शिक्षा नीतिभन्दा फरक बागलुङमा अपांगको भीडमा सामान्य विद्यार्थी

नेपालकै नमुना अभ्यास

बागलुङ, २४ असोज — सामान्य विद्यार्थीको भीडमा अपांग पढ्ने गरी बनाएको समावेशी शिक्षा नीतिभन्दा फरक बागलुङमा अपांगको भीडमा सामान्य विद्यार्थी पढ्छन् । यो नेपालकै नमूना अभ्यास भएको छ । धौलागिरी बहिरा माविले यो अभ्यास गराएको हो । कक्षा १० मा पढ्ने मनिषा पाठक समावेशी शिक्षाअन्र्तगत अपांगहरुको भीडमा छिन् । उनका सबै साथी बहिरा छन् । कान नसुन्नेहरु संगै एक्लै सुन्ने भएर पढेकी छिन् । यसरी पढ्दा उनलाई दुई प्रकारको फाइदा पुगेको छ । आर्थिक रुपमा कमजोर भएको परिवारले निशुल्क खाने बस्ने व्यवस्था समेत पढाउन पाएको छ । साधारण पढाईसंगै उनले बहिरा भाषा जानेकी छिन् । दोभाषे भएर काम गर्न र आफ्नो क्षमताले अन्य जागिर खान उनलाई दुई वटा बिकल्प बनिसकेका छन् । कक्षा ९ देखि उनले कम्प्युटर ईन्जिनियर पनि पढेकी छिन् । यो शिक्षाले प्राविधिक ज्ञान पनि थपेकोले उनलाई बजारमा सहजै जागिर पाउने आसा बढेको छ । कक्षा १२ सम्मको पढाई हुने धौलागिरी बहिरा माविमा हरेक कक्षामा पाठक जस्तै एक दुई जना सामान्य बिद्यार्थी पढ्छन् । यो पढाईले उनीहरुको भविष्यको रोजगारी सुरक्षित बन्दै गएको प्रधानाध्यापक मधुसुधन निउरे बताउँछन् । कक्षा १२ पढ्ने बहिरा सुनिता शर्माले पनि कम्प्युटर सम्बन्धी धेरै ज्ञान पाएकोले स्वरोजगारमूलक व्यवसाय गर्न सक्ने दाबी गरिन् ।

उनले यो शिक्षा बाहेक गुडिया बनाउने, सिलाई लगायतको शिप पनि सिकिसकेकी छिन् । शुरु–शुरुमा निजी श्रोतबाट संचालित यो बिद्यालय पूर्ण सरकारी स्वामित्वको भएको छ । हाल यहाँ २ सय ५० बढी बहिरा बालबालिका पढ्छन् । साथै १० प्रतिशत सामान्य बालबालिकालाई पढाउने व्यवस्था गरिएको व्यवस्थापन समितिका सदस्य केबी रानाले बताए । ‘समाबेशी शिक्षा भनेको साधारण बिद्यार्थीको भीडमा एक÷दुई जना अपांग राख्ने सरकारी मान्यता हामीले परिवर्तन गरेका छौं’ रानाले भने, ‘धेरै अपांगको भीडमा सामान्य बिद्यार्थीलाई पनि पढाउन सकिन्छ भन्ने यो उदाहरण हो ।’ अन्य समावेशी शिक्षामा मिसाईएका अपांगबाट तथ्यांक मात्र देखाउने काम भएको उनले टिप्पणी गरे । बहिरा बिद्यालयमा पढेका सामान्य बिद्यार्थी भने भाषाको ज्ञान, प्राविधिक शिक्षा र आर्थिक अभावबाट मुक्त भएको उनले दाबी समेत गरे ।

यो बिद्यालयका सबै बालबालिकाले सांकेतिक भाषामा पढ्छन् । नेपाल र संसारभर लागू हुने सांकेतिक भाषा पढ्दा रोजगारीका लागि बिदेशमै गएर पनि सहजै काम गर्न सक्ने बनेको निउरे बताउँछन् । ‘अपांगता भएपनि बहिराले सामान्य नागरिक सरह काम गर्न सक्छन्’ निउरले भने, ‘बिषेश प्रकारको मेसिन जडान गर्दा कान पनि सुन्न थालिएको छ ।’ लामो समयसम्म अभ्यस्त भैसकेकोले अधिकांसले मेसिन लगाउन मान्दैनन् । केहीले भने लगाएका छन् । नृत्य, खेलकुद, चित्रकला र क्यानभासमा बहिराहरुले ठूलो प्रगती गरिसकेका छन् । यहाँका बिद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्दा सिलाईकटाई, पम्बिङ र हाउस वायरिङ जस्ता सीप समेत सिकेर बाहिरिएका छन् । कक्षा ९ देखिनै बिद्यालयले अतिरिक्त कक्षा संचालन गरेर प्राविधिक शिक्षाको पहल गरेको हो । कम्प्युटर शिक्षा सहित धेरै व्यवसायिक शिप सिकेर बाहिरिंदा उनीहरुलाई बजारमा रोजगारी भेट्न सहज भएको हो ।