अवसर र चुनौती

बागलुङको गल्कोट नगरपालिकामा मंगलबारदेखी राष्ट्रिय स्तरको प्रतियोगिता सुरु भएको छ । नेपालको राष्ट्रिय टिमको छनौटको लागि सुरु भएको २२ औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता गल्कोटमा सुरु गरिएको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने समुहको छनौट र सार्क राष्ट्रका बीचमा सन् २०१९ मा नेपालमै हुने प्रतियोगिताको तयारीका लागि राष्ट्रिय टिम तयार पार्न प्रतियोगिता आयोजना भएको हो । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितमा देशभरबाट छनौट भएर आएका दश समुहले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागिता जनाएर पनि खेलमा भने प्रदेश नम्बर १ ले सहभागिता जनाएको छैन । प्राबिधिक कारण देखाएको प्रदेश एकले आफ्ना प्रशिक्षक मात्रै पठाएको छ । नयाँ संरचना अनुसार सात प्रदेशका सात वटा समुह र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागिय समुहले प्रतियोगितामा सहभागिता जनाएका हुन् ।
मंलबारबाट सुरु भएको खेललाई सफल बनाउनका लागि जिल्ला भलिबल संघ बागलुङ र गल्कोट नगरपालिकाले निकै मेहेनत गरिरहेका छन् । राष्ट्रिय स्तरको प्रतियोगिता पुर्वाधारको अभाव रहेको क्षेत्र गाउँघरमा सञ्चालन गर्ने कुरा चानचुने होईन । एकातर्फ खेल खेल्नको लागि पुर्वाधारको अभाव त अर्कोतर्फ टाढा–टाढाबाट आउने खेलाडि प्रशिक्षक तथा दर्शकलाई खानपान, बसाई व्यवस्थापन लगायतका काम गर्न गाउँघरमा निकै कठिन कुरा हो । अनेकौं चुनौतीका बाबजुद जिल्ला भलिबल संघको बिशेष आग्रहमा नेपाल भलिबल संघले बागलुङको गल्कोटमा गरिरहेको प्रतियोगितालाई सकारात्मक रुपमा लिनुपर्छ । गल्कोटमा राष्ट्रिय स्तरको प्रतियोगिता हुँदा गल्कोटको प्रचार–प्रसारमा राम्रो टेवा पुग्ने छ । त्यहाँको स्थानीय उत्पादनका विषयमा खेलाडी, प्रशिक्षक र दर्शकमार्फत देश बिदेशमा प्रचार–प्रसार हुनेमा दुईमत छैन् । अर्को कुरा प्रतियोगिता अबधिमा त्यहाँ रहने खेलाडी तथा खेलसँग सम्बन्धित व्यक्तिले गर्ने खर्चका कारण गल्कोट क्षेत्रको व्यापार र व्यवसायमा पनि राम्रो प्रभाव पर्ने देखीन्छ ।

प्रतियोगिताको लागि गल्कोट नगरपालिकाले जुन उपलव्धी हाँसिल गर्न भनेर आठ लाख रुपैयाँ सहयोग गरेको छ, त्यो उपलब्धि हात पार्नका लागि थप मेहेनत गर्नुपर्ने देखीन्छ । गल्कोटमा आएका खेलाडिलाई कम्तिमा पनि गल्कोट झल्किने उपहार दिएर पठाउने र त्यसको प्रचार–प्रसारको प्रभावले भावी दिनमा गल्कोटको उत्पादनको माग बढाउने वातावरण गल्कोट नगरपालिकाले सिर्जना गर्नु आवश्यक छ । गल्कोटको फरकपन दिलाउनकै लागि पिउने पानीदेखी खानाका हरेक परिकारमा स्थानीय स्वाद गल्कोटले पस्किन सक्नु पर्छ । दुरदराजमा हुन लागेको राष्ट्रिय स्तरको यो प्रतियोगिता गल्कोटका लागि ठुलो अवसर र चुनौती पनि हो । साँघुरो भू–भागका कारण व्यवस्थापनमा कठिनाई आईलाग्ने भएकाले चुनौतीको चाङ भएपनि त्यसलाई सहज तरिकाले व्यवस्थापन गरेर प्रतियोगिता सफल पार्नु आम गल्कोटबासीको दायित्व हुने छ । २२ औं महिला भलिबलमा गल्कोटबाट छनौट भएको समुहले साफ च्याम्पियनसिपमा स्वर्ण पदक हात पारोस्, जसका कारण गल्कोटको अझै ठुलो प्रचार हुनेछ । महिला भलिवल प्रतियोगिता पुर्ण सफलताको शुभकामना ।