो भएकाले यसले राम्रो बजार पाएको कृषक खड्काले बताए । सिजनमा भन्दा बागलुङ बजारमा व्यापारिले पनि बेसिजनमा फलेको सुन्तलाको बिक्रीमा चासो देखाएका छन् ।

‘मैले चालिस वर्ष स्थानीय तथा कात्तिक मंसिरमा पाक्ने सुन्तलाको खेती गर्दै आइरहेको थिए, अध्ययन गर्दै जाँदा जापानीज जातको उन्सो सुन्तला लगाउने सोंच आएपछि त्यही खेती गरेको हुँ’ खड्काले भने– ‘अहिले आफ्नो बगानमा करिब एक सय बोटमा लटरम्म सुन्तला पकेकाले दशै अगावै बजार पठाएको छु ।’ ४० वर्ष अगाडिदेखि नै आफ्नो पाँच रोपनी जग्गामा मौसमी सुन्तला खेती गरेका खड्काले व्यवसायलाई विस्तार गरी थप १४ रोपनी जग्गा भाडामा लिएर विभिन्न प्रजातीका सुन्तला खेती गरिरहेका छन् । नेपालमा फागुन चैतमा पाक्ने मर्कर, मंसिर पुसमा पाक्ने कोङवान, विन्तो तथा भदौ असोजमा पाक्ने उन्सो प्रजातीका बिरुवाहरु समेत उपलब्ध हुने गरेकाले बाह्रै महिना सुन्तला बिक्री गर्ने गरी आफ्नो फर्मलाई विस्तार गर्ने तयारीमा रहेको खड्काको भनाई छ । उबेला खेतीयोग्य जमिनमा सुन्तला रोप्दा सबैबाट एक्लिएको बताउने कृषक खड्काले आफूले तत्कालिन समयमा गरेको अभियान अहिले आएर सफल भएको बताउँछन् । १६ वर्ष शिक्षण पेशा छाडेर २०५४ सालमा साविक सिगाना गाविसको अध्यक्ष बनेका खड्का गाविस अध्यक्षको कार्यकाल समाप्त भएपछि निरन्तर कृषि कार्यमा लागेको बताए । ‘जागिरसँगै कृषिकार्य गरिरहेको थिए, पछि राजनीतिक परिस्थितिबस गाविस अध्यक्ष हुँदा आफप्नो व्यवसायीक कृषि अभियानमा केही अवरोध आएपनि कार्यकाल समाप्तीपछि पुनः कृषि कार्यमा लागेको छु’ खड्काले भने । आफू गाविस अध्यक्ष हुँदा गाउँभरी सुन्तलाको जंगल तयार गर्ने नीति ल्याएपनि केहीको अवरोधका कारण सफल हुन नसकेको भन्दै खड्काले आफू गाविसभरि अभियान सञ्चालन गर्दै हिड्दा आफ्नै बगान बिग्रिएपछि धेरै सुन्तला मास्नुपर्ने अवस्था आएको बताए । ‘म दिनभर जनताका घरदैलोमा जानुपर्दा आफ्नै बगानमा प्रत्यक्ष निगरानी बढाउँन सकिन, अध्यक्षको कार्यकाल बाध्यतावस काठमाडौंमा कृषि कार्य गर्न गएकाले आफ्नो बगानका पुराना सुन्तला धेरै मासिए’ खड्काले भने– ‘अहिले नयाँ जातका सुन्तला र पुराना जातका सुन्तलालाई जोगाउँदै पुनः आफ्नै गाउँ फर्किएर सुन्तला खेती गरिरहेको छु ।’ नेपालमा कृषि उपज उत्पादन, बजारीकरणका बारेमा राज्यले खासै चासो दिन नसकेको भन्दै खड्काले नेपालको हावापानी अनुसार उचित हुने फलफुल खेती मात्र गर्न सुझाव दिए । ‘नेपालमा अहिले सफल भएको फलफुल खेती स्याउ र सुन्तला मात्र हो, उपल्लो भेगमा स्याउ र पहाडी भेगमा सुन्तलाबाहेक अन्य फलफुल उचित रुपमा फस्टाएको नदेखिएकाले सोही अनुसार राज्यले नीति बनाएर अगाडि बढ्नुपर्छ’ खड्काले भने ।