पैयुकोट दरबारसम्म केवलकार चलाउने गाउँपालिकाको योजना

पर्वत, २२ असोज — जिल्लाको महाशिला गाउँपालिकामा रहेको ऐतिहाँसिक पैयुँकोट दरबार सम्म केवलकार सञ्चालन गर्ने योजना अघि सारिएको छ । पर्वतका महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकाको सहकार्यमा पैयुँकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न केवुलकार सञ्चालन गर्ने योजना अघि सारिएको हो । पैयुँकोट ऐतिहाँसिक क्षेत्र भएर पनि ओझेलमा रहेको हुँदा केवलकार सञ्चालन गर्ने योजना अघि सारिएको महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । त्यसका लागि पैंयु गाउँपलिकाको हुवास बजारबाट पैंयुकोटसम्म केवुलकार सञ्चालन गर्न संभाव्यता अध्ययन गर्न दुबै गाउँपालिकाले बजेट बिनियोजन गरेका छन । ‘पैयुँकोटसम्म केवुलकार चलाउन सके पैयुँकोटमा विकासको ढोका खोलिने देखिन्छ’ अध्यक्ष पौडेलले भने, ‘पैयुँकोटको विकासका लागि दुबै गाउँपालिका जुटेर काम थालिसकेका छौँ ।’ समुन्द्री सतहबाट करिव १ हजार ३ सय मिटर उचाईमा रहेको पैयुँकोटमा केवलुकारसंगै प्याराग्लाईडिङ उडान पनि शुरु गरिने भएको छ । प्याराग्लाईडिङ उडान गर्ने विषयमा यसअघि तयारी गरिएपनि समन्वय गर्ने निकायको अभावमा उक्त योजना छलफलमा मात्रै सिमित थियो ।

प्याराग्लाईडिङका लागि यो क्षेत्र उपयुक्त रहेको छ । महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल, उपाध्यक्ष हिरा राना, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ सहित दुबै गाउँपालिकाका अध्यक्षहरुको संयुक्त वैठक बसेर केवुलकार र प्याराग्लाइडिङ सञ्चालन गर्न डिपिआर तयार पार्न समिति गठन भएको छ । ‘हाम्रो समृद्धि पर्यटनबाट मात्रै संभव छ’ पैयुँका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘पर्यटन प्रवर्दन गर्न पैयुँकोटको विकास गर्न जुरुरी छ । पैयुँकोटको विकासका लागि महाशिला र पैयुँ गाउँपालिका मिलेर काम गर्न तयार छौँ ।’ दक्षिणी पर्वतका बासिन्दा पैयुँकोट मन्दिर र दरवारलाई गर्वको रुपमा लिने गरेका छन ।
पैयुँकोटमा सेन बंशीय राजाहरुले शासन गरेका थिए । पहिले चारपाला भन्ने मगरहरुको राज्य रहेको किवंदन्ती छ । भदौरे, सितौरे, राना लगायतका राजाहरुका विचमा द्धन्द भएपछि १६ औँ शताव्दी तिर सेन वंशका राजाले शासन शुरु गरेको पाइएको छ । पैयुँकोटमा सेन राजाले बनाएको दरवारको अहिले भग्नावशेष अवस्था छ । युद्धमा प्रयोग गरेका, राजाले प्रयोग गरेको पोखरी, सुनधुने पोखरी, किल्लाहरु समेत अहिले पनि यहाँ देख्न सकिन्छ । त्रिबेणीमा फुलवारी दरबार अहिले पनि छ । पैयुँकोटमा गर्मी मौसममा राजा बस्ने गरेको र जाडो मौसममा त्रिवेणी स्थित फुलवारीमा बस्दै आएको विभिन्न समयमा लेखिएका अभिलेखहरुमा पढ्न सकिन्छ । पैयुँकोट, दरौकोट, विहादी कोट र पुर्कोट चौविसे राजाहरुको शक्तिशाली राज्यको रुपमा रहेका थिए ।