यी हुन् सन्तान पढाएर मात्रै आफू पढ्ने आमाहरु

दाङ, २८ असोज – धेरैले आफूले पढ्नेरलेख्ने काम सकेर मात्रै सन्तानको शिक्षाको चिन्ता गर्छन्  । तर, घोराहीमा यस्ता गृहिणी छन्, जसले सन्तानलाई पढाएरमात्रै आफूले पढ्न थाले  । पढाइरलेखाइ, जागिर या व्यवसाय अनि विवाह र सन्तान । सामान्यतया जीवनको गति यस्तै हुन्छ तर यी महिलाको जीवनको गति उल्टो चल्यो । पहिले विवाह, सन्तान, उनीहरूको पालनपोषण, शिक्षादीक्षा, सन्तानको विवाह अनि मात्रै आफ्नो पढाइ । कतिले त छोराछोरीमात्रै होइन, नातिनातिनासमेत पढाएर आफूले पढ्न थाले । यो उनीहरूको रहरको जीवन भने होइन । अशिक्षामा बितेको बाल्यकालको क्षतिपूर्ति उनीहरूले जीवनको उत्तराद्र्धमा गर्दै छन् ।
घोराही १८, रझेनाकी ४६ वर्षीया बालिका पाण्डेले छोराछोरी पढाउने काम सकिन् । अहिले उनी कापी, किताब र झोला बोकेर दिनहुँ स्कुल जान्छिन् । उनलाई बाटोमा धेरैले अनौठो मानेर हेर्छन् तर उनी आफ्नै सुरमा हिँडिरहन्छिन् । बाल्यकालमा पढ्न नपाए पनि अक्षर सिक्न उनलाई उमेरले छेकेजस्तो लागेन । त्यसकारण गृहिणीका लागि खुलेको चेतना अनौपचारिक प्रौढ विद्यालयमा उनी भर्ना भइन् ।
उनले त्यहाँ आफूजस्ता ७८ गृहिणी महिला भेटिन् । बाल्यकालमा पढ्न नपाएका गृहिणीलाई मध्यनजर गरी ०६६ मा स्थापना भएको यो विद्यालय पाण्डेजस्ता प्रौढका लागि अक्षर सिक्ने उपयुक्त स्थान भएको छ । ११ बजे सुरु भएको विद्यालय ३ बजे बिदा हुन्छ । बिहान बालबालिका विद्यालय पठाउने र अपराह्न फर्कने समय पारेर ११–३ को समय मिलाइएको छ । गृहिणीहरू घरको काम भ्याएरै विद्यालय जान्छन् र काम गर्न फर्किहाल्छन् । बीचको समय बचत गरी उनीहरूले अक्षर सिकिरहेका छन् ।
पाण्डे सानोमा विद्यालय गइन् । घाँस काट्न छोडेर पढ्न गएको भन्दै आमाले पिट्दै घर फर्काइन् । त्यसपछि उनले कापीरकिताब छुन नै पाइनन् । विवाहपछि घर व्यवहारले च्याप्यो । अहिले छोराछोरी हुर्किएपछि उनले पढ्न सुरु गरेकी छन् । ‘छोराले पठाएको पैसा निकाल्न बैंकमा गएँ । भौचर भर्नुस् भने तर मैले केही लेख्न सकिनँ,’ उनले भनिन्, ‘नपढेको मान्छेको काम रहेनछ भनेर विद्यालय भर्ना भएँ । अहिले भौचर आफैं भर्न सक्छु ।’
पढाइले उनको जीवन धेरै सहज भएको छ । ‘बसमा यात्रा गर्दा गाडी नम्बर हेर्न सकिँदैनथ्यो । टिकट काट्दा पनि समस्या हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले गाउँघरमा समूहका बैठक बस्दा माइन्युट लेख्न सकिन्छ । हस्ताक्षर राम्रो गर्न सकिन्छ ।’ सानोमा छोरीले पढ्न हुँदैन भन्ने मान्यताका कारण विद्यालय जान नपाएको उनले बताइन् ।
बंगलाचुली गाउँपालिका हाँसिपुरकी २६ वर्षीया सावित्रा भुसालको १९ वर्षमै विवाह भयो । विवाह गरी घोराही झरेपछि गृहस्थीमै व्यस्त भइन् । छोरा विद्यालय जाने भएपछि उनी अलि फुर्सदिलो भइन् । छोरा अहिले १ कक्षामा पढिरहेका छन् । उनी छोराभन्दा १ कक्षाअगाडि छिन् । कक्षा २ मा पढ्छिन् । पहिलेपहिले छोराले केही सिकाइदिन भन्दा केही बोल्न नसक्ने भुसाल अहिले छोरालाई सिकाउन सक्ने भएकी छन् । ‘सुरुमा झोला बोकेर स्कुल जान साह्रै लाज लाग्यो । आमाछोरा सँगसँगै स्कुल जान तयारी गर्नुपर्छ,’ उनले भनिन्, ‘बिस्तारै सहज लाग्दै गयो । पढ्नरलेख्न नजानेका कारण गाउँ समाजमा धेरै मानिस बीचमा बस्न पनि डर लाग्थ्यो । अहिले त आत्मविश्वास बढेको छ ।’
हाँसिपुरमा स्कुल टाढा थियो । जंगलको बाटो जान कठिन भएकाले उनले पढ्न पाइनन् । अहिले शिक्षाको अभावमा व्यावहारिक जीवन नै कठिन भएपछि बल्ल उनी पढाइमा मिहिनेत गरेर लागिन् । १ कक्षामा उनी प्रथम भइन् । नतिजा राम्रो आएपछि उत्साह बढेको छ । उमेर अझै धेरै बाँकी भएकाले पढेर केही गर्न सकिने उनको चाहना छ ।
बंगलाचुली गाउँपालिका मुर्कट्टीकी २५ वर्षीया कमला रोका पनि घोराहीमै बसेर पढ्न थालेकी छन् । १ छोरा र १ छोरीलाई विद्यालय पठाएर उनी विद्यालय दौडिन्छिन्, दिनभर पढेर बेलुका फेरि नानीबाबु लिन फर्किन्छिन् । ‘आमा र हजुरआमा उमेरका साथीसँग पढदा निकै रमाइलो भइरहेको छ,’ उनले भनिन्, ‘किताबी कुरामात्रै भन्दा पाका साथीबाट जीवनका अनुभव र अनुभूति पनि सुन्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु ।’
सानोमा ६ भाइबहिनीको स्याहार गर्दैमा पढ्न नपाएकी रोका उमेर बढ्दै गएपछि निरक्षर भएकामा हीनताबोध गर्थिन् । ‘आफ्नो उमेरका साथी पढेको देखेर लाज लाग्थ्यो । उमेर धेरै भइसकेपछि साना बालबालिकासँग पढ्न पनि मनले मानेन,’ उनले भनिन्, ‘अहिले आफूजस्तै साथीहरूसँग पढ्न पाउँदा विद्यालय जान सजिलो भएको छ । हाम्रा आमा, हजुरआमा उमेरका महिला पनि पढ्ने भएकाले केही लाज लागेको छैन ।’
२ कक्षा पढिरहेकी रोकाले एक वर्षमै धेरै कुरा जानेको बताइन् । ‘कतै नयाँ ठाउँ जाँदा पनि बोर्डमा ठाउँको नाम लेखेको हुन्थ्यो । पढ्न नजानेर गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘पहिले छोराछोरीले कस्तो पढेका छन्, केही थाहा हुँदैनथ्यो । अहिले घरमा छोराछोरीको गृहकार्य हेर्न सकिन्छ ।’ विवाहपछि उनले केही न केही उद्यम गर्ने सोच बनाएर सिलाइकटाइ तालिम लिइन्, कपडा सिलाउने काम थालिन् तर पढाइ नभएर उनलाई काम गर्न गाह्रो भयो । ‘कपडाको नाप लेख्नुपर्ने, हिसाब गर्नुपर्ने, पढाइ नभएर व्यवसाय गर्न नै कठिन भयो,’ उनले भनिन्, ‘त्यसपछि व्यवसाय छोडेर पढ्न थालेँ ।’
पढ्न थालेपछि धेरै गृहिणीको दैनिकी फेरिएको छ । घोराही १५ की ३३ वर्षीया छमा पाण्डेका १ छोरा ९, अर्को ५ र छोरी ३ कक्षामा पढ्छन् । छोराछोरी विद्यालय पठाएपछि उनी आफ्नो पढाइमा लाग्छिन् । पतिको मोबाइल पसल छ । यसअघि कहिलकाहीं पति सामान लिन गएको बेला पसल हेर्न पनि आँट नआउने । अहिले उनी आफैं पसल चलाउन सक्ने भएकी छन् । ३ कक्षामा अध्ययनरत पाण्डे हिसाब गर्न र ग्राहकलाई मोबाइलबारे जानकारी दिन सक्छिन् ।
घोराही १८, रझेनाकी ७३ वर्षीया भावना अधिकारी कक्षा ६ मा पढिछन् । उनी बिहानै उठेर चण्डीपाठ गर्छिन् । परेका बेला मोबाइल चलाउँछिन् । फुर्सदमा कविता लेख्छिन् । १३ वर्षमै विवाह गरिन् । ५ छोराछोरीलाई हुकाइन् । उनीहरूको पढाइ पूरा भएपछि बल्ल अक्षर चिन्न थालेकी छन् । उनी अहिले आफ्नो जीवन, समाज र समसामयिक राजनीतिबारे कविता लेख्छिन् । उनी मौखिक रूपमा फरर कविता भन्न सक्छिन् । सबै कण्ठस्थ छ । कतिले मर्ने बेला किन पढ्न लागेको होला भनेर प्रश्न गर्छन् । उनी कविताबाटै जवाफ दिन्छिन्स्लेख्ने पढ्ने गरिरहन्छु आँखा देख्दासम्मलेख्ने पढ्ने गरेको हुँदैन नि अचम्मजान्छु पढ्न बोकेर झोलामनमा पीर नभाको होला र बाल्यकाल घाँसपात गरेरै बितेकामा उनलाई पश्चाताप छ । ‘पहिले आँखा देख्ने, कान सुन्ने बेला पढ्न पाइएन । अहिले पढ्ने बेला कान र आँखाले साथ दिन छोडे,’ उनले भनिन्, ‘उमेरमा पढ्न नपाएकामा दुस्ख लाग्छ । सानैदेखि पढ्ने रहर थियो तर कहिलै पूरा भएन । अहिले धोको पूरा भएको छ ।’ बाल्यकाल र अहिलेको जीवनलाई पनि उनले कवितामै सुनाइन्स् घाँसपात गरेर जोवन बित्यो आएन पढ्ने मतिलेख्छु, पढ्छु भनेर छँदैछ मनमा देख्दैन आँखा कति !
पढाइको महत्त्व बुझेर आएकाले सबै गृहिणीले निकै चासो दिएर पढिरहेको प्रधानाध्यापक सुमित्रा सुवेदीले बताइन् । विद्यालयमा ७ शिक्षिका छन् । सरकारले २ सहयोगी कार्यकर्तालाई मात्रै सहयोग गर्दै आएको र त्यही रकमबाट केही खर्च चलाएर सबैले स्वयंसेवी सेवा गरिरहेको सुवेदीले बताइन् । सुरुमा भाडाको घरमा कक्षा चलाउँदै आएकामा झाडा तिर्न नै कठिन भएपछि अहिले रझेना टोल विकास संस्थाको संरक्षणमा रहेको घोराही उपमहानगरपालिकाको ३ कट्ठामा भोगाधिकार लिएर स्कुल सञ्चालन भइरहेको छ । गृहिणीलाई शिक्षित बनाउने कामलाई सरकारले केही चासो नदिएकामा उनी दुस्खी छन् ।
यही स्कुलमा पढेका ७ जनाले एसईई उत्तीर्ण गरिसकेका छन् । अझै धेरैले ८ कक्षादेखि माथिको माग गरिरहेका छन् । अहिले ६ कक्षासम्म मात्रै पढाइ हुन्छ । ‘८र९ कक्षा पढेर छोडेका र टेस्ट पास महिला धेरै छन् । उनीहरूको पढ्ने चाहना छ तर नियमित विद्यालयमा बालबालिकासँगै भर्ना भएर पढ्न चाहँदैनन्,’ प्रधानाध्यापक सुवेदीले भनिन्, ‘प्रौढ विद्यालय नै उपयुक्त हुने भएकाले कक्षा बढाउनुपर्‍यो भनेका छन् ।’ कान्तिपुर