विकासमा साझेदारी

केही महिना पहिला बागलुङको जैमिनी नगरपालिका र पर्वतको फलेवास नगरपालिकाले कुश्मीशेरा, फलेवासहुँदै प्रदेशको राजधानी पोखरा सम्मको सडक निर्माणको लागि संयुक्त रुपमा काम गर्ने चासो देखाए । नयाँ आर्थिक बर्षको बजेटमा सोही अनुसारको बजेटको व्यवस्थापन गरेर अहिले बागलुङलाई प्रदेशको राजधानीसँग जोड्ने सबैभन्दा छोटो सडक निर्माणको काम भैरहेको छ । पहिलो चरणको काम चलिरहेको सडकको काम पुरा हुनको लागि ठुलो कम खर्च हुने छ तर त्यो रकम कुनै एउटै स्थानीय तहको व्ययभार नभएर दुवै नगरपालिकाको व्ययभार हुने छ । यसै पनि स्थानीय तहहरुले आफ्नो सिमा क्षेत्रभित्रका सर्वसाधारणको चित्त बुझाउन र समय अनुसारको पुर्वाधार निर्मााण गर्नको लागि बर्षेनी करोडौं रकम खर्चिरहेका छन् । त्यही रकमबाट तिनै पुर्वाधारलाई सबैको अनुकुल हुनेगरी आपसी सल्लाह र सहयोगको भावना लिएर काम गर्ने होभने विकास जुनसुकै काममा पनि सहजता आउँछ भन्ने कुराको उदाहरण कुश्मीशेरा फलेवास कार्कीनेटा पोखरा सडक खण्ड हुने छ ।
६ महिना पहिला कालिगण्डकी आसपासका नगरपालिका तथा गाउँपालिकाहरुको संयुक्त बैठक पर्वतमा बस्यो । स्थानीय तहका प्रमुखहरुको बैठकले कालीगण्डकी बहुद्देश्यीय आयोजना सञ्चालन गर्ने संकल्प गरियो । स्थानीय तहहरुकै मागअनुसार केन्द्र सरकारले कालीगण्डकी बहुद्देश्यीय आयोजनाको प्रारम्ीिक सर्वेको लागि बजेटको बिनियोजन गरेको छ र सोहीअनुसारको काम कारवाही अगाडि बढ्ने क्रममा रहेको छ । स्थानीय तहहरुले सहकार्य र आपसि सहयोगका लागि चालेका यस्ता कदमहरु दिगो र समयानुकुल विकासका लागि उपयुक्त छन्भन्दा फरक नपर्ला । पछिल्लो समय गण्डकी प्रदेशका सबै नगरपालिकाका प्रमुखहरुको बैठक गत श्रावण ३१ गते गोरखाको पालुटारमा बस्यो । नगरपालिकाहरुको बिचमा अनुभवको साटासाट र सहयोग आदानप्रदानका लागि भएको यो बैठक पनि सकारात्मकनै थियो । गत असोज २० गते गण्डकी प्रदेश नगरपालिका संघको बैठक बागलुङमा बस्यो र विकास निर्माणमा साझा धारणा निर्माण गरेर बैठक अर्कोपटक अर्को नयाँ नगरपालिमा बस्ने गरी सकियो । स्थानीय तहहरुमा आएको एक अर्काको अस्तित्व स्वीकार गर्दै अनुभवको साटासाट गर्ने र विकासमा साझेदारीको यो कदम प्रदेश सरकार तथा केन्द्र सरकारका लागि दवावमुलक कदम हो ।
साझा रुपमा गरिएका विकासका कामका कारण सर्वसाधारणमा सहजता प्रदान गर्ने छभने काम गर्ने स्थानीय तहहरुलाई कामको जस मिल्ने कुरामा दुईमत छैन् । खानेपानी, सडक, सिंचाईं, बिद्युत जस्ता विकासका पुर्वाधारहरुमा स्थानीय तहले मात्रै लगानी गर्दा प्रतिफल निकाल्न कठिन हुने र सहकार्यका कारण थोरै लगानीमा धेरै प्रतिफल निकाल्न सकिने वातावरण बन्ने भएकाले गाउँपालिका तथा नगरपालिकाहरुका बिचमा पछिल्लो चरणमा चलेका छलफल र निस्केका निष्कर्षहरुलाई सार्थकता दिनु आवस्यक छ । आर्थिक समृद्धि र सुखी नेपालीको नारा पुरा गर्नका लागि राज्यको तल्लो तहको भुमीका महत्वपुर्ण हुने भएकाले स्थानीय तहले थालेको सहकार्यको अभियानलाई निरन्तरता दिने र विकास आदानप्रदानमा लाग्नु नै अहिलेको आवश्यकता हो ।