नयाँ नोटको भ्रम

नेपालीले महान् पर्वको रुपमा मनाउँदै आएको विजयादशमी तथा शुभ दिपावली नजिकिँदै गर्दा बागलुङ बजारमा दशैंका लागि आवश्यक बस्तु तथा सेवाको बिषयमा चर्चा चल्न थालेका छन् । गत बर्षभन्दा निकै महंगो मुल्यमा आएका खसीबोका, सरोकारवालाका कारण बजारमा बढेको मनोमानी र ह्वात्तै बढेको बजार मुल्य, दशैंका लागि आवश्यक नयाँ नोट लगायतका बिषयमा चोक–चोकमा चर्चा सुरु भएको छ । नेपालीले दशैंलाई महान् पर्वका रुपमा मनाउने भएका कारण यो पर्वको बेला हरेक कुरामा सहजताको आशा राखेका हुन्छन् । सरकारीदेखी निजी क्षेत्रमा काम गर्नेहरुले दशैंका बेला पाउने सुविधा र बिदाका कारण यो समयमा घुमफिर, खानपान र मनोरञ्जनमा अलिक धेरै समय बित्ने भएका कारण दशैंको समयमा धेरैको आशा बस्तु तथा सेवाको सहजतामा रहेको हुन्छ । यो बर्षको दशैंमा बागलुङ बजार र आसपासका क्षेत्रमा कयौ बस्तु तथा सेवामा सहजता देखा परेन् ।
एकातर्फ ढिलो गरी बजार भित्रिएका खसीबोका तथा राँगाको महंगो मुल्यका कारण स्थानीय त्रसित बनेका छन् भने अर्कोतर्फ नवदुर्गा सुरु भैसक्ने बेलासम्म खाद्य बस्तुको बिषयमा बजारमा रहेको मुल्य अन्यौलताका कारण सर्वसाधारणमा नैराश्यता प्रदान गरेको छ । दशैंको समयमा दान–दक्षिणाको काम धेरै हुनु र प्रायः दशैंमा नयाँ नोट प्रयोग गर्नुपर्ने भ्रम हाम्रो समाजमा बिद्धमान रहेको छ । नागरिकमा रहेको नयाँ नोटको भुतलाई सम्बोधन गर्नकै लागि राज्यले प्रत्येक बर्ष नयाँ नोट निस्काशन गर्ने गरेको छ । यसबर्ष पनि प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म पुग्नेगरी नयाँ नोटको प्रबन्ध गरेको नेपाल राष्ट्र बैंकले बताएको भएपनि बजारमा भने त्यो खालको वातावरण देख्न पाईएन् । नेपाल बैंकले बागलुङ बजार र गाउँका आफ्ना शाखाबाट सर्वसाधारणको लागि दशैंमा नयाँ नोट बाँडिरहेको छ । तर बागलुङमा रहेका बैंकका तीन वटा शाखा र पर्वत शाखाको समेत मुख्य शाखाको रुपमा रहेको बागलुङ शाखामा नै मागेजति नोट नआएका कारण सर्वसाधारणले पनि मागेको जति नयाँ नोट पाउन सकेका छैनन् ।
सरकारले प्रतिव्यक्ति २७ हजार बरावरका नयाँ नोट दिने घोषणा गरेर सोही अनुसारको तयारी भएको बतायो तर तल्लो तहमा बैंकहरुले नयाँ नोट बाँड्ने बेलामा भने १३ हजार मात्रै उपलव्ध गराए । राष्ट्र बैंकले घोषणा गरेकोभन्दा आधा पनि नयाँ नोट सर्वसाधारणको लागि उपलव्ध गराउन नसक्नु राज्यले गरेको घोषाणा र राष्ट्र बैंकले गरेको तयारीको बर्खिलाप सिवाय केही हुन सक्दैन् । पर्वका बेला राज्य जिम्मेबार भएर हरेक कुरामा सर्वसाधारणलाई सहजता प्रदान गर्नुपर्छ । तर उपभोग्य बस्तु तथा सेवामा त कुनै परिवर्तन गर्न सकिएन सर्वसाधारणसँग रहेका पुराना नोट साटेर नयाँ नोट दिन समेत नसक्नु भनेको लाजमर्दो कुरा हो । दशैंमा सर्वसाधारणलाई नोटको सहज बनाउनका लागि स्थानिय स्तरमा सञ्चालनमा रहेका बैंकहरु, सरकारको मातहतमा रहेका बैंकले पनि राष्ट्र बैंकसँग सहकार्य गरेर सर्वसाधारणको हित अनुकुल नयाँ नोट उपलव्ध गराउनु अहिलेको आवश्यकता हो । आम सर्वसाधारणलाई सहज दशैं मनाउने वातावरण बनाउँ ।