मठमन्दिर र सुरक्षा

घटस्थापना सँगै यस वर्षको बडा दशैं सुरु भएको छ । नेपालीहरुले प्रमुख पर्वको रुपमा मनाउने बडा दशैंमा बागलुङका बिभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । सधैं जस्तै यस बर्षको दशैंमा पनि बागलुङका शक्ति पिठहरुमा चहलपलह सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रको ठुलो शक्तिपिठको रुपमा रहेको बागलुङ कालिका मन्दिर, बलेवामा रहेको भैरवस्थानको मन्दिर, जैमिनीमा रहेको माईकास्थानको मन्दिर लगायत जिल्लाका बिभिन्न ठाउँमा रहेका शक्ति पिठहरु घटस्थापनाको दिन देखीनै भरीभराउ देखीन थालेका छन् । बिषेश गरेर धेरै बलि चडाईने बागलुङ कालिका भगवती, भैरवस्थान र माईका स्थानमा दशैंको समयमा भिडभाड बढी हुने गरेको छ । आस्थाका धरोहरका रुपमा रहेका शक्ति पिठहरुमा भक्तजनको विश्वासकै कारण बडादशैं र चैत्राष्टमीको बेला धेरै भिड लाग्छ । बागलुङ कालिका भगवती र वलेवा भैरवको दर्शनका लागि नेपालको गण्डकी प्रदेशका सबै जिल्ला र प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का भक्तजनहरुको समेत उल्लेखनीय उपस्थिती रहने गरेको छ । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने जाने भक्तजनहरुको बाटोमा कालिका मन्दिर पर्ने भएकाले पनि पितृपक्षको अन्तिम दिन मुक्तिनाथ जानेहरुको नवदुर्गाको पहिलो दिन शक्तिपिठहरुमा भिडभाड लाग्ने गरेको हो ।

चार्ड पर्वका बेला शक्ति पिठहरुमा भिडभाड हुनु स्वभावीक हो । जसका कारण धार्मिक पर्यटनको माध्यामबाट कतिपय ठाउँहरुमो बिकास र प्रचार प्रसार गर्न सकिन्छ । यो सुनौलो अवसर सँगै शक्तिपिठको दर्शनका लागि आउने पर्यटक तथा भक्तजनका चुनौतीहरु पनि आउने गरेका छन् । उल्लेख्य रुपमा उपस्थिती र सबै दर्शनार्थीको पुजा पाठ गर्ने चाहनाका कारण शक्ति पिठहरुमा भिडभाड हुने र मानिसहरुको व्यवस्थापन गर्न कठिन हुने गरेको छ । पुजापाठको लागि लाईनमा बसेकाहरुको बिचमा हुने तँछाड मछाडका कारण धार्मिक स्थानहरुमा पनि सुरक्षाको चुनौती थपिने गरेको छ । पर्वको बेला भएकाले यसै पनि सवारीको प्रयोग गर्नेको संख्यामा बृद्धि हुने र शक्तिपिठको दर्शन गर्न जानेहरुमा कारण सवारीमा थप चाप पर्ने भएकाले दुर्घटनाको भएपनि बढेर जाने गरेको छ ।
कैयौं मानिसहरुको आस्थाको धरोहर हुँदा हुँदै पनि शक्तिपिठहरुमा रहेको भौतिक संरचनाको अभावका कारण भक्तालुहरु मर्कामा पर्ने गरेका छन् । सौचालय, खानेपानी जस्ता अत्यावश्यक संरचनाको सहज व्यवस्था अझैपनि शक्तिपिठहरुमा रहेको छैन् । आफ्नो मनोकांक्षा पुरा गर्नका लागि दिईने बलिका लागि समेत उचित व्यवस्थापन मन्दिरहरुमा छैनन् । दशैं तथा बिभिन्न पर्वका बेला शक्तिपिठमा जाने भक्तजनको सहजताको लागि अव सबैको ध्यान जान जरुरी छ । दशैंका बेला मन्दिरहरुमा हुने भिडभाड र भक्तजनहरुको घुँईचो व्यवस्थापनका लागि जिल्लाका सुरक्षा संयन्त्रले पनि ध्यान दिनु पर्छ । श्रद्धा भक्तिका साथ मनोकांक्षा पुरा गर्ने अभिलासा बोकेर मन्दिर पुग्नेहरुले पनि सकरात्मक सोच राख्दै भिडभाड तथा असावधानिका कारण हुने दुर्घटना कम गर्न तर्फ बेलैमा सोचौं ।