‘हरित देश’ बनाउन पाकिस्तानमा १ अर्ब रुख रोपियो

पाकिस्तान सरकारले अबको पाँच वर्षभित्र दस अर्ब रुख रोप्ने लक्ष्य लिएको छ।

आतंकवाद र हिंसाग्रस्तको पहिचान बनाएको पाकिस्तानले पछिल्लो समय एउटा नयाँ विशेषणबाट आफूलाई चिनाएको छ। संसारभर वातावरणमैत्री अभियान चलेका बेला पाकिस्तानले एक अर्ब रुख रोपेर आफूलाई ‘हरित देश’ का रुपमा चिनाउन खोजेको छ। पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खबेर पख्तुनख्वामा एक अर्ब रुख रोप्ने काम गत वर्ष सम्पन्न भएको हो। यसबाट उत्साहित पाकिस्तान सरकारले अबको पाँच वर्षभित्र दस अर्ब रुख रोप्ने लक्ष्य लिएको छ।
जलवायू परिवर्तनले सर्वाधिक प्रभावित ६ देशको सूचीमा पाकिस्तान पनि पर्छ। प्राकृतिक प्रकोप र मानवसिर्जित विनासका कारण पछिल्लो दशकमा पाकिस्तानको हरियो वन व्यापक मासिएको छ। देशको कुल क्षेत्रफलमा २ देखि ५ प्रतिशत हिस्सा वनले ओगट्छ। यो दक्षिण एसियाकै सबभन्दा कम हो। संयुक्त राष्ट्र संघले कुल क्षेत्रफलको १२ प्रतिशत हिस्सा वन हुनुपर्ने मापदण्ड तोकेको छ। ‘एक अर्ब रुखको सुनामी’ भनिएको यो वृक्षरोपण कार्यक्रमले ३ लाख ५० हजार हेक्टर क्षेत्रफल ओगटेको छ।
लामो समयदेखि हुँदै आएको वन विनाशले खबेर पख्तुन्ख्वा सुख्खा बनेको थियो। बाढी र पहिरो आक्रान्त थियो। सन् २०१६ मा आएको बाढीमा दर्जनौं मान्छे मारिएका थिए। यसरी रुख रोप्दा वातावरणमा पर्याप्त अक्सिजन निष्कासन गर्नुका साथै बाढी, पहिरो जोखिम कम गर्छ। खबेर पख्तुन्ख्वामा क्रिकेट मैदानबाट राजनीतिमा छिरेका प्रधानमन्त्री इमरान खानकै पार्टीको सरकार छ। यो प्रान्तको अभियानमा साथ दिदैं नवनियुक्त प्रधानमन्त्री खानले अब दस अर्ब रुख रोप्ने लक्ष्य लिएका हुन्।
सत्तारुढ दलले बिग्रँदो वातावरणलाई प्रमुख मुद्दा बनाएको छ। पाकिस्तानमा बढ्दो तापक्रम, बाढी–पहिरो प्रकोप, सुख्खाग्रस्त क्षेत्र र अप्रत्याशित वर्षाका कारण राहत सामग्री वितरणमै वार्षिक ६ देखि १४ अर्ब डलर खर्च हुने गरेको छ। सन् २०१७ मा पाकिस्तानमा करिब १२ सय ६० जना विभिन्न आतंकवादी घटनामा मारिएका थिए। सन् २००९ मा यो संख्या ११ हजार ७ सय ४ थियो। आतंकवादबाट ठूलो संख्यामा जनधन क्षति हुँदै आएको पाकिस्तानमा मनसुनी बाढी र लू (तातो हावा) का कारण पनि बर्सेनी दर्जनौंले ज्यान गुमाउँछन्।
पछिल्लो तीस वर्षमा लुकै कारण मृत्यु हुनेको संख्या पाँच गुणा बढेको छ। पाकिस्तानको आर्थिक राजधानी भनिने कराँचीको समुद्री तटको सतह पनि ४ इन्च वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ। त्यस्तै हिमाली क्षेत्रमा रहेका ५ हजारभन्दा बढी हिमताल पग्लने क्रम तीव्र गतिमा बढेको छ। यसले पनि तल्लो भेगमा बाढी जोखिम बढाएको छ। (अन्तर्राष्ट्रिय समाचार संस्थाका सहयोगमा)