गुर्जा हिमाल आरोहीको शव देखियो, उठाउन सकिएन

५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले वताए।

म्याग्दी, २८ असोज – म्याग्दीको धौलागिरी गाउँपालिका -१ स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकको शव देखिए पनि ती शव उठाउन सकिएको छैन। दक्ष जनशक्ति र उपकरणको अभावमा शव ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिए ।
हेलिकोप्टरबाट बिहान हेर्दा ८ वटा शव देखिए पनि स्थानीय बासिन्दा घटनास्थलमै पुगेर हेर्दा ७ वटा मात्रै भेटिएको उनले बताए। प्रहरीका अनुसार खोंच र अप्ठेरो भीरमा रहेकाले उपकरणबिना शव उठाउन कठिन भएको छ। देखिएका शवमध्ये ४ वटा कोरियन र २ वटा नेपालीको भएको र एउटा चिन्न नसकिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।