शिक्षक अभावले पठनपाठन प्रभावित

म्याग्दी, २४ असोज — जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन् । यो एक प्रतिनिधिमुलक उदाहरण हो । जिल्लामा विज्ञान, गणीत, कम्युटर संगै अंग्रेजी बिषयका बिषयगत शिक्षकहरुको अभाबले पठनपाठन प्रभावित बन्दै आएको छ । जिल्लाको ग्रामीण भेगमा रहेका १ दर्जनबढी सामुदायिक विद्यालयको मावि तहमा विज्ञान शिक्षकको अभाब छ । एसईई परिक्षा नजिकीरहेको र शैक्षिक सत्रको आधा समय वितिसक्दा समेत विज्ञान लगायतका मुख्य बिषयको पढाई सुरु नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । विद्यालयमा गत जेठमा विज्ञान बिषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि नयाँ शिक्षक नराख्दा आफुहरु मुख्य बिषयकै अध्ययनबाट बञ्चित हुनुपरेको अमर माविको कक्षा १० की छात्रा सम्झना थापाले गुनासो गरिन् । ‘‘हामीले निरन्तर विज्ञान बिषयको शिक्षकको व्यवस्था गर्न विद्यालयलाई भनेका छौँ, तर अहिलेसम्म १ पाठको मात्रै पठाई भएको छ, परिक्षा नजिकिँरहँदा कतै अध्ययन नै नगरिकन परिक्षा दिन त पर्ने होइन् भन्ने चिन्ता थपिएको छ’’ –उनले भनिन् । चिमखोलामा मात्रै होईन ग्रामीण भेगमा रहेका मावि तहका विद्यालयम मुख्य बिषयका बिषयगत शिक्षक अभाबले हरके बर्ष जसो कुनै न कुनै विद्यालयका विद्यार्थीहरुले पुरै कोर्स नसकिकनै परिक्षा दिनुपर्ने बाध्यता छ ।

विज्ञान, गणित जस्ता मुख्य बिषयमा पटक पटक विज्ञापन आह्वान गर्दा समेत शिक्षक नपाउने समस्याले ग्रामीण भेगका सामुदायिक विद्यालयहरु हैरानीमा परेका छन् । मावि तहमा विज्ञान र गणित बिषयको शिक्षक अभाब रहेकाले तल्लो तहमा रहेका शिक्षकहरुलाई नै अध्यापन गराउन लगाउनुपर्ने बाध्यता रहेको ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीले बताए । ‘‘शिक्षक पाउनै मुस्कील छ, पटक पटक सुचना प्रकाशीत गर्दा पनि गणित शिक्षक पाउन सकेका छैनौँ, तह अनुसार बिषयगत शिक्षक उपलब्धता नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्येक्ष असर गरेको छ’’– प्रअ सुवेदीले भने । शिक्षक सेवा आयोगमार्फत आउने शिक्षकहरु बाहिर जिल्लाको हुने र उनीहरु अधिकाँश ६ महिनादेखि १ बर्षसम्म मात्रै बसेर सरुवा भएर जाने समस्याले विद्यालयहरुमा जनशक्तिको चरम अभाब हुने गरेको छ । रिक्त दरबन्दिमा करारमा नियुक्त गर्न प्रकृयागत झण्झटसंगै योग्यता र शिक्षण अध्यापन अनुमती पत्र भएका व्यक्ति पाउनै मुस्किल पर्ने विद्यमान समस्या रहेको छ ।