असार मसान्तपछि दशैका लागि बजेट

सडक सुधार्दै बागलुङ नगरपालिका

बागलुङ, २७ असोज– गत असार मसान्तमा बागलुङ नगरपालिका भित्रका एक दर्जन सडक मर्मतका लागि ७० लाख रुपैयाँको दरले बजेट खर्च गरिएको थियो । ती सडक साउन, भदौ र असोजको दोश्रो सातासम्म अबरुद्ध थिए । असार मसान्तमा मर्मत गरेपनि दर्जनौं पहिरोले सवारी साधन चल्नै नसक्ने गरी थलिएपछि दशै लक्षित कार्यक्रम बनाएर फेरी ती सडककै मर्मतको काम थालिएको छ । सदरमुकाम देखि अमलाचौर, पैयुपाटा, भकुण्डे, तित्याङ, रायडाँडा र कालीमाटी तर्फ जाने सडक मर्मतमा उत्तिकै बजेट खर्च भैरहेको हो । ती सडकलाई न्युनतम ५० हजारदेखि २ लाख रुपैयाँसम्म खर्चेर मर्मतको काम गरिएको प्राविधिकले बताए ।
भएका सडक छाडेर हरेक बर्ष नयाँ ट्रयाक खोल्ने प्रवृत्तिले लाखौं खर्चेर पनि सडक मर्मत नहुने समस्या थपिएको उपभोक्ताले बताए । ‘भएको सडकमै थोरै लगानी गरेको भए बर्षाभरी सवारी चल्थे, नयाँ बाटोले झन् पहिरो थपेको छ’ तित्याङका चण्डीप्रसाद शर्माले भने, ‘बर्षातमा खसेका दर्जनौं पहिरोले किसानको खेती, खरवारी र रुखबिरुवा पनि सखाप भएका छन् ।’ हरेक बर्ष नयाँ उपभोक्ता समिति गठन गरेर सडक खन्ने प्रवृत्तिले विकासमा अवरोध आएको उनले टिप्पणी गरे ।
एकपटक खनेका सडकमा नाली काटेर नियमित मर्मत गर्न सकेमा ठूलो खर्च जोगिने प्राविधिकको अनुमान छ । ‘उपभोक्ता समिति गठन भएर आएपछि हरेक योजनालाई सम्झौता गरेर रकम दिने चलन हटाएर दिगो योजना बनाउनुपर्ने देखियो’ ईन्जिनियर त्रिलोचन गिरीले भने, ‘व्यवस्थित सडकका लागि बर्षमा दुइचार वटा ठूलो लगानीका सडक बनाएमा लगानी बगेर जाँदैन ।’ एक अध्ययन अनुसार जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकाले लगानी गरेका ५० करोड बढीका सडकहरु बर्षातमा बगेर गएका छन् । हरेक वडामा दर्जनौ सडक योजना बनाएर असार मसान्तमा खर्चने प्रवृत्ति छ । सडक डिभिजन कार्यालयबाट गरिएका लगानी पनि बिना योजना खर्च भएका छन् । अघिल्लो बर्ष भिडिजनले १३ वटा सडकमा लगानी गरेको थियो । त्यस्तै तत्कालिन जिविसको ड्रिलिप नामक परियोजनाले जिल्लाका ४ वटा सडक निर्माणमा करोडौं लगानी गरेको थियो ।
तर ती सडक पनि बर्षातमा सवारी गुड्नै नसक्ने गरी पहिरै पहिरो भएपछि उपभोक्ताले सास्ती खेपेका थिए । सदरमुकामदेखि सिगानाहुँदै गाजादज र बरेङ, कुश्मीसेरा राङखानी, रिजालचोक ताराखोला लगायतका लामो दुरी र लाखौं खर्च भएका सडक पनि बर्षातमा सवारी चल्न नसकेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड, सदरमुकाम लेखानी, बागलुङ कुश्मीसेरा र छिटफुट सडक मात्र बर्षातमा संचालन भएका थिए । ‘बर्षातमा नसकेपनि दशैंका लागि सडक खुलाउनु पर्छ भनेर केही मर्मतको काम गरेका छौं’ बागलुङ नगरपालिका ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘छिमेकी वडाको काम नभए टाढाका गाउँमा सवारी चलाउनै सास्ती भयो ।’ सदरमुकामदेखि तित्याङ, भकुण्डे लगायतका स्थानमा सडक मर्मत भएपछि मात्र रायडाँडामा सवारी संचालन गर्न सकिन्छ । ताराखोला तर्फको सडकमा सवारी चल्न नसकेपछि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर सवारी चलाएका थिए । त्यस्तै काठेखोला–१ पालाका वडा अध्यक्ष खड्ग थापाकै नेतृत्वमा सडक मर्मत गरेर सवारी चलाइएको हो । बर्षातमा खोला बढेकै कारण यातायातमा कठिनाई भएपछि बजार सेन्टरसम्म पुग्ने पर्यटकीय र ग्रामीण सडकलाइ नियमित बनाउन डिभिजनले पुल निर्माणको अभियान थालेको प्रमुख थानेश्वर खत्रीले बताए । ताराखोलाको साहुघाट, भकुण्डेको रिठेखोला, बुर्तिवाङको बडिगाढ खोला पुल, हटिया हरिचौर जोड्ने गौंदीखोला, कुश्मीसेरा दमेकको टिमुर खोला लगायतका पुल निर्माण थालिएको हो । ठेकेदारको लापरबाहीले अधिकांस पुल पनि अलपत्रै छन् ।