भेडाच्याङग्रा बिक्रीबाट मुस्ताङमा तीस करोड रुपैयाँ भित्रिदै

जोमसोम स्थित सेवा केन्द्रले हालसम्म १५ हजार भेडाच्याङग्रा निकासी भइसकेको जनाएको छ ।

म्याग्दी, २२ असोज – दसँैका लागि हिमाली जिल्ला मुस्ताङबाट देशका विभिन्न जिल्लामा भेडाच्याङग्रा निकासी सुरु भएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, राजधानी काठमाडौको बजारमा मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको हो । भेडाच्याङग्रा खरिद गर्नका लागि देशका विभिन्न ठाउँका ब्यापारीहरु जोमसोम पुगेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको जोमसोम स्थित सेवा केन्द्रले हालसम्म १५ हजार भेडाच्याङग्रा निकासी भइसकेको जनाएको छ । आइतबारसम्म १० हजार भेडा र पाँच हजार च्याङग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरिसकिएको केन्द्रका पशु चिकित्सक शिव भुषालले जानकारी दिए ।

मुस्ताङबाट हिडाएर ल्याइएका भेडाच्याङग्राको लस्करले दसँै नजिकिएको संकेत गरेको छ । असोज १६ गतेदेखि जोमसोमबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको थियो । दसँैका लागि करिब बीस हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको चिकित्सक भुषालले बताए। खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट एक हजार च्याङ्ग्रा राजधानी लैजाने भएको छ । ५५० वटा च्याङग्रा मुस्ताङबाट पठाईसकेको संस्थानको जोमसोम स्थित कार्यालयका प्रमुख गंगाप्रसाद शाहले बताए । सोमबार थप ४५० च्याङग्रा खदिर गरेर पठाउन लागिएको शाहले बताउनुयभो । मुस्ताङमा एउटा जिउँदो च्याङग्रा १७ देखि २२ हजार र भेडा (च्यालु) १४ देखि १७ हजार रुपैयाँ प्रतिगोटाका दरले खरिद बिक्री भएको सिन्धुपाल्चोकका ब्यापारी पशुपती सिलवालले बताउनुभयो । प्रतिकिलो ५३० रुपैयाका दरले च्याङग्रा खरिद गरेको संस्थानले काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलोका ६५० रुपैया दरले बिक्री गर्ने जनाएको छ ।

भुकम्पका कारण बन्द भएको सिन्धुपाल्चोकको नाका सञ्चालनमा ढिलाई भएकाले मुस्ताङको भेडा च्याङग्राको माग बढेको छ । मुस्ताङको तेताङबाट तीन सय भेडाच्याङग्रा खरिद गरेर बेनी ल्याइपु¥याएका सिन्धुपाल्चोकका ब्यापारी मेखबहादुर नेपालले गत वर्षको तुलनामा खरिद मूल्यमा प्रतिगोटा एक हजार पाँच सय रुपैँया देखि दुई हजार रुपैँया बढी परेको बताए। स्थानीय तहै पिच्छे पशु चौपाया कर तिर्नुपर्दा मर्कामा परेको भेडाच्याङग्रा ब्यापारीहरुले गुनासो गरेका छन् । ठाउँ ठाउँमा कर उठाउँदा दोहोरो मर्काका साथै झञ्जट भएको ब्यापारी नेपालले गुनासो गरे ।

निकासी भएका मध्य ९० प्रतिशत भेडाच्याङग्रा मुस्ताङका कृषकले पालेको र बाँकी दश प्रतिशत डोल्पा, जुम्ला, मुग र केही मात्रामा तिब्बतबाट आयात गरिएका पशु चिकित्सक बिष्णु केसीले बताए । भेडाच्याङग्रा बिक्री गरेर मुस्ताङमा यसपाली तीस करोड रुपैयाँ भन्दा बढी नगद भित्र्ने भएको छ । स्वास्थ्य परीक्षण गरि स्वस्थ्य भेडाच्याङग्रा मात्र निकासी गर्न दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवन आचार्यले बताए। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक रुपमा भेडाच्याङग्रा पालन गर्दै आएका छन् । जोमसोम देखि हिडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा बेनीदेखि ट्रक मार्फत ढुवानी गरेर देशका विभिन्न ठाउँमा पु¥याइन्छ । हिमाली क्षेत्रको चिसो हावापानीमा हुर्किएका र जडिवुटीयुक्त चरन क्षेत्रको घाँस खाएका भेडाच्याङग्राको मासु स्वादिलो तथा तागतिलो मानिन्छ । दसँै तिहारको समयमा अन्य जातका खसी बोकाको तुलनामा महँगो पर्ने भएपनी भेडाच्याङग्राको मासुको माग बढी हुने गर्छ ।