भौगोलिक बनावटले कठिन तमानखोलामा पदमार्ग

बागलुङ, २८ असोज — जिल्लाको सबैभन्दा कठिन भूगोलमा रहेको तमानखोला गाउँपालिकामा पर्यटक भित्राउन पदमार्ग निर्माण अभियान शुरु भएको छ । ट्रेकिङ एजेन्सी एसोसिएन (टान)ले नेपाल पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्गको रुट समेत तय गरेको हो । गाउँपालिकालाई फेरो पार्ने गरी तय गरिएको झण्डै ४० किमी लामो पदमार्ग ४ देखि ५ दिनका लागि यात्रा गर्ने गरी बनाइएको हो । मध्यपहाडी लोकमार्गमार्फत बुर्तिवाङ पुगेपछि पदमार्गको क्रम शुरु हुनेछ । ‘भूगोलले कठिन क्षेत्रमा जोखिम मोलेर गाडी चढाउनु भन्दा मरोरम दृश्य देखाउँदै घुमाउने योजना बनाएका हौं’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘यो अभियानले सयौं पर्यटक भित्राउने र आर्थिक समृद्धिको खोजी गर्न सहयोग पुग्नेछ ।’ पदमार्ग संचालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उनले बताए । पदमार्गमा दर्जनौं होटल खुलाउन सकिने स्थान छन् । लेकाली मार्ग भएकोले हरेक स्थानमा आर्कषक रेष्टुरेन्ट र भ्यू टावरहरु निर्माण गर्न सकिने संभावना छ । स्थानीय बासिन्दाले पर्यटन, कृषि, पशुपालन लगायतका व्यवसाय संचालन गर्न यो मार्गले सहयोग पुग्ने आस गरेका छन् । ‘पदमार्ग संचालनमा आउनासाथ हामीले होटल व्यवसाय संचालन गर्न सकिने देखेको छु’ खुंखानीका कुलबहादुर छन्त्यालले भने, ‘हिमाल देखिने स्थानमा पर्यटकलाई बस्न मिल्ने ठाउँ चाहिएकोले होटल खोल्न सकिन्छ ।

’ यो मार्गबाट बुर्तिवाङदेखि बराहताल, गुर्जाघाट, नर्जाखानी, नौजले, दुर्जेलेकहुँदै सोलेडाँडा पुग्न सकिन्छ । यहाँका दर्जन बढी स्थानबाट हिमालको ऋखला देख्न सकिने, बास बस्ने गरी होटल खोल्न सकिने र कृषि तथा पशुपालन गर्न सकिने स्थान रहेको बुढाले बताए । गाउँपालिकाले कृषि लगायत गाउँमा रमाउने कामका लागि अनुदान दिने, प्रोत्साहनका लागि बीउ, मल लगायत उपलब्ध गराउने काममा अगुवाई गर्ने समेत कार्यक्रम राखेको छ । पदमार्गको संचालन गर्दै डिपिआर बनाएर व्यवस्थित बनाउन परामर्शदाताको पनि खोजी गरेको उनले बताए । पदमार्गको सबैभन्दा आर्कषणको केन्द्र सोलेडाँडा बन्ने भएको छ । २ हजार ६ सय मीटर अग्लो सोलेडाँडा म्याग्दी र बागलुङको सिमाना पनि हो । यहाँ धेरै प्रजातीका लालीगुराँस फुल्छन् । त्यस्तै म्याग्दीको दरबाङ ओखरबोटहुँदै तमान आउने सडक पनि बनेको छ । चर्चित गायक खड्ग गर्बुजाको गीतमा उल्लेख भएको सोलेडाँडा पर्यटकीय महत्वको छ । सडकले खाद्यान्न ढुवानीमा सहज भएको तमानकी भगवती बुढाले बताईन् । ‘बुर्तिवाङदेखि देउरालीहुँदै तमान पुग्ने सडक पनि बनेकोले अब यातायातमा पनि सहज हुने संभावना छ’ उनले भनिन्, ‘गाउँपालिकाले पनि भौतिक विकास र पर्यटनलाई चासो दिएको छ ।’ गाउँपालिका अध्यक्षले युवालाई गाउँमा रमाउने कार्यक्रम ल्याएको उनले बताईन् । टानको प्रतिनिधि मण्डलले यो पदमार्गमा एकसाता लामो भ्रमण गरिसकेको छ । उनीहरुले परम्परागत बाटोलाई सिंढी लगाउने, केही स्थानमा तारबार लगाउने र बस्ने चौतारी संरक्षण, होटल तथा रेष्टुरेष्ट बनाएर पदमार्ग संचालन गर्न सकिने सुझाव पनि दिएका छन् । ‘यो आर्कषक गन्तव्य भएकोले प्रचार गरेपछि संचालनमा आउँछ’ भ्रमण टोलीकी सदस्य सुबिना मानन्धरले भनिन्, ‘संभावना र पूर्वाधारलाई व्यवस्थापनको मात्र खाँचो छ ।’ यो पदमार्गमा ढोरपाटन शिकार आरक्षण पनि पर्ने भएकोले धेरैको रोजाईको केन्द्र बन्ने समेत उनले बताईन् । गाउँपालिकाले केही छरिएका बस्तीलाई एकीकृत गर्ने योजना समेत बनाएको छ । ‘झण्डै ४ सय घरलाई एकै ठाउँमा ल्याउन सकेमा खानेपानी, विद्युत, यातायात, शिक्षा, स्वास्थ्य लगायतका काम एकै स्थानमा पु¥याउन सकिन्छ’ बुढाले भने, ‘पदमार्ग र गाउँ पर्यटनमा समेत यो बस्तीलाई जोडिने छ ।’ परम्परागत संस्कृतिको संरक्षण र प्रचारका लागि यहाँका छन्त्याल, बुढा र दलीत बस्तीलाई जागरुक बनाइने उनले बताए ।