रारा यात्रा–१

गत वर्ष व्यस्तताका बाबजुद पनि केही भ्रमणहरु गर्ने अवसर आए । मंसीरमा कालीगण्डकी करिडोर हुँदै गुल्मीको रिडी–तम्घास–रेसुङ्गा–इन्द्रेगौडा–खरबाङ् हुँदै बागलुङ र फागुनको अन्तिम हप्ता कर्णाली लोकमार्ग हुँदै रारातालको यात्रा गर्ने अवसर प्राप्त भयो । मंसीरको यात्रा आफ्नै सेरोफेरोमा भएकाले खालै नौलो लागेन तर फागुनको यात्राले भने केही नयाँ अनूभूतिलाई सम्झनामा उनेर गयो ।
विद्यार्थीहरुले पन्ध्र बिस दिन पहिला नै रारा ताल टुर जाने सूचना दिएका थिए तर पहिलो स्कुलको आंशिक शिक्षक र दोस्रो घरायसी कारणले गर्दा म जान नसक्ने बताएको थिएँ । तर मनको अन्तरमा रारा ताल जानुपाए हुन्थ्यो भन्ने थियो । त्यस्तैमा अचानक मित्र यामजीले यात्राको अघिल्लो दिन साँझ जाऊ न त भनेपछि म घर सल्लाहतिर लागें । घरकी बुझ्क्की मिनाले पनि सजिलै अनुमति दिए पछि मेरो जाने निधो भयो । मन लोभायो, रारा ताल हेर्ने इच्छाले ! अपर्झटको योजना बमोजिम अर्को दिन पैसाको जोहो गरिवरि चार बजेतिर बागलुङ्बाट यात्रा सुरु भयो । ४२ जना विद्यार्थी, मित्र याम, भरत अनि म गरेर ४५ जनाको यात्राका गाडीका सारथी श्याम अनि सहयोगी कुमार थिए । बागुलुङ, पर्वत, कास्की, स्याङ्जा, पाल्पा, बुटबल, कपिलवस्तु हुँदै दाङ्को भालुवाङ्मा बिहानको पाँच बज्दा गुरुले गाडी रोके, निद्राले थकित भएर । एक घन्टा त्यहाँ आराम गरेर हामी अगाडि बढ्यौँ, अघिल्लो दिनदेखि सुरु भएको हाम्रो यात्रा सुर्खेत हुँदै दैलेखको तल्लो डुङ्गेश्वर पुगेर भोलिपल्ट साँझ मात्रै रोकियो । सुर्खेतमा मत विभाजित भयो । म २४ घन्टासम्म गाडी चलाएको चालकलाई पुनः गाडी चलाउन दबाब दिने पक्षमा थिइन तर यामले गाडी चलाउन चालकलाई दबाब दिए । मैले गर्दा गाडी चलाउन चालक तयार नभएको जस्तो गरेर पछि उनले मसँग वादविवाद पनि गरे । बसमा एकछिन हामी दुईका बीचमा यही विषयमा अलिअलि विवाद पनि भयो । यामकै कारण सुर्खेतबाट माथि दैलेख निस्केर हामी तल्लो डुङ्गेश्वर झ¥यौँ । त्यहाँ पुग्दा हाम्रा गुरुजीले ३० घन्टाभन्दा बढी गाडी चलाइसकेका थिए । सकुशल त्यहाँ पु¥याएकामा म मनमनै गुरुप्रति कृतज्ञ थिएँ ।
कोहलपुरबाट मेरा लागि यात्रा नौलो थियो । मैले गाडीमा ब्यानर टाँगेर हिड्नुको मज्जा लिदै थिएँ, जीवनमै दोस्रोपटक । हुनतः मैले मेरै अगुवाइमा धेरै पटक विद्यार्थी जीवनमा यसरी ब्यानर टाँगेर यात्रा गरेको थिएँ तर शिक्षणमा लागेपछि भने यो दोस्रोपटक थियो । गाडी रिजर्भ गरेर ब्यानर टाँगेर हिड्नुको शाननै छुट्टै हुन्छ । ब्यानरमा जाने स्थान र यात्रा मिति समेत उल्लेख गरिएको भए अझै सुनमा सुगन्ध हुने थियो । ब्यानरमा छुच्चोपन झल्किन्थ्यो । विद्यामन्दिरजस्तो स्कुललाई त्यति छुच्चाई देखाउनुपर्ने कुनै आवश्यकता थिएन । फेरि अर्कोपटकका लागि त्यही पुरानो ब्यानर प्रयोग गर्नैपर्ने बाध्यता थिएन । मानसिकता र व्यवाहरमा छुचोपन हुँदा र संस्थागत विद्यालयहरुको नचाहिने सिको गर्दा ब्यानरमा छुच्याँइ झल्कियो । ब्यानरको विषयलाई लिएर मैले धौलागिरी चोकमा हिड्ने बेला प्रधानाध्यापकसँग पनि असहमति जनाएको थिएँ । यात्राभर ब्यानर प्रवृतिलाई चिर्न मलाई २० हजार दाउमा लगाइरहनु प¥यो !

पहिलो रात बास बस्ने ठाउँ हाम्रा लागि अपरिचित थियो । त्यही हाम्रा विद्यार्थीहरु ‘कम्प्रमाइज’ गर्न विवश थिए । त्यसदिनको परिस्थितिले छात्राहरुलाई बढी सम्झौता गर्न बाध्य तुल्याइदिएको थियो । स्वागत होटल राम्रो र सफा भए पनि स्टाफ होटल भने बस्न लायक थिएन । स्वागत होटलमा छात्रहरु अट्दथे भने स्टाफ होटलमा छात्राहरु । त्यहाँ भनेजस्ता सुत्ने बेड बिस्तारा थिएनन्, कोठा आफैमा भनेजस्ता थिएनन्, पानी चुहेजस्तो थियो । उडुस उपियाँहरुको अनुकूल जस्ता कोठाहरु थिए । कोठाभित्रै ट्वाइलेटको दुर्गन्ध व्याप्त थियो तापनि छात्राहरु सहजै त्यस्ता कोठामा बस्न राजी भई हाम्रा अनुहारमा चमक ल्याइदिए । हामी पनि छात्राहरु बसेकै त्यही होटलमा बस्यौँ । यस्ता सम्झौताहरु हाम्रा विद्यार्थीहरुले यात्राभर अनगिन्ती गरे । छात्रहरुले भने तुलनात्मक रुपमा त्यसदिन अलिक राम्रो अवसर पाएका थिए । हुनतः यस्ता कुराहरु नै सिकाइका अवसर पनि हुन् ।
तेस्रो दिनको यात्राका लागि हाम्रो गाडी बिहानै अघि बढ्यो । तर डुङ्गेश्वरबाट अलिक पर पुग्दा बाटो ढलान गर्न लागेको रहेछ, जुन ठाउँबाट हाम्रो गाडी अगाडि छिर्न सकेन । तसर्थ गाडी फर्काउनुको विकल्प रहेन अनि अर्को गाडीको खोजी गर्नुपर्ने अवस्था आइलाग्यो । जुम्लाबाट सुर्खेत हिडेको गाडीलाई असी हजारमा रिजर्भ गरेर हामी पुनः डुङ्गेश्वर आई पुनः गन्तव्यतिर फर्कियौँ । स्कुलको आंशिक शिक्षक भएकाले कुनै जिम्मेवारी नलिइकन हिडेको मैले अघिल्लो दिन साँझदेखि स्वयं जिम्मेवारी ग्रहण गर्नुपरेको थियो । यदि सहजीकरण नगरेको भए हामीले बाटोमा अर्को गाडी भेट्ने थिएनौं । त्यो गाडीमा पनि हिसाबकिताब मिलेको थिएन । पचहत्तर र असीको गलफत्ती थियो पछि मैले असीमै टुङ्ग्यादिएँ । त्यहाँबाट डुङ्गेश्वर फर्कदा यहाँबाट लगेको गाडीका स्टाफसँग हो कि यदि भाडा महंगो भए २० हजार म हालिदिन्छु भनेर दाउ थाप्नुप¥यो । त्यसपछि हामीले बागलुङ्बाट लिएर गएका गाडीका सारथी र सहयोगी पनि हाम्रा सहयात्री बनेका थिए । अब हामी यात्री ४७ पुगेका थियौं भने सारथी नवीन, साहु दे्रवेन्द्र र सहयोगी गरेर ५० जना थियौँ । अनि रमाइलो सुरु भयो । पहिला श्यामजी विद्यार्थीहरुसँग तास खेलेर रमाइरहेका थिएँ, पछि भने उनी हामीसँग क्याबिनमा आइपुगे, एकछिन नयाँ गाडी चलाए पछि । मुगु जाने गाडीका साहुले उनलाई विश्वास गरेनन्, शायद, त्यसकारण श्यामलाई धेरैबेर गाडी चलाउन दिएनन् । श्याम पनि नयाँ स्टेरिङसँग परिचित थिएनन् । पछि नवीनले हामीसँग त्यो कुरा गरेका थिए । क्याम्बिनमा आइपुग्दा नपुग्दै विज्ञानका सरहरुलाई उनले एउटा प्रश्न तेस्र्याइहाले, पानीसँग सम्बन्धित । पहाडको पानी शुद्ध नै हुन्छ तसर्थ तराईमा तातेका मिनिरल वाटर किन्नुपर्दैन भन्ने सरहरुको तर्क थियो तर उनको तर्क थियो, पहाडको पानी शुद्ध हुने भए जाजरकोटमा झाडापखालाले किन मानिस मरे ? उनको खास असन्तुष्टि चाहि सुर्खेतमा खाना खाँदा विद्यार्थीहरुलाई बाहिरको पानी ख्वाएर शिक्षक स्टाफले मिनिरल वाटर खाएकामा पनि थियो । तर जेहोस् उनको तर्क जायज नै थियो । त्यसभन्दा अगाडि दैलेखको रातानाङ्लाबाट ओरालो झर्दा अघिल्लो दिन मैले साइन्सका सरहरुलाई एउटा प्रश्न तेस्र्याइसकेको थिएँ– किन पीपलको विरुवा ढुंगाको कापमा तथा रुखको प्वालमा मात्रै उम्रन्छ ? भुँइमा किन उम्रदैन ? अनुसन्धानका लागि हिडेका विज्ञानका साथीहरुको जवाफले चित्त नबुझेपछि हामीहरु साइन्टिस्ट र साइन्.ि.समा बाँडिएका थियौँ ।
तेस्रो दिनको यात्रामा मध्यपहाडीको लोकमार्गमा पर्ने कर्णालीपुल भेटिदा मलाई परिचित ठाउँको यात्रा गरेजस्तो लाग्यो । मध्यपहाडी लोकमार्गसँग हामी परिचित नै थियौँ । अब राराताल जान सुर्खेत घुम्न नपर्ने दिन आएछन् भन्ने लाग्यो । त्यसपछि भने कालिकोटको भीरको यात्रा सुरु भयो तारे भीर आफैमा एकदम डरलाग्दो ! चट्टानको बीचबाट काटेर बनाइएको साँगुरो बाटो तथा घुम्तीहरुमा पनि करिब करिब पैत्तालिस पचासकै जस्तो स्पिडमा गाडी दौडाउँथे नयाँ सारथी नवीनले । ड्राइभर आफै भन्थे यो भीरमा गाडी आएको देखिदैन र साइड दिनुप¥यो भने निकै अघिपछि गर्नुपर्छ । अनि बेलाबेला उनले दुर्घटनाका कहालीलाग्दा घटनाहरु पनि सुनाउँथे । तिनवटा नयाँ ट्रक र त्यसका चालकको इहलीला समाप्तिकोे कथा सुनाए उनले । यहाँबाट खस्यौं भने सिधै खोलामा हो कोही पनि बाँच्दैनौं भन्थे । आजसम्म यो मार्गमा गाडी दुर्घटनामा परेर कोही पनि नबाँचेको उनको भनाइ थियो । नपत्याए हेर्नुस भन्दै भीर र खोला देखाउँथे । भीरकै टुप्पोमा कालिकोटको सदरमुकाम रहेछ । कालिकोट सदरमुकामबाट मान्छे खसेका कथा पनि उनै सारथीले सुनाए हामीलाई । लाग्यो, भूगोलले सबैभन्दा बढी कालिकोटलाई नै ठगेको रहेछ । त्यसको तुलनामा न त दैलेख, जुम्ला र मुगुलाई नै ठगेको रहेछ । भीरभीरमा गाडीका अवशेषहरु देखिन्थे । भीरबाट खसेका गाडी झिक्न असंभव नै रहेछ । पिच बाटोका घुम्टीहरु पनि ब्याक गरेर कटाउनुपथ्र्यो । कालिकोट पुग्ने अंग्रेजी भाषाको एस अक्षरको घुम्टी आफैमा चर्चित रहेछ । अत्तालिएर मोटरसाइकल खसेका कुरा पनि उनैले सुनाए । कतै ढुंगाको बीचमा बाटो छिर्दो रहेछ कतै मुनिबाट गाडी हिड्दो रहेछ । कहालीलाग्दो भीरमा सासै रोकेरै हामी नाग्मा बजारमा बास बस्न पुग्यौ । फर्कदा कालिकोट सदरमुकामभन्दा सात किलोमिटर पर आउँदा हामी चढेका गाडीका पछाडिका तीन चक्का पन्चर भए । दुई पहिल्यै फुटिसकेका रहेछन्, थप एक त्यहाँ आएर पड्किए तापनि गाडी भने सजिलै रोकियो है । अझ रमाइलो कुरा त गाडीको पट्टा त पहिल्यै भाँचिइसकेको रहेछ । गाडीको लोड कम गर्न हामी केही हिडेरै कालिकोट सदरमुकाम खाँडाचक्र नगरपालिका मान्मा आयौँ । पछि गाडीले मान्मा आएर दुवै चक्काहरु बनायो तर कर्णालीको भीर भने हामीले पट्टा भाँचिएकै गाडीमै पूरा ग¥यौं । त्यो गाडीको पट्टा त हामीले रिजर्व गर्दा भाँचिएको मेरो अनुमान छ । यति हुँदै गर्दा मेरो मनले एकातिर धेरै वर्ष पहिला कतै पत्रिकामा पढेको ‘कर्णाली राजमार्ग ः मृत्युमार्ग’ भन्ने समाचार शीर्षक सम्झिरहेको थियोभने अर्कोतिर संसारकै खतरनाक बाटाहरुमध्ये कर्णाली मार्गलाई पनि समावेश गर्न सक्यौं भने पर्यटकीय आकर्षण बढाउन सकिने कुरा पनि सोच्थ्यो ।
बागलुङबाटै एक जुम्ली हाम्रै गाडीमा सुर्खेतसम्म हिडेका थिए । उनलाई मैले सुरुमै सोधेको थिएँ–‘सिंजा हामी जाने बाटोमा पर्छ कि पर्दैन ?’ उनले बाटोमै पर्ने बताउँदा म थप उत्साहित थिएँ । मैले केही वर्षदेखि क्याम्पसमा नेपाली भाषाको उत्पत्ति स्थल सिंजा हामी जानुपर्छ भन्ने कुरा उठाउँदै आएको थियो तर खास योजना बन्न सकेको थिएन । तर यसपालि सिंजा जान पाइने भयो भन्ने कुराले म थप उत्साहित थिएँ । नभन्दै नाग्माबाट हिडेर खाना खानका लागि सिंजास्थित गोठीज्यूला बजारमा रोकियौं । अर्को संयोग के प¥यो भने हामी जाने बाटो अवरुद्ध भएको रहेछ । त्यसकारण हामीलाई समय पनि अलिक धेरै प्राप्त भयो । त्यसदिन अन्तराष्ट्रिय नारी दिवस रहेछ । गोठीज्यूला बजारको कनका सुन्दरी माविमा जाँदै गर्दा बाटोमा थुप्रै महिलाहरुले ढुंगा बोकेर बाटो बनाउँदै गरेको भेट्यौं । उनीहरुसँग एकछिन भलाकुसारी ग¥यौँ, भुस्साहा खाँदै गरेकी एक महिलासँग मागेर हामीलाई देखेर लुकाएको भुस्साहाको एक सर्को मैले पनि ताने । एक ठाममा पानीघट्ट पनि हे¥यौं । पछि ती महिलाहरुले नै ठूलो ढुंगा फोरेर हाम्रा अवरुद्ध बाटो तीन चार घन्टापछि खुलाएका थिए । त्यसरी काम गरेका नारीहरुलाई नारी दिवस थाहा थियो कि थिएन कुन्नि ? त्यो बीचमा हामी कनका सुन्दरी मावि सिंजाका सरहरुसँग भेटघाट ग¥यौँ । स्कुलको प्रांगणमा देयार (शायद देवदार)को अंजगको बोट देख्यौं । सरहरुले त्यो रुखको व्याख्या गर्दै भन्नुभयो, ‘हजार वर्ष बडा, हजार वर्ष खडा, हजार वर्ष पडा ।’ साहित्यले विज्ञानका अगाडि देयारको रुखका बारेमा अनुसन्धान गर्ने अर्को प्रश्न तेर्साएको थियो, त्यहाँ । सिंजा भएको ठाउँलाई कनका सुन्दरी गाउँपालिका बनाइएको रहेछ । हामीले वडाध्यक्षसँग पनि प्रश्न ग¥यौं किन सिंजा जस्तो प्रख्यात नाम नराखेर तपाईंहरु कनका सुन्दरी राख्नुभयो ? तर हाल सिंजा थपिएकोले कनका सुन्दरी सिंजा नाम नगर सभाले पास गरेर पठाएको उनको राजनीतिक जवाफ थियो तर आम जनताको असन्तुष्टि भने चर्कै भएको बुझिन्थ्यो भने शायद सिंजा नाउँ अर्को गाउँपालिकाले राखेको जस्तो कुरा पनि सुनियो । यसमा प्रष्ट हुन सकिएन । स्कुलमा जाँदै गर्दा छक्कबहादुर हमाल भन्ने एक समाजसेवीसँग भेट भयो । उनले सिंजाको बारेमा एउटा मिथक सुनाए । जालन्धरलाई भगवान् शिवले शक्ति दिएका थिए, त्यही शक्तिलाई प्रयोग गरेर जालन्धरले बाइस राज्य जितेको रे । त्यसकारण शिवको श र जालन्धरको जा झिकेर दुवैको प्रतिनिधित्वका रुपमा सिंजा भन्ने नाम रह्यो रे । यो श्रीस्वस्थानी व्रतकथामा पाइने शिव र जालन्धरको बीचको शत्रुता विपरीतको कथा थियो । अर्को कुरा कर्णालीमा पुरुषहरु भने कमै देखिए ।