बागलुङ पनि प्रहरी दिवस मनाईयो

बागलुङ, २६ असोज —६३ औं प्रहरी दिवस बागलुङमा पनि बिबिध कार्यक्रम गरी मनाईएको छ । जिल्ला प्रहरी कार्यालयले बिबिध बिद्यामा उत्कृष्ट हुने प्रहरी जवानहरुलाई सम्मान तथा पुरस्कार र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाएको हो । प्रहरी दिवसको अवसरमा आयोजित मुल समारोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले प्रहरीको समाजमा रहेको शानलाई जोगाई राख्न थप मेहेनत गर्नुपर्ने बताए । उनले शान्ति सुरक्षा, लागु औषध नियन्त्रण लगायतका अपराधिक गतिविधी नियन्त्रण गर्न सफल रहेकोमा प्रहरीको प्रशंसा गरेका थिए । अपराध अनुसन्धानको क्षेत्रमा महत्वपुर्ण काम हुँदा–हुँदै पनि प्रहरीको पछिल्लो समयका केही गतिविधिका कारण संगठननै बद्नाम हुने अवस्थामा पुगेकाले संगठनले आँफुलाई थप सुधार गर्नुपर्नेमा जोड दिए । उनले प्रहरीलाई प्रबोलम सुटर बन्न आग्रह गरे । ‘जस्तो सुकै समस्या पनि तत्काल समाधान गर्ने ‘प्रबोलम सुटर’ बन्नुहोस नाम कमाउनुहोस’ खरेलले भने ‘संगठनको शाखलाई जोगाउनका लागि इमान्दार भएर लाग्नुहोस ।’ कार्यक्रममा बागलुङ नगर पालिकाका प्रमुख जनक पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रणको लागि प्रहरीले सक्षमता देखाएको भन्दै प्रशंसा गरे । केही व्यक्तिहरुको व्यक्तिगत महत्वकांक्षाका कारण प्रहरी संगठनकोनै बदनाम बनाउने काम भैरहेको भन्दै पौडेलले यस्ता घटनाबाट आँफुलाई जोगाउन बागलुङ प्रहरीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले देशका विभिन्न ठाउँमा भएका घट्नाका कारण सिङ्गो प्रहरी संगठन बद्नाम भएको बताउँदै संगठनको छवि सुधार्न तर्फ लाग्न सुझाए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका युवराज राजभण्डारी, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका शैलेन्द्र कुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका रामरेखाका अध्यक्ष दुर्गा आचार्य, पूर्व प्रहरी माधव प्रसाद श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यालयमा उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने प्रहरीले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रममा विजयी सहभागिलाई मेडल लगाएर पुरस्कृत गरिएको थियो  । प्रहरीलाई निशुल्क जग्गा उपलब्ध गराउने विभिन्न व्यक्ति र सामुदायिक सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा आचार्य र गुठिका अध्यक्ष लिलादेवी खड्कालाई सेवा केन्द्रबाट उत्कृष्ट सेवा पु¥याएको भन्दै सम्मान गरिएको थियो । बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक धर्म अधिकारीले गरेका थिए ।