करको दर होइन, दायरा बढाऔं(अन्तरवार्ता)

बिकेन्द्रिकरणले बजारको व्यापारमा बिचलन ल्यायो

५५ वर्ष पहिला व्यापार संघको रूपमा स्थापना भएर बागलुङका उद्योगी व्यापारीहरूको हक हित संरक्षणमा काम गर्दै आएको बागलुङ व्यापार संघ गठन भएको केही वर्षपछि उद्योग वाणिज्य संघको रूपमा काम गर्न थालेको थियो । देशमा भएका राजनीतिक परिवर्तनका कारण व्यापार र व्यवसायका क्षेत्रमा पनि पर्ने गरेका असरहरूका बाबजुद आफ्नो कर्ममा अगाडि बढ्दै गरेको बागलुङ उद्योग वाणिज्य संघले व्यावसायिक मर्यादा र उपभोक्ताको हितलाई ध्यानमा राखेर आफ्ना कार्यहरू संचालन गर्दै आएको छ । पछिल्लो पटक देशमा भएको राजनीतिक परिवर्तनपछि बनेको नयाँ संरचनाका कारण बागलुङ बजारको व्यापार र व्यवसाय पनि राज्य शक्तिको विकेन्द्रीकरण जस्तै विकेन्दित भएको छ । गाउँ–गाउँमा विकेन्द्रित भएर गएको व्यापार व्यवसायलाई उद्योग वाणिज्य संघले कसरी व्यवस्थापन गर्दैछ ? ठूला उद्योगको सम्भावना नरहेको भएपनि साना तथा घरेलु उद्योगको व्यवस्थापन र उत्पादन वृद्धिका लागि के–कस्ता कार्यक्रमहरू रहेका छन् ? पछिल्लो पटक देशभर स्थानीय तहले लगाएको करका कारण व्यवसायमा परेको असर र एकाधिकार बजारमा व्यवसायीको मानोमानी लगायतका विषयमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीसँग जनमञ्चकर्मी तारानाथ आचार्यले गरेको संक्षिप्त कुराकानी ।

बागलुङमा व्यापार व्यवसायको अवस्था कस्तो छ ?
–जब देशको पुनर्संरचना भयो र नयाँ संरचनाअनुसार बनेका केन्द्र, प्रदेश र स्थानीय सरकारको निर्वाचन भयो, त्यति बेलादेखि बागलुङको व्यापार व्यवसायमा उतारचढाव सुरु भएको छ । बागलुङ बजारको व्यापार घटेको छभने स्थानीय तहमा बनेका नयाँ बजारहरूमा व्यापार विस्तारै बढ्दै छ । पहिले बागलुङ बजार, बुर्तिबाङ बजार, गल्कोट बजार, कुश्मीशेरा बजार, बरेङडाँडा बजार लगायतका केही बजारमा मात्रै व्यापार व्यवसाय थिए तर अहिले झण्डै दुई दर्जन बजार विस्तार भएका छन् । बजार विस्तारसँगै व्यवसाय र व्यापार पनि विकेन्द्रीकरण भएका छन् । गाउँमा सडक पुगेका छन् । होलसेल व्यापार हुने बागलुङ बजारमा खुद्रा बिक्री हुन छाडेको छ । बजार र व्यवसाय अस्तव्यस्त अवस्थामा छन् ।

 संघको स्थानीय सरकारसँगको सम्बन्ध कस्तो छ ?

–हामी सधैँ सरककारसँग सहकार्य गरेर मात्रै अगाडि बढेका छौँ । हिजो जनप्रतिनिधि नहुँदा पनि हामीले स्थानीय सरकारसँग सहकार्य गरेर नै काम गर्दै आएका थियौँ । जिल्लाका हरेक विकास निर्माणमा हामीले हातेमालो गर्दै आएका छौँ । पछिल्लो एउटा उदाहरण बागलुङको बलेवा विमानस्थल संचालनको समयमा यदि हामीले सहयोग नगरेको भए विमानस्थल संचालन गर्न बागलुङ नगरपालिका असफल हुन्थ्यो । हामीले यातायात उपसमितिसँग सहकार्य गरेर निःशुल्क यातायातको व्यवस्था मिलायौँ र विमानस्थल संचालनमा छ । कच्ची बाटोमा अझैपनि व्यवसायीले निःशुल्क सेवा दिइरहेका छन् । व्यवसाय कर उठाउन हामीले स्थानीय सरकारलाई सहयोग गरेका छौँ । पाँच वर्ष भयो निरन्तर सहकार्य गरेर व्यवसाय कर उठाउँदै आएका छौँ । तर पछिल्लो समय जनप्रतिनिधिहरूले हाम्रो समस्या बुझ्नु भएन । हामीलाई बेवास्ता गर्दै व्यवसायीको प्रतिकूल हुने गरी, व्यवसायी टिक्नै नसक्ने गरी निर्णयहरू भइरहेका छन् । यसले हाम्रो सम्बन्ध बिग्रिने संकेत गरेको छ । हामीले व्यापार व्यवसायसँगै उहाँहरूले गर्ने हरेक विकास निर्माणका काममा पनि सघाइरहेका छौँ भन्ने कुरा उहाँहरूले हेक्का राख्नुपर्छ ।

 स्थानीय तहले लिने करका कारण व्यवसायमा असर परेको छ ?
–बागलुङको सन्दर्भमा बागलुङ नगरपालिकामा कर परामर्श समिति छ । परामर्श समितिले दिएको सुझावको आधारमा कर वृद्धि हुने भनिएको छ । परामर्श समितिमा उद्योग वाणिज्य संघको एक जना प्रतिनिधि अनिवार्य हुने व्यवस्था छ । सोहीअनुसार समितिले सुझाव दियो तर कार्यपालिकाले हुकुमी शैलीमा कर वृद्धि गरेको छ । कर वृद्धिका कारण व्यवसायी चरम मारमा परेका छन् । एकातर्फ घट्दो व्यापार र अर्कोतर्फ शत्रुतापूर्ण करका कारण व्यवसायी पलायन हुने अवस्थामा छन् । प्रदेशको राजधानी पोखरामा समेत नलिईएको कर बागलुङमा व्यवसायीबाट असुल्ने काम भइरहेको छ । हामीले पटक–पटक भनेका छौँ– स्वाभाविक कर तिर्न हामी तयार छौँ, एकै पटक करको दर होइन, दायरा बढाएर जाऔँ । थोरै–थोरै करको दर र छुटेका सबै विषयमा दायरा बढाउँदा राम्रो हुन्थ्यो तर त्यसो हुन नसकेका कारण व्यवसायी नै मर्कामा परिरहे । हामीले स्थानीय सरकारलाई भनिरहेका छौँ– शासक होइन, सेवक बन्नुहोस् ।

 व्यवसायीले मौका छोप्ने प्रवृत्ति छ नि ?
–बागलुङ बजार पुरानो बजार हो । बागलुङमा मौका छोपेर व्यापार गर्ने अवस्था कहिल्यै आएन । व्यवसायीले मौका छोपेका होइनन् । जबजब विशेष परिस्थिति आउँछ, तबतब राज्यले वस्तु तथा सेवाको मूल्य बढाउँछ । त्यसको असर बजारमा पर्छ । उपभोक्तासँग प्रत्यक्ष देखिने भनेका व्यवसायी हुन्छन् । सरकारले बढाएको मूल्यलाई कायम गर्दा व्यवसायीले आफैँ मूल्य निर्धारण गरेको वा विशेष समय र चाडपर्वका बेला मौका छोपेको जस्तो देखिन्छ तर त्यस्तो छैन ।
 

यसबाट उपभोक्ता ठगिन नदिन के गर्नुभएको छ ?
–उपभोक्ता मर्कामा पर्ने र ठगिने काम हामीले कहिल्यै पनि हुन दिएका छैनौँ । चाडपर्वका बेला हामीले सूचना नै प्रकाशित गरेर मूल्यसूची राख्न र निर्धारित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन व्यवसायीलाई आग्रह गर्दै आएका छौँ । अनुगमन गरेर कमी कमजोरी गर्नेहरूलाई कारवाही पनि गर्ने गरेका छौँ । अभाव सिर्जना हुन नदिनका लागि आफ्नो तर्फबाट हुने जति प्रयास गर्ने गरेका छौँ । कालोबजारी र उपभोक्ताको ठगी गर्ने काममा बागलुङका व्यवसायी कहिल्यै लागेका छैनन् ।
 

एकाधिकार बजार भयो भन्ने छ नि ?
–हामीले यहाँ व्यापार गर्ने भनेको अरूले नै उत्पादन गरेका वस्तु तथा सेवाहरूको हो । हाम्रो आफ्नै उत्पादन निकै कम छ । कच्चा पदार्थको अभावका कारण उद्योगधन्दा कलकारखाना संचालनमा ल्याउन नसकिएको क्षेत्र हो हाम्रो अनि यस्तो बजारमा कसरी एकाधिकार हुन सक्ला र ! अन्यत्रै उत्पादन भएका वस्तु तथा सेवामा प्रतिस्पर्धात्मक रूपमै बजार चलेको छ । व्यवसायमा केही समस्या छन् कि ? पछिल्लो समय व्यवसाय दर्ता र नवीकरणमा निकै ठूलो समस्या पैदा भइरहेको छ । झण्झटिलो प्रक्रियाका कारण व्यवसायको दर्ता र नवीकरण नहुने । केही समय ढिला भएका व्यवसायीलाई पनि व्यवसाय नवीकरण गर्दा राज्यले शोषण गर्ने । हरेक क्षेत्रको तगारो व्यवसायी साथीहरू नै बन्ने गरका कारण व्यावसायिक क्षेत्र धरापमा छ । सानो पुँजी र सानो लगानीबाट व्यवसाय गर्न चाहनेहरूका लागि राज्यको परिपाटी समस्या बन्दै गएको छ ।
 

व्यवसायीको क्षमता विकासका लागि के गर्नुभयो ?
–हामीले सबै व्यवसायी साथीहरूलाई राज्यको नीति नियम र व्यवसाय संचालनका विषयमा नियमित जानकारी गराउने गरेका छौँ । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम संचालन गरेर साना व्यवसायीलाई प्रोत्साहन गर्ने र जिल्लाको पहिचान हुने काम गरिरहेका छौँ । जिल्लाको लेखानी र ताराखोलामा नेपाली कागज उत्पादन गरेर बिक्री गर्दै आएका छौँ । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङलाई बुट्टेनली उत्पादन गर्ने जिल्लाको रूपमा चिनाउनका लागि बुट्टेनली तालिम पनि संचालन गरिरहेका छौँ । व्यवसायीलाई चेतनामूलक र जानकारीमूलक गोष्ठी तथा तालिमहरू संचालन गरेर सहभागी गराउँदै आएका छौँ ।

 बागलुङमा उद्योग किन फस्टाउन सकेनन ?

–हामीसँग कच्चा पदार्थ नै छैनन् । ठूला उद्योग संचालन गर्नका लागि हामीसँग लगानी गर्ने क्षमता छैन । साना उद्योग संचालन गर्न बाहिरबाट कच्चा बदार्थ ल्याउँदा ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न सकिँदैन । राज्यले उद्योग व्यवसाय चलाएर रोजगारी सिर्जना गर्नेहरूलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने हो तर राज्यले उल्टो व्यवसायीलाई अप्ठ्यारो पर्ने गरी कर बढाउने, नीति नियममा कस्ने र पलायन हुने वातावरण सिर्जना गरिरहेको छ । यस्तै, विविध समस्याका कारण न त उद्योग खोल्न सकिएको छ, न खुलेका उद्योग फस्टाउन नै सकेका छन् ।