मागे जति नयाँ नोट आएनन्

प्रतिव्यक्ति २७ हजार नयाँ नोट उपलब्ध गराउने भने पनि १३ हजार मात्र उपलब्ध

बागलुङ, २६ असोज — जिल्लामा दशैंमा नयाँ नोट पाउन असहज हुने भएको छ । नेपाल राष्ट्रबैंकले माग अनुसार नोट उपलव्ध गराउन नसकेका कारण नयाँ नोटको अभाव हुने देखीएको हो । बिहिबारदेखी सर्वसाधारणका लागि नयाँ नोट वितरण सुरु गरेको नेपाल बैंक बागलुङ शखाले माग अनुसारको नोट नआएका कारण नोटको अभाव हुने जनाएको छ । सर्वसाधारणको माग भन्दा आधा मात्रै नोट बैंकलाई उपलव्ध भएकाले सोही अनुसार नोट बितरणको काम थालिएको शाखा प्रमुख दुर्गा प्रसाद अर्यालले बताए । बागलुङमा रहेका नेपाल बैंकका तिनवटा शाखा र पर्वत शाखाको लागि समेत जम्मा एक सय ९३ बण्डल नयाँ नोट बागलुङ आएका छन् । गत बर्षको अनुभवका आधारमा बागलुङ शाखा, बुर्तिवाङ शाखा, गल्कोट शाखा र कुश्मा शाखाका लागि चार सय बण्डल नोटको माग रहेको भएपनि नेपाल राष्ट्र बैंकले भने आधा भन्दा कम नोट मात्रै सटहिका लागि पठाएको हो ।

एक सय रुपैयाँका २३, पचास रुपैयाँका पचास, २० रुपैयाँका ५०, दश रुपैयाँका पचास र पाँच रुपैयाँका २० बण्डल मात्रै नोट आएको शाखाले जनाएको छ । राष्ट्र बैंकले सर्वसाधारणको लागि प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट उपलव्ध गराउने भनेको भएपनि बागलुङमा भने प्रतिव्यक्ति १३ हजार रुपैयाँ मात्रै उपलव्ध गराईने भएको छ । ‘हामीले मागे अनुसारको नयाँ नोट राष्ट्र बैंकले पठाएन्’ अर्यालले भने, ‘एक सय थान रहेका बण्डलहरु फुटाएर प्रतिव्यक्ति १३ हजार रुपैयाँ मात्रै वितरण गर्ने तयारीमा रहेका छौं ।’ बिहिबारदेखी नै नयाँ नोटको वितरण गरेको नेपाल बैंकका शाखाहरुमा सर्वसाधाणको भिड लागेको छ । नयाँ नोट लिनका लागि बैंक पुगेका सर्वसाधारणलाई पचास रुपैयाँ र दश रुपैयाँका पुरानै नोट बितरण भैरहेको बैंकले जनाएको छ । माग अनुसारका नोटहरु राष्ट्र बैंकबाट नआएको र केही पुराना नोट सन्चितीमा रहेकाले पचास र दशका नोट पुरनै भएपनि बितरण गरिएको अर्यालले जानकारी दिए ।