बडादसैं : मिलन वा बिछोड  ?

गाउँमा भाडामा कोठा दिने चलन थिएन । त्यो प्रथा वा पेसा उनीहरूको संस्कृतिभन्दा भिन्न थियो ।

गाउँलेलाई अचानक नयाँ समस्या आइलाग्यो  । अर्कै ठाउँबाट पढाउन आइपुगेका ‘शिक्षक–शिक्षिका’को एक जोडीलाई बस्ने व्यवस्था मिलाइदिनुपर्ने भयो  । गाउँमा भाडामा कोठा दिने चलन थिएन । त्यो प्रथा वा पेसा उनीहरूको संस्कृतिभन्दा भिन्न थियो । गाउँलेले पाहुनाको स्वागत गर्न र वर्षौं आतिथ्य दिन सक्थे, तर बहाल लिन सक्दैनथे । केही दिन वा महिनासम्म त उनीहरू आफ्नै परिवारमा ती ‘मास्टर–मास्टर्नी’लाई पाहुना मानेर राखिदिन सक्थे, तर उनीहरू कति वर्ष बस्ने हुन्, कुनै टुङ्गो थिएन । त्यसमाथि प्रत्येकका घर आफ्ना परिवारका लागि ठिक्क हुनेगरी बनेका थिए र सोही अनुसार प्रयोग भएका थिए ।
कसैको घरमा केही समय बसे पनि लामो समयसम्म बस्न मिल्ने अवस्था रहेन । यो २०३७ सालको कुरा हो । वल्लो र पल्लो गाउँका दुई फरक स्कुलमा पढाउने यो जोडीलाई गाउँलेले आफ्नै हिसाबले ‘गुरुआमा’ र ‘गुरुबा’ नाम राखिदिए, आफ्नै गोठको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइदिए र उनीहरूका दुई ‘मिजा’लाई आफ्नै छोराछोरी जस्तै माया दिए, अपनाए र हुर्काए । अभिभावक देवीबहादुर र परिवारको विशेष पहलमा भैंसीगोठको माथिल्लो घाँस राख्ने भाग लिपपोत भयो । केही सामान्य सुरक्षाका प्रबन्ध गरियो । खाना पकाउँदा आगोले खरको छानो सल्किन्छ भनेर चुल्होको ठिक माथि बाँस र माटोले छापेको सानो भाग निकालियो । गोठको आधा भाग बारियो र ढोकाको प्रबन्ध गरियो । ‘मिजाहरू’ साना हुँदा त चार जनाको यो परिवार बारेको भित्री भागमा नै अट्थे, तर विस्तारै यो साँघुरो भयो र चारैजना त्योभन्दा बाहिरको खुला ठाउँमा सुत्न थाले । बाउ–आमा त आफ्ना सन्तानका लागि चिन्तित नै थिए होलान्, तर जेठो ‘मिजा’ केही कुराले सदैव चिन्तित रहन्थ्यो ।
उसको प्रत्येक रात चितुवाले आफ्ना आमा–बाबु वा सानो भाइलाई खाइदिने डरमा बित्थ्यो । बेला–बेलामा गाउँलेका गोठहरूमा रहेका बाख्रा मारिएका समाचारले उसलाई अझै व्याकुल बनाउँथ्यो र आफू सुत्ने ठाउँभन्दा ठिक तल रहेको बाख्राको सट्टा आफ्नै परिवारलाई खाइदियो भने के गर्ने ? भन्ने चिन्ताले सताउँथ्यो । बिजुली बत्ती थिएन । टुकी वा खाना पकाउँदाको आगोले त्यो सानो घरगोठ जल्ने कल्पनाले पनि ऊ सदैव त्रसित देखिन्थ्यो । गाउँघरमा प्राय:जसो हुने आगलागीको घटनाले उसलाई डराउन बल दिन्थ्यो । तैपनि ‘बहादुर’ बच्चाले आफ्नो त्यो डर २०४९ सालमा ‘बुबै, जान्छु है भनेर आँसु झार्दै’ उक्त घर नछाड्दासम्म लुकाइरह्यो । त्यो घरको ठिक माथिको बाटोबाट बेला–बेलामा लास बोकेर मलामीहरू ‘रानीघाट’ जान हिँड्थे ।
अचानक गाउँको एकजना चिरपरिचित व्यक्ति सदाका लागि उसले देख्न छाड्यो । ऊ भने दुई–चार दिनसम्म उक्त बाटोमा हिँड्न र साँझमा बाहिर निस्कन डराउँथ्यो । मलामीहरू लास बोकेर घाट पुग्ने रातमात्र होइन, त्यसपछिका २/४ रात उसको निद र रातमा लाग्ने दिसापिसाब दुवै हराउँथे । पानी कम खान्थ्यो र राति पिसाब आए पनि चापेर बिहानको उज्यालो कुरी बस्थ्यो । यस्ता अदृश्य डरहरूका माझ पनि यो ठाउँ उसका लागि विशेष थियो, आफ्नै थियो । उसले त्यहीं बोल्न सिक्यो । हिँड्न, दौड्न, लोट्न र उठ्नमात्र होइन, झगडा गर्न, बदमासी र बिठ्याइँ गर्न सिक्यो । मास्टरका ‘मिजा’ भएपछि केही फरक हुनुपर्छ र निश्चित अनुशासनमा बस्नुपर्छ भन्ने पनि उसले यहीं सिकेको थियो । साथीहरू बनाएको थियो, ‘रगतका नाता’भन्दा परको छुट्टै संसारको माया देखेको थियो र तिनलाई माया गरेको थियो ।
तानसेन बजारले पाल्पालाई लगभग पूर्व र पश्चिम दुई खण्डमा विभाजित गर्छ । पूर्व मगर समुदायको बाहुल्य र पश्चिममा अन्य समुदायको उल्लेख्य उपस्थिति । तानसेन पूर्व लागेपछि मगर भाषा जति सहज लाग्छ, पश्चिममा भने मगर समुदाय नै पनि मगर भाषा बोलेको निकै कम सुन्न पाइन्छ । ठिक यही परिवेशमा तानसेनसँग जोडिएका ३ गाविस मदनपोखरा (दक्षिणपूर्व) र बौघा पोखराथोक तथा बौघा गुम्हा (पश्चिम) सँग उक्त बालकको नजिकैको साइनो रह्यो । तानसेन बजारबाट करिब ८ किलोमिटर दूरीमा रहेका यी तीन गाउँमध्ये बौघा गुम्हा र बौघा पोखराथोकका भौगोलिक, सांस्कृतिक, भाषिक तथा अन्य गतिविधिमा धेरै समानता थिए । नेपालका धेरै गाउँमा जस्तै केही वडा र बस्ती छोडेर पानी र पढाइका लागि दैनिक १/२ घन्टा समय खर्चिनुपर्ने बाध्यता थियो । साक्षरता वा सरकारी जागिरमा कम पहुँच हुनुको एउटा प्रमाण त सो समयमा उक्त दुई गाविसका स्कुलहरूमा कम्तीमा ७ जना शिक्षक/शिक्षिका मदनपोखरा गाविसका मात्र हुनु पनि हो ।
उता मदनपोखरा भने उसको जन्मघर थियो । ऊ जन्मेको तर धेरै कुरा नजानेको, नबुझेको । उसले आफ्नो जन्मघर र गाउँका बारेमा बुझेका वा सुनेका ४ वटा कुरा विशेष थिए । कम्युनिष्ट गाउँ, कृषिका लागि नाम चलेको, धेरै स्कुल र पढेका मान्छे भएको र सबै घरमा ‘ट्वाइलेट’ भएको अर्थात् आजको नारा अनुरूपको ‘खुला दिसापिसाब मुक्त क्षेत्र’ । नाताले आफ्नै जन्मघर र गाउँ भए पनि उसले मदनपोखराका विषयमा धेरै सम्झन्न, जति बौघा पोखराथोक वा गुम्हाका विषयमा । उसले बाल्यकालका घटना जति सम्झन खोजे पनि ती ठोक्किएर पश्चिम पाल्पामै पुग्थे । सायद उसको बाल्यकाल यहीं सुरु र अन्त्य भयो । मौसम विस्तारै फेरिन्थ्यो । जताततै रमाइलो र घमाइलो हुन्थ्यो । जाडो हल्का चियाउन खोज्थ्यो । पारि हेर्दा लहरै धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाहरू देखापर्थे । बाटोघाटो चौडा पारिन्थ्यो, सफा हुन्थ्यो । घरहरू रातो माटो र कमेरो माटोले लिप्न सुरु हुन्थ्यो । हेर्दाहेर्दै धेरै घरको रूपरङ्ग फेरिन्थे, उज्यालिन्थे । बजार आउने–जाने क्रम बाक्लो हुन्थ्यो । तर सबैतिर सबै कुरा विस्तारै सुस्त भए जस्तै । खेतबारी, स्कुल, कार्यालय वा सबैतिरबाट मान्छेहरू विस्तारै फुर्सदिला भए जस्ता, थकै मारे जस्ता ।
सबै एउटा खास काम फत्ते गर्ने ध्याउन्नमै लागे जस्ता । खर काटिन्थ्यो, बाटिन्थ्यो र गाउँको बीच भागतिर पर्नेगरी कुनै रूखमा पिङ हालिन्थ्यो । कहिलेकाहीं चर्केपिङ नदेखिने होइन, तर यो धेरैजसो पूर्णिमाको मेलामा देखापथ्र्यो । ‘सराये’ नाच हुन्थ्यो, वल्लो–पल्लो गाउँबाट मान्छेहरू जम्मा हुन्थे, रैथाने खानाका फरक–फरक स्टलहरू राखिन्थे, केटाकेटी लोभ्याउने खेल हुन्थे । साथीहरूले यस मेलामा जाने तयारी गर्थे, आफ्ना योजना सुनाउँथे । लामो समय नदेखिएका युवाहरू घरगाउँमा देखापर्थे । बजारका ‘स्कुल’ पढ्न गएका उही उमेर समूहका साथीहरू पनि अचानक देखापर्थे । गाउँमा खेल्न र देख्न नपाइने नयाँ खेलाउने कुरा ल्याउँथे । सबैलाई आफ्नैपछि दौडाउँथे । कहिलेकाहीं पल्लो गाउँमा गएर फुटबल वा भलिबल खेल्थे, अनि हारिसकेपछि अलि टाढा पुगेर ‘झ्याल्ली गरेर जित्यो’ भन्दै चिच्याउँथे । साँच्चै रमाइलो माहोल बनिरहेका बेला, सबैसँग भेटघाट भइरहेका बेला, दसैं र त्यसपछिको मेलामा जाने योजना बनिरहेका बेला उसलाई भने टीका लगाउन आफ्नो मूलघर जानुपर्ने हुन्थ्यो । उसले यी सबै रमझम छाडेर ‘नयाँ ठाउँ’मा रमाउनुपर्ने हुन्थ्यो । दसैं ‘मिलन वा भेटघाट’को चाड भनिरहँदा ऊजस्तै कैयौं मिजाहरूका निम्ति दसैं ‘विछोड’को चाड पो थियो कि ? तर दसैंको सङ्कथनले दसैंलाई ‘विछोड’को चाड भन्न दिंँदैन, छुट्टिने पर्वका रूपमा चित्रित गर्दैन । साँच्चै दसैं ‘मिलन’को चाड थियो कि ‘विछोड’को यति धेरै वर्षपछि खोजिएको यो प्रश्नको उत्तर ऊसँग थिएन र छैन पनि ।
जन्म बाहेक बाल्यकालका लगभग सबै कुराको सुरु र अन्त्य बौघामै भए पनि उसको ‘दसैं’ भने मदनपोखरा (जन्मघर) सँग मात्र जोडिन्छ । जब उसले आफ्नै जीवनका दसैंहरू सम्झन खोज्छ, केही लेख्न खोज्छ, उसले आफै हुर्केको, खेलेको, पढेको र सबैभन्दा धेरै यादहरू सँगालेको बौघामा ‘दसैं’ भेट्न सक्तैन, सम्झन सक्दैन र लेख्न सक्दैन । खासगरी दसैंका लागिमात्र पुग्ने मूलघर र जन्मथलोमा उसलाई माया गर्ने हजुरबा, हजुरआमा, अन्य बुबा र आमाहरू अनि थुप्रै नातेदार थिए । दसैं नै बहाना थियो, अवसर थियो, जसमा सबै नातेदारसँग भेट हुन्थ्यो । त्यसैले यो रमाइलो थियो र विशेष थियो । सायद वर्षमा एकपटक दसैंको लागि पुग्ने जन्मघर र मावली घरको दसैं बाहेक अन्य दसैं उसले कहिल्यै देखेन । अन्यत्र अन्यसँग कहिल्यै दसैं मनाएन । त्यस्तो किन भयो वा किन गरियो भन्ने प्रश्न महत्त्वपूर्ण हुनुपर्ने हो । तर त्यसको उत्तर सामान्यत: खोजिँंदैन वा खोज्ने प्रयास गरिँंदैन । किनभने दसैंलाई ‘आफन्त र मान्यजन’हरूको आशिर्वाद लिने चाडका रूपमा परिभाषित र सीमित गरिएको छ । के ‘दसैं’ बाहेक सबैथोक मनाइने कुनै ठाउँमा ‘दसैं’ पनि मनाउन सकिँंदैन ? किन दसैंमा ‘मिलन’को लागि भागाभाग हुँदै गर्दा ‘विछोड’ पनि हुने गर्छ ? किन दसैं स्वत: नातेदारहरूसँग मात्र जोडिन पुग्छ ? किन एउटा ‘मिजा’ले एउटा गाउँमा फागु मनाएको, तीज देखेको, अन्य साना–ठूला सबै जात्रा, पर्व, विवाह, जन्म, मृत्युका दु:खसुखमा सामेल भएको सबै सबै कुरा सम्झन सक्छ, लेख्न सक्छ, तर ‘दसैं’ लेख्न सक्दैन । सम्झनै सक्दैन ।
मावली हजुरआमा, घरकी हजुरआमा र त्यसै गाउँकी बुबै वा बज्यैमा के फरक थियो ? किन र कसरी त्यो बच्चाले ती सबै आदरणीयहरूका माझ फरक छुट्याउन सिक्यो ? टीका थाप्ने र नथाप्ने, दसैं कोसँग, किन र कसरी मनाउने भन्ने कुरा उसको दिमागमा आयो कि आएन होला ? चौरासी पूजा गरिसकेका आदरणीयहरूसँग आशिर्वाद लिनुपर्छ भनेर नाता नपर्नेहरूको हातको टीका लगाएर आशिर्वाद लिन सिकाएका अभिभावकले कुनै एक वर्ष ‘जन्मघर’को सट्टा कर्मघरमा दसैं मनाउने कुरा सोचे कि सोचेनन् होला ? १२ वर्षसम्म एउटै गाउँमा बसेको र त्यहीं हुर्किएको एउटा बच्चाले त्यो गाउँको दसैं देखेन, तर थुप्रै अचम्मलाग्दा कुरा भने देख्यो । उसका अस्थिर यात्राले उसलाई मदनपोखरा, बौघा पोखराथोक, गुम्हा, बुटवल, तानसेन र काठमाडौं पुगेर फाल्दा पनि उसले मनाएको दसैं, उसले देखेको दसैंमा आफ्नै जन्मघर, आफ्नै नातेदार र आफन्तमात्र देखापरिरहे, परिरहन्छन् ।
त्यसैले यतिका वर्षपछि पनि उसले दसैं आफ्ना आफन्त र नातेदारसँग भेटघाट गर्ने र टीका थाप्ने पारिवारिक जमघट हो कि त्योभन्दा अलि धेरै पनि हो ? भन्ने प्रश्नको उत्तर खोजिरहेको छ । त्यसो त गाउँघरको दसैंको विशेषता नै आफन्त र नातेदारमात्र होइन, समग्र गाउँलेको भेटघाट हो भन्नेमा त्यो मिजा विश्वस्त छ । तैपनि उसले त्यस्तो ‘समग्र भेटघाट’को अवसर नपाएकोले होला, उसलाई आफ्नो जन्मथलोमा टीका लगाएको, परिवार भेटेको र नातेदारसँग मात्र टीका लगाएको र रमाएको याद छ । दसैंभन्दा केही दिन पहिले ऊ मूलघर फर्कन्थ्यो । त्यहाँ पनि बाटो खनिन्थ्यो, फराक र सफा बनाइन्थ्यो । जताततै चहलपहल र छुट्टै रौनक हुन्थ्यो । नयाँ अनुहार भेट्थ्यो, कतिलाई ढोग्थ्यो, कतिसँग पहिलोपटक चिनजान हुन्थ्यो । विस्तारै महोत्सव सकिन्थ्यो र छुट्टिने क्रम चल्थ्यो । प्रत्येक वर्ष दसैं आउँथ्यो, जान्थ्यो । तर दसैं मनाएर पुन: फर्कंदा उसलाई थुप्रै कुरा नयाँजस्ता लाग्थे, फरक लाग्थे । दसैं अगाडिका सफा बाटाहरूमा विस्तारै फोहोर भेटिन्थे ।
बाटोमा सेलाइएका प्रसाद, फलफूल, जमरा र अन्य सामग्रीहरू छरिएका देखिन्थे । साथीहरूले नयाँ–नयाँ कुरा गरिरहेका हुन्थे । उनीहरू एकआपसमा बोलेको कुरा, कुनै कुरा सम्झिएर हाँसेको कुरा, नयाँ–नयाँ कुरा देखेको, खेलेको र खाएको कुरा वा मेलामा बिठ्याइँ र रमाइलो गरेको कुरामा उसले आफूलाई कतै भेट्दैनथ्यो । ऊ ती पुराना साथीहरूको माझमा कतै हुँदैनथ्यो । अचानक ऊ आफ्नै साथीहरूबाट हराउँथ्यो, छुट्टिन्थ्यो । के दसैं अगाडि र पछाडि साथीहरू फेरिए ? के त्यो पुरानो ठाउँ नै फेरियो ? उसलाई आफ्नै पुराना साथीहरू पुरानै रूपमा भेट्न केही समय लाग्छ । आफ्नै ठाउँमा पुन: मिसिन र भिज्न केही दिन लाग्छ, दसैं अगाडि छाडेको घर सफा गर्न र सबै कुरा जस्ताको तस्तै बनाउन उसका आमाबालाई केही समय लागे जस्तै ।
करिब ३७ वर्षको उमेरसम्म पनि उसले उसका सबै नातेदारसँग टीका लगाउन गाउँ घुमेको एकपटक मात्र हो भन्ने कुरा बिर्सेको छैन । सायद त्यो वर्ष नै उसले राम्रोसँग सम्झिएको र मनाएको अन्तिम दसैं थियो, जहाँ दलानमा टीका थाप्न आउनेहरूको भिड थियो र ऊ पुरा गाउँ डुलेको थियो । त्यसपछिको दसैंमा घर र गाउँकै ‘मूल’ हजुरबुबा रहनुभएन । अर्को दसैंसम्ममा त्यो दलानको जमघट रहेन, अब त्यो घरमा हुर्के–बढेका सबै आआफ्नो बाटो लागिसके । त्यसैले अब नत दलान बाँकी छ, न घर अनि न कुनै चहलपहल । घर खण्डहर बनिसकेको छ । रमाइलोसँग मनाएको पहिलो र अन्तिम एउटा दसैंको सम्झना सोही घरसँग विस्तारै ढल्दैछ, बिलाउँदैछ । अब करिब २० घरधुरी रहेको त्यो गाउँ लगभग खाली छ, सुनसान छ । सबै छरिएका छन् । धेरैजसो थातथलो छाडेर फरक–फरक ठाउँमा पुगेका छन् र ‘प्रगति, उन्नति’ गरिरहेका छन् ।
तर यसको विपरीत कहिल्यै दसैं नमनाएको र भावनात्मक सम्बन्ध रहेको गाउँ र घर भने अहिले पनि लगभग उस्तै देखिन्छ । अनि घरका आमाबा र दाजुभाइहरू त्यसैगरी सोही ठाउँमा बसिरहेका छन् । दसैं मनाइरहेका छन् । के काठमाडौं पलायन भइसकेको ती ‘मिजा’ले रगतको नाता नलाग्ने नातेदारहरूसँग दसैं मनाउन सक्ला ? के उसले जीवनचक्र जस्तै घुम्ने यो सांस्कृतिक मेला र परम्पराको उत्पादन–पुनरुत्पादन प्रक्रियाबारे आफ्नै मिजालाई ‘मिलन र विछोड’का कथा र मान्यता फरक–फरक हुनसक्छन् भनी बुझाउन सक्लान् ? अब उसका आफ्नै सन्तान कुन ठाउँको दसैंमा रमाउलान्, अनि कुन ठाउँको दसैं सम्झनामा राखी हिँड्लान् ? कान्तिपुर