चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण

पर्वत, २६ असोज — जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र मोदीवेणी दीव्यधाममा चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण गरिएको छ । पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरी २४ कोठाको पक्की भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको भवन निर्माणको काम हालै सम्पन्न भएको छ । भवन निर्माणका क्रममा रु ६७ लाख ९९ हजार ६१६ लागत तयार पारी काम शुरु गरिएकामा रु ५७ लाख ३३ हजार ९१५ मा भवन निर्माणको काम पूरा गरिएको ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठले जानकारी दिए ।

२४ वटा कोठा रहेको वृद्धाश्रममा पूर्वाधार थप्ने काम जारी छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनका अध्यक्ष भवन भट्टले नवनिर्मित ज्येष्ठ नागरिक आश्रमको मङ्गलबार उद्घाटन गरे । अध्यक्ष भट्टले मोदीबेनीको विकासका लागि गैरआवासीय नेपाली सङ्घले पनि सहयोग गर्ने बताए । तत्कालका लागि उनले व्यक्तिगत रूपमा रु तीन लाखको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।