पञ्चासे कलिङ (फोटोफिचर)

तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले, त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले...

तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले…
गीतकार विनोद गौचनले लेखेको गीत जब कन्दरा ब्याण्डका विवेक श्रेष्ठले गाए, त्यो हिट निकै हिट भयो । गीत मात्र हिट भएन, त्यस गीतले पञ्चासेलाई पनि हिट गराइदियो। गुरुङ समुदायमा मजेत्रोले बाटो छेक्ने चलन छ। त्यही चलनलाई गीतमा ढालेका थिए, गौचनले तर पञ्चासे नै हिट होला भन्ने कल्पना पनि गरेका थिएनन्। जैविक विविधताको सुन्दर फूलबारी हो, पञ्चासे (२,५१७ मिटर)। कास्की, पर्वत र स्याङ्जाको संगम पञ्चासेमा पाँच पवित्र टाकुरा छन्। त्यहाँ सिद्ध बराह, पञ्चशील बुद्ध, कुटी, पञ्चकोशी ताल लगायतका सम्पदा छन्। पञ्चासे आध्यात्मिक धाम हो। बर्खापछि असोजदेखि हिमाल खुल्छन्। त्यतिबेला उत्तरतिर टलक्क टल्किन्छन्, धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउँचुली, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमाल।

रमणीय भूमिमा हिमाली सौन्दर्य, जैविक र सांस्कृतिक विविधता अध्ययन गर्न  पर्यटक आउँछन्। विदेशी कि त चित्रे गाउँ हुँदै उकालो लाग्छन् कि त भदौरे हुँदै। पर्यटकमाझ पोखराबाट विश्व शान्ति स्तुप, पुम्दी हुँदै भञ्ज्याङ भएर पञ्चासे टाकुरा चढ्ने पदमार्ग प्रख्यात छ।

पर्यटकका लागि खान र बस्न टाकुरामा एउटा होटल छ। भञ्ज्याङबाट डेढ घन्टा उकालो चढे टाकुरामा पुगिन्छ। शान्त, शितल एवं पवित्र भूमिमा पुग्दा मनमा असिम शान्ति छाउँछ।


टाकुरा वा भञ्ज्याङ जताबाट हेरे पनि देखिन्छन्, हिमाल। त्यसैगरी सूर्योदय, सूर्यास्तको दृश्य पनि उत्तिकै मनमोहक देखिन्छ। चरा र वनस्पति अवलोकन एवं अध्ययन गर्न चाहनेका लागि पनि पञ्चासे स्वर्गै हो। विज्ञहरु पञ्चासेलाई सुनाखरीको राजधानी भन्न रुचाउँछन्। नभनून् पनि किन? त्यहाँ ११५ भन्दा बढी रंगविरंगका सुनाखरी फुल्छन्। पञ्चासे क्षेत्र ५,५०० हेक्टरमा फैलिएको छ, जसको उचाइ ७८४ देखि २,५१७ मिटरसम्म छ। त्यहाँ ६ सय बढी प्रजातिका वनस्पति र जडीबुटी पाइन्छन्।


पञ्चासे क्षेत्र पानीको मुहान पनि हो। फेवातालको मुहान हर्पन खोला, आँधीखोला, रतीखोला, जरेखेला र सेतीखोलाको मुहान पनि पञ्चासे नै हो। पञ्चासेमा बाला चतुर्दशी, शिवरात्रि, फागु पूर्णिमा र बुद्ध पूर्णिमामा मेला लाग्छ। बाला चतुर्दशीका दिन सतबिज छर्नेहरुको भिड लाग्छ।


पञ्चासेको काखमा जातजातिका बस्ती छन्, जहाँ गुरुङ, बाहुन, क्षेत्री, विश्वकर्मा, परियार, नेपाली, मगर र नेवार लगायतको बसोबास छ।  पञ्चासेको महङ्खव बुझेर सरकारले यसलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना ल्याएको छ। उसले नेपालका ७ वटै प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्घोष गरेको छ। सरकारले प्रदेश नं १ बाट सन्दकपुर, प्रदेश नं २ बाट जनकपुरधाम,  प्रदेश नं ३ बाट इन्द्रसरोवर, प्रदेश नं ४ बाट पञ्चासे, प्रदेश नं ५ बाट देवदह, प्रदेश नं ६ बाट राराताल र प्रदेश नं ७ बाट भादा गाउँलाई छनोट गरेको छ।
साँच्चै हो, पञ्चासे ठूलो पर्यटनधाम बन्न सक्छ। विडम्बना ! आजसम्म पर्यटनबाट गाउँलेले खासै लाभ लिन पाएका छैनन्। पञ्चासेको राम्रो प्रचार गर्न सके विदेशीका लागि मात्र होइन, स्वदेशीका लागिसमेत राम्रो घुमफिर गन्तव्यका रुपमा स्थापित हुन सक्छ। प्रदेश सरकारले भञ्ज्याङसम्म पुग्ने बाटो कालोपत्रे मात्रै गरिदिने हो भने पनि त्यस क्षेत्रको कायाकल्प हुन सक्छ। हाल पञ्चासे काखका सिधाने, चित्रे लगायत केही गाउँमा होमस्टे सुविधा छ। पञ्चासे भञ्ज्याङमा आधा दर्जन होटल छन् भने टाकुरामा एउटा।
संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्न पञ्चासे क्षेत्र विकास उपभोक्ता समिति र माछापुच्छे« विकास संघ लागिपरेका छन्। पर्यटन पूर्वाधार विकास गरेर पर्यटक बढाउन सके पञ्चासे क्षेत्रले राम्रो आम्दानी गर्न सक्छ।  वर्षैभरि पञ्चासे यात्रा गर्न सकिन्छ। असोजदेखि हिमाल हेर्न पाइन्छ। पुस–माघमा हिउँ पर्छ। फागुन–चैतमा गुराँसले वनै रंगीन वन्छ। मनसुनमा हरियालीको साम्राज्य चल्छ। वर्षैभरि शितल हुन्छ डाँडा। त्यसैले पञ्चासे यात्रा गर्दा न्याना कपडा बोक्नु पर्छ।


यसरी पुग्नेः 
काठमाडौं–पोखरा बसमा ६ घन्टा अथवा हवाई यात्रा २५ मिनेट। पोखराको हल्लनचोकदेखि भञ्ज्याङसम्म २९ किमि। हिउँदमा रिजर्भभ्ड जिप पञ्चासे भञ्ज्याङसम्मै जान्छ। पदयात्रा चाहिँ पोखराबाट विश्व शान्ति स्तुप हुँदै पहिलो दिन भुम्दी गाउँमा बास। दोस्रो दिन जंगलको बाटो भएर भञ्ज्याङ हुँदै टाकुरामा पुगिन्छ । तेस्रो दिन पर्वतको चित्रे होमस्टे पुग्नु बेस हुन्छ। वैकल्पिक मार्गः पोखराबाट स्याङ्जाको फेदिखोला गाउँपालिकाको बाँगेसम्म मोटर बाटोमा गएर त्यसपछि केही घन्टा तेर्सो पैदल मार्ग भएर पनि पञ्चासे पुग्न सकिन्छ। यसैगरी बाँगेबाट आँधीखोला गाउँपालिकाको बाङसिङ गाउँमा रहेको श्रवणकुमारको मन्दिर क्षेत्र अवलोकन गर्दै पञ्चासे पुग्न सकिन्छ। त्रेता युगको रामायणकालिन कथामा राजा दशरथको वाण लागि ज्यान गुमाएका श्रवण कुमार आफ्ना दृष्टिविहिन बाआमालाई पानी लिन पञ्चासेको फेदिमा पुगेका थिए।

पञ्चासे कलिङ (फोटोफिचर)


नागरिक न्युजबाट