सरकारका उपलब्धीका चाङ

दशै आयो खाउला पिउला कसरी ल्याउला चोरी ल्याउला हट पापी म छुट्टै बसुला भन्ने पुरानो भनाइले मलाई अहिले फेरि मन छोएको छ । नेपालीहरूको महान चाड बिजयादशमी नजिकै आइसकेको छ । बजार भाउ हेर्ने हो भने आकाशिदो छ नत बजार जाने हैसियत यतिबेला नेपाली जनताको छ । सरकारले यातायात ब्यबसायीको माग बमोजिम १० प्रतिशत गाडी भाडा बृद्धि गरेपछि यतिबेला बजार दलालको मुठ्ठीमा पुगेको छ बजारमा नुनदेखि सुनसम्मको मुल्य बढेपछि मात्रै दशै नेपाली जनताको लागि एकादेशको कथा बन्न पुगेको छ । हुनतः यतिबेला इतिहासमै शक्तिशाली सरकार छ देशमा नेपाली जनतालाई यो भन्दा बढी कुरा अरू के नै चाहिएको थियोे र दशै मनाउन खोजेपछि महंगीको मारमा पर्नु स्वभाबिक हो ।

अहिले सरकारले चाहेरपनी बजार भाउ नियन्त्रण गर्न सक्दैन चाहेर पनि बजारको मूल्य निर्धारण गर्ने हैसियत राख्दैन अलिकति राजनीति बुझ्नेहरूले यसै भन्छन् । साँच्चै अहिले मात्रै नाममात्रको शक्तिशाली सरकार छ तर काम भने केही नभएको जसको बुद्धि छैन त्यसको नाम बुद्धिबहादुर जोसंग धन छैन त्यसको नाम धनबहादुर जोसंग तागत छैन त्यसको नाम शक्ति बहादुर जोसंग मन छैन त्यसको नाम मनबहादुर भने झै अहिले बर्तमान सरकारलाई त्यहीँ नेपाली नाम र काम अनुसार बुझ्न सकिन्छ । तर नेपाली जनताको लागि आकाशको तारा खसाल्ने आकाशको जुन झार्ने सपना बाड्न सफल केपी ओलीको सरकार यतिबेला नेपाली जनतालाई राहत केही पनि दिन नसकेपनी बजार भाउ बढाएर ठूलो काम गरेको छ । दशैको मुखमा यातायातको भाडा बृद्धि गरेर ठूलो राहत दिएको छ । तरकारी खाधान्न देखि सबै कुरामा मुल्य बढाउने खेलमा सहभागी भएर सरकारले नेपाली जनतालाई पंचायती शासकले ३० बर्षमा नराखेको रेकर्ड तोड्न सफल भएको छ । अहिले भएको बास्तबिकतालाई लेख्दा खेरि सरकारको बिरोध गरेको सरकारलाई समर्थन नगरेको भनेर अहिले केही नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हनुमान र दासहरू तीन हात माथि उफ्रेर दलाली गरिरहेका छन् । हो अहिले सबै काम कुरा बिगारेको यस्तै दलाल हनुमान र दासहरूले नै हो भन्ने कुरा बुझ्न नसक्दा देश बर्बादीतर्फ गएको हो । अहिले इतिहासमै शक्तिशाली सरकार छ भनेर केही हुनेवाला छैन मेरो बाजेले घ्यू खाएको लौ लौ मेरो हात सुघ भन्ने जस्तै हुनेछ । सरकार अहिलेसम्म अलमल्ल परेको देखिन्छ । जाने भनेको छ समाजवादमा अहिले घुमिरहेको छ नांगो पुजीवादी चंगुलमा साच्चै भन्ने होभने सरकार कुहिरोको काग जस्तै भएको छ । कुहिरो भित्रै अलमली रहेको काग न त निस्कने बाटो देख्छ नत निस्केर उड्न सक्छ । मात्रै पुरानो मात्रै गफादी राष्ट्रबादले देश चल्दैन भन्ने कुरा बुझ्न समेत हम्मेहम्मे परेको देखिन्छ ।
अहिले फरकफरक धारको दुईवटा कम्युनिस्ट पार्टी बिच एकता भएको कुरा परिपक्व हुन नपाउदै पार्टी फेरि बिभाजन हुने हो कि भन्ने कुरा अहिले फेरि बाहिर आउन थालेको छ । नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ नेता माधबकुमार नेपाल झलनाथ खनाल घनश्याम भुसालले अहिले पार्टी भित्र भएको अराजकता र अराजनीतिक संस्कारको खुलेर बिरोध गरेका छन् केही गुटबन्दी गर्ने नेताहरूले यसलाई भागबन्डा नमिल्दाको बोली भनेर बिषय बस्तुलाइ ढाकछोप गर्न खोजिरहेको देखिन्छ । अर्थ न बर्थ गोबिन्द गाई टाउको दुखेको ओखती नाइटोमा लाई भनेझै गरेर हिडिरहेका छन् सरकार एकातिर अनि पार्टी एकातिर अनि कसरी नेपाली जनताले समाजवादको सपना देख्न पाउछन् त । सामान्य कुरामा राहत दिन नसक्ने सरकारले नेपाली जनताको लागि अब केही गर्छ भनेर पत्याउने वाला छैन ।

सेण्डिकेट हटाउने घोषणा भयो ठूलो सफलता भएको भनेर नेपाली जनता बहुत खुशी भए तर जस्ताको तस्तै ठेकेदारलाई तह लगाउने कुरापनी उस्तै एनजिओ तहलगाउने कुरा पनि उस्तै कहि कही सकारात्मक काम गरेको अहिलेसम्म भेट्न गाह्रो पर्छ नेपाली जनतालाई । हुनत गफ गर्न जति सजिलो छ काम गर्न भने निकै र्गाहो छ जति सजिलो साधन स्रोत हुदा सजिलो र सहज हुन्छ त्योभन्दा काम गर्न मज्जा चुनौतीमा हुन्छ भन्ने कुरालाई मनन गर्न सके राम्रो हुन्छ भन्ने कुरा शक्तिशाली सरकारले बुझ्न जरुरी छ । अहिले जताततै हत्या आतंक बलात्कार गाउँ गाउँमा मच्चिरहेको छ ।
५ महिनाको बिचमा १४ सय बलात्कार भइसकेको छ सरकारले अहिलेसम्म यसलाई नियन्त्रण गर्न सकेको छैन । कंचनपुरको निर्मला पन्तको बलात्कार पछि हत्या भयो अहिलेसम्म यो घटनाका दोषी लाई कार्वाही हुन सकेको छैन सरकार अहिले पनि तमासे भन्दा केही हुन सकेको छैन । एक जना हत्यारा जोगाउन सरकार नै दाउमा राख्न तयार तर हत्याकाण्ड बारे बास्तबिकता बाहिर ल्याउने आत गर्न सकेको छैन । यहीँ कंचनपुर कै घटनाको कारणले सरकार निकम्मा देखिन पुगेको छ । अहिले सरकारले राम्रो काम गरेको चाङ भन्दा नराम्रो कामको चाङ बढी देखिएको छ । अहिलेसम्म भएको कमजोरी सच्याउन सक्यो भने मात्रै सरकारले केही गतिलिन सक्नेछ अन्यथा शक्तिशाली सरकार इतिहासमै सिमित हुन बेर लाग्ने छैन ।