आन्तरिक पर्यटकका लागि विभिन्न १२ रमणीय स्थान

घाम र बादले आपसमा लुकामारी खेल्दै गर्दा त्यहाँ पुगेका पर्यटकहरु रोमान्चित नभई बस्नै सक्दैनन्।
बर्षेनी लाखौँ विदेशी पर्यटकहरुलाई आतिथ्य सत्कार दिने नेपालीहरु विस्तारै आफू पनि आन्तरिक पर्यटक बनेर घुमफिरका लागि देशका विभिन्न रमणीय स्थानमा जान थालेका छन्।  दशैँ-तिहारको समय बढी फुर्सदिलो समय हो। यही बेला मौसम पनि सफा बनेर प्रकृतिकलाई मनमोहक बनाइदिन्छ। त्यही भएर पनि दशैँको विदामा धेरै नेपाली घुमफिरमा निस्किन मन पराउँछन्। यो दशैँमा घुमफिरका लागि देशभित्रैका कुन कुन ठाउँ उपयुक्त हुन सक्छन् ?  हेर्नुहोस यी १२ गत्तब्य :
१. भेडेटार (धनकुटा)

हुस्सु र घामकाे लुकामारी चलिरहने भेडेटार
हुस्सु र घामकाे लुकामारी चलिरहने भेडेटार
पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर स्थान हो, भेडेटार। घाम र बादले आपसमा लुकामारी खेल्दै गर्दा त्यहाँ पुगेका पर्यटकहरु रोमान्चित नभई बस्नै सक्दैनन्। भेडेटारमा बाह्रैमास चिसो हावा बहने भएकाले त्यहाँ पुग्दा आनन्द महसुस हुन्छ। भेडेटारबाट मकालु, कञ्चनजंगा, कुम्भकर्ण हिमालका मनोरम दृश्य समेत देखिन्छ। भेडेटारदेखि पश्चिममा ३० फिट अग्लो चाल्स प्वाइन्टमा टावर छ। मौसमले साथ दिएमा टावरबाट सप्तकोशीको बिहंगम दृश्य एवं धरान, धनकुटासहितका स्थान देख्न सकिन्छ। भेडेटारबाट चाल्र्स प्वाइन्ट, नमस्ते झरना, नाम्जे गाउँ, हिले पुग्न त्यति धेरै टाढा छैन। धरानबाट १७ किमी र विरटनगरबाट ४० किमी दुरीमा रहेको छ, भेडेटार। त्यहाँ घुम्न चाहनेहरु सजिलै सडक मार्गबाट पुग्न सक्छन्। होटलहरु पनि भएकाले बास बस्न खानपिनको कुनै समस्या छैन। धरान झरेर पनि पर्यटकले रात बिताउन बितान सक्छन्।
२. कोशी टप्पु वन्यजन्तु आरक्ष (सुनसरी)
काेशी टप्पु वन्यजन्तु अारक्ष
काेशी टप्पु वन्यजन्तु अारक्ष
नेपालको पहिलो र ठूलो रामसार क्षेत्र हो, यो। यो आरक्षलाई ‘अर्नाको राजधानी’ भन्ने गरिन्छ। चराहरुको स्वर्ग समेत मानिने यो आरक्षमा हाँस, बकुल्ला, गरुड, सारस लगायत करिब ४ सय ९० प्रजातिका चरा पाइन्छन्। चरा अवलोकन गर्न चाहने पर्यटकहरूले यस आरक्ष मन पराउने गरेका छन्। सन् १९८७ मा रामसार सूचीमा सूचिकृत कोशी टप्पु वन्यजन्तु आरक्ष १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँबाट एकैपट तीन अलग–अलग मौसमको अनुभव गर्न सकिन्छ। यहाँ घुम्न चाहने पर्यटकहरुले खान बस्न कुनै प्रकारको समस्या भोग्नु पर्दैन। यो आरक्ष क्षेत्र विराटनगरबाट ५० किमि र धरानबाट ४० किमि टाढा छ।
३. सौरहा (चितवन)
साैराहामा पर्यटक
साैराहामा पर्यटक
नेपालको उत्कुष्ट पर्यटकीय गन्तव्यमध्ये एक हो, सौरहा। ‘वाइल्ड लाइफ’ मन मराउनेहरुका लागि यो उपयुक्त स्थान हो। जंगल सफारी, हात्तीसँगै स्नान, हात्तीसँग सम्बन्धित खेलहरु, थारु संस्कृति, राप्ती नदीमा डुंगा सयर सौरहाको आकर्षण हुन्। यहाँ खान– बस्नका लागि रिसोर्ट, होमस्टे, लज तथा उच्चस्तरका होटलहरु उपलब्ध छन्। चितवनको सौराहा राजधानी काठमाडौं एवं देशका अन्य स्थानबाट पनि सडक एवं हवाई मार्गबाट सहजै पुग्न सकिन्छ।
४. जिरी (दोलखा)
नेपालकाे ज्युरिाख पनि भनिने दाेलखाकाे जिरी उपत्यका
नेपालकाे ज्युरिाख पनि भनिने दाेलखाकाे जिरी उपत्यका
सगरमाथाको प्रदेशद्वार पनि हो जिरी। जहाँ जिरेल जातिको बसोबास छ। सुन्दर बस्ती, चेर्दुङ महादेवको मन्दिर, रोलवालिङ क्षेत्रका रमणीय दृश्यावलोकन, झरनाहरु यहाँका विशेषता हुन्। पर्यटकीय स्तरका होटल, लज, होमस्टे उपलब्ध छन्। जिरीसम्म सडक यातायातबाट पुग्न सकिन्छ। काठमाडौँ–जिरीको दुरी ७ घण्टा छ। काठमाडौँबाट २ सय ५ किमि दुरीमा रहेको जिरी ७ घण्टामा पुग्न सकिन्छ।
५. पोखरा
पाेखराकाे सारांकाेटबाट उडेका प्याराग्लाइडिङ
पाेखराकाे सारांकाेटबाट उडेका प्याराग्लाइडिङ
ताल र गुफाहरु यहाँका मुख्य आकर्षण हुन्। प्यारा ग्लाइडिङ, अल्ट्रालाइट उडान जस्ता हवाई खेलका लागि समेत पोखरा चर्चित छ। पोखराको लेक साइड, विभिन्न तालहरु, गुफाहरु, पातले छाँगा, सराङ्कोट, विन्दवासिनी मन्दिर, सेतो गुम्बा पोखराका मुख्य पर्यटकीय गन्तव्य हुन्। बाहेक घान्द्रुक साथै, हिम श्रृङ्खलाहरुको दृश्यावलोकन, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यहाँका आकर्षण हुन्। अत्यधिक संख्यामा सुविधासम्पन्न होटल भएकाले यहाँ बासस्थानको पनि समस्या छैन।
६. मुस्ताङ
मुस्ताङ
मुस्ताङ
हिमाल पारिको जिल्लाको रुपमा चिनिने मुस्ताङसम्म पुग्न प्रयोग गरिने ‘अन्नपूर्ण सर्किट’ पदयात्राका लागि विश्वभर प्रख्यात छ। मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड, लोमन्थाङ यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन्। पोखराबाट हवाई र सडक यातायाता दुबै मार्गबाट मुस्ताङ पुग्न सकिन्छ। खान र बस्नका लागि स्थानीय यहाँ सुविधासम्पन्न होटलहरु उपलब्ध छन्।
७. बन्दीपुर
नेवारी संस्कृतिकाे थलाे बन्दीपुर
नेवारी संस्कृतिकाे थलाे बन्दीपुर
तनहुँ जिल्लामा अवस्थित बन्दीपुरलाई पहाडकी रानी उपनामले चिनिन्छ। दृश्यावलोकन र नेवारी संस्कृति अवलोकनका लागि उपयुक्त गन्तव्यमध्येको एक हो बन्दीपुर। यहाँबाट सिद्ध गुफाको अवलोकन, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ भने प्याराग्लाइडिङको मज्जा पनि लिन सकिन्छ। खान–बस्नका लागि होटलको राम्रो व्यवस्था छ। काठमाडौँबाट सडकमार्फत् ४ घण्टामा नै बन्दीपुर पुग्न सकिन्छ।
८. लुम्बिनी
लुम्बिनीस्थित मायादेवी मन्दिर
लुम्बिनीस्थित मायादेवी मन्दिर
विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थान हो लुम्बिनी। प्राचीन सभ्यताको धरोहर। बौद्ध धर्मावलम्वीहरुको मुख्य आकर्षण रहने यो ठाउँ पुरातत्व र ऐतिहोसिक स्थल अवलोकन गर्नेहरुका लागि पनि आकर्षणको केन्द्र हो। विश्व सम्पदा सूचीमा सूचिकृत बुद्ध जन्मस्थल। देवदह, तिलौराकोट, कुदान, जगदिशपुर ताल, रामग्राम, निग्लिहवा, सगरहवा, गोटिहवा यो क्षेत्रका मुख्य पर्यटकीय आकर्षण हुन्। खान बस्न होटलहरुको सुविधा रहेको यो ठाउँ बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र पनि। लुम्बिनी जान काठमाडौं र पोखराबाट भैरहवाका नियमित उडान हुन्छन्। काठमाडौंबाट सडक मार्गबाट लुम्बिनी पुग्न साढे ६ घण्टा जति समय लाग्छ।
९. रानी महल (पाल्पा)
रानीमहल
रानीमहल
खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा निर्माण गरेको मनोहर भवन हो रानी महल। रानी महल अवलोकनका लागि जाने सिलसिलामा पाल्पा दरबार, श्रीनगर डाँडा, भैरवस्थान, राम्दी सुन गुफा जस्ता पर्यटकीय स्थानको पनि भ्रमण गर्न सकिन्छ। पाल्पा सदरमुकाम तानसेनबाट १७ किमिकोे दुरीमा रहेको रानी महलसम्म गाडीमा १ घण्टामा पुग्न सकिन्छ। तानसेनसम्म पुग्न सडकमार्गको पहुँच छ।
१०. सिँजा उपत्यका (जुम्ला)
सिंजा उपत्यका
सिंजा उपत्यका
नेपाली भाषाको उद्गम सिन्जा भ्याली एक आकर्षक पर्यटकीय गन्तव्य हो। सिँजा उपत्यकाभित्र चन्दनाथ मन्दिर, तातोपानी, प्राचीन मठ मन्दिर तथा देवलहरु, पाँच पाण्डव बस्ने गुफा जस्ता स्थान छन्। बस्नका लागि स्थानीय स्तरका होटल छन्। सिँजा उपत्यका पुग्न सुर्खेतबाट कालिकोट हुँदै दुई दिनको बस यात्रा गर्नु पर्छ। साथै सुर्खेतबाट हवाइ यात्राको माध्यमबाट पनि जुम्ला पुग्न सकिन्छ।
११. खप्तड (बझाङ)
खप्तड राष्ट्रिय निकुन्ज
खप्तड राष्ट्रिय निकुन्ज
डोटी, अछाम, बुझाङ र बाजुराको संगम स्थल हो खप्तड। खप्तड बाबाले तपस्या गरेको पवित्र भूमि पनि हो यो। धार्मिक पर्यटनका दृष्टिले यो स्थानलाई विशिष्ट मानिन्छ। यहाँका प्रमुख आकर्षणहरुमा खप्तड राष्ट्रिय निकुञ्ज, नागढुङ्गा, खप्तड दह, सहस्र लिंग, त्रिवेणीधाम, खप्तड बाबाको आश्रम आदि रहेका छन्। खानपान र बसोबासका लागि स्थानीय स्तरका होटल उपलब्ध छन्। धनगढीबाट बझाङ तमैलसम्म गाडीमा यात्रा र त्यसपछि ५ घण्टा पैदल यात्रा गरेपछि खप्तड पुग्न सकिन्छ।
१२. राराताल
रारा ताल
रारा ताल
मुगु जिल्लामा अवस्थित राता ताल नेपालको सबैभन्दा ठूलो ताल हो। बाह्य र आन्तिरिक पर्यटकको मुख्य गन्तव्य पनि हो रारा। समयअनुसार रंग बदलेको अनुभूति लिन सकिने भएकाले तालको नजिकै पुग्न धेरैले रहर गर्छन्। रारा ताल पुगे पछि रारा राष्ट्रिय निकुन्ज, मर्मा टप, हिम शृंखलाको दृश्यावलोकन र दुर्लभ माछा तथा जल पंक्षीहरुको अवलोकन गर्न सकिन्छ। रारा घुम्न जाने पर्यटकले खान बस्नका लागि कुनै पनि खालको असुविधा महसुस छैन। यहाँ पुग्न सुर्खेतबाट हवाई र सडक दुबै यात्रा गर्न सकिन्छ। नेपालखबर