स्वास्थ्य इकाई स्थापना

बागलुङ, २३ असोज — तमानखोला गाउँपालिका–४ को लाम्मेलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । इकाईको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष जोकलाल बुढाले कम्तिमा पनि आधा घण्टाको दुरीमा नागरिकले स्वास्थ्य सुविधा पाउनुपर्ने नीति अनुरुप स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको बताए । मौलिक हकअन्र्तगत आधारभुत स्वास्थ्य सुविधा सबै नागरिकले पाउनु पर्ने भएकोले वडा नम्बर ४ बासीलाई लक्षित गरि स्वास्थ्य इकाई स्थापना गरिएको उनको भनाई थियो । तमानखोला एउटा दुर्गम गाँउपालिका भएपनि आधारभुत स्वास्थ्य सुविधाबाट कोहिपनि वञ्चित नहोउन भनेर स्वास्थ्य इकाई स्थापना गरिएको अध्यक्ष बुढाले बताए । तत्काललाई भाडाको घरमा स्वास्थ्य इकाई स्थापना गरिएको र अर्को आर्थिक वर्षबाट आफ्नै भवन निर्माण गरि सेवा दिने योजना रहेको पनि अध्यक्ष बुढाले जानकारी दिए । हाल स्वास्थ्य इकाईमा १ जना अनमी र १ जना अहेब रहेका छन् ।

यो सँगै तमानखोला गाँउपालिकामा आधारभुत स्वास्थ्य सुविधा सहज रुपमा उपलब्ध गराउने उद्देश्य अनुरुप गाँउपालिकाका ६ ओटै वडामा स्वास्थ्य इकाई स्थापना गरिएको छ । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, वडा नम्बर ३ का वडाध्यक्ष गिरबहादुर घर्ती, वडा नम्बर १ का अध्यक्ष थमबहादुर रोका, स्वास्थ्य स्वयमसेविका ओमकुमारी बुढाथोकी लगायतले बोलेका थिए ।