विदेशको सिकाई स्वदेशमा प्रयोग

तिन वर्षसम्म मलेसियाको प्लास्टिक कम्पनीमा काम गरेका बागलुङको काठेखोला गाउँपालिका–७ रेशका यमबहादुर जिसीले अहिले गाउँमा नै खेर गैरहेको पानीलाई सदुपयोग गरेर पानी–मिल सञ्चालन गरिरहेका छन् । विदेशमा पाएको दुःखलाई सम्झेर गाउँमा नै केही काम गर्ने योजना बनाएर फर्केका जिसीले पानी–मिल चलाएर आफ्नो परिवार पालेका मात्रै छैनन् बुढ्यौलीको लागि केही रकमको जोहो पनि गरिरहेका छन् । उनको मिलले गाउँलेलाई समेत राहत दिएको छ । पानीबाट चल्ने मिल अरु मिलभन्दा सस्तो हुने भएकाले उनको मिलमा कुटानीपिसानी गर्ने स्थानीयलाई आर्थिक रुपमा निकै राहत मिलेको छ । बार्षिक रुपमा हिसाब गर्ने होभने पानी–मिलमा कुटानीपिसानी गर्नेहरुले अन्यत्र कुटानीपिसानी गर्दा लाग्नेभन्दा आधा रकम बचत गर्छन गाउँघरमा कुटानीपिसानी बच्ने यो रकम निकै ठुलो रकम हो । विदेशको मोह त्यागेर गाउँमा नै व्यवसाय गरेका जिसी उदाहरणका एक पात्र हुन् ।

मलेसियामै रेमिट्यान्स कम्पनीमा काम गरिरहेका बागलुङ नगरपालिका–१२ अमलाचौरका लिलाधर शर्मा केही बर्ष पहिला गाउँ फर्किए बिदेशमा राम्रो आम्दानी र सजिलो काम हुँदा–हुँदै शर्माले विदेशको मोह त्यागेर गाउँमै गाई फर्म सञ्चालन गरेर दुग्धजन्य पदार्थ बेच्दै आएका छन् । मलेसियामा रहँदा उनले त्यहाँ सञ्चालित फर्महरुले कमाई गरेको देखेका थिए । त्यही कुराले उनलाई प्रेरणा दियो र बसीबसी गर्ने काम र महिनामा महत्वकांक्षी तरिकाले लिन सकिने दाम छोडेर गाउँमा व्यवसाय सुरु गरे । उनको व्यवसाय अहिले गाई, कुखुरा, माछापालनहुँदै तरकारी खेतीसम्म फैलिएको छ । शर्माले आँफुले आफ्नो परिवारसँगै काम मात्रै गरिरहेका छैनन् अरुलाई रोजगारी समेत दिएका छन् । व्यवसायबाट सफलता पाएका शर्मा अर्का उदाहरण हुन् । अहिले पनि रोजगारीको खोजीमा गाउँ–गाउँबाट बाहिरीने युवाको लर्को लाग्ने गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलबाट दैनिक बाहिरीने युवामध्ये ९० प्रतिशत युवा रोजगारीको खोजीमा अरबका खाडी देशमा बिदेशीईरहेका छन् ।

देशमा भएका स्वरोजगारका सम्भावनालाई लत्ताएर बाहिरीएका युवाका कारण रेमिट्यान्सले देशको अर्थतन्त्र त चलायमान बनाएको छ तर गाउँघरका पाखापखेरा सुन्य भएका छन्, खेतीयोग्य जमिन बाँझीएका छन्, उत्पादनको कमीका कारण देश दैनिक व्यापार घाटामा छ र राम्रा प्रशस्त सम्भावनाहरु त्यसै खेर गैरहेका छन् । बिदेशमा रहँदा युवाले गरेको कामबाट केही सिक्ने वातावरण बन्नु पर्छ । बिदेशीको आर्थिक उन्नतीको लागि त्यहाँ रहेर काम गर्दा सिकेका कुरालाई स्वदेश फर्केर आफ्नो माटोमा प्रयोग गर्ने होभने त्यसले सकरात्मक प्रभाव राख्ने थियो । देशमा कयौं सम्भावना छन् । विकास निर्माण लगायत आर्थिक उन्नतीका क्रियाकलाप सञ्चालन गर्नको लागि देश भारतिय नागरिकको भरमा चलिरहेको छ तर यहि देशका युवा रोजगारीको खोजीमा बिदेशिने क्रम भने घटेको छैन् । काठेखोलाका जिसी र अमलाचौरका शर्माले जस्तै बिदेशको भोगाईलाई व्यवहारमा उतारेर देशकै माटोमा युवाले मेहेनत गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो ।