गुर्जा हिमालमा ज्यान गुमाएकाको शव आफन्तलाई जिम्मा

‘नेपालीको शव परीक्षणपछि आफन्त र विदेशीको सम्बन्धित देशको राजदूतावासको जिम्मा लगाउने जानकारी’

गुर्जा हिमालको आधार शिविरबाट हिमआँधीमा परेर मारिएका आठ जनाको शव लिएर आएको हेलिकप्टर पोखरा विमानस्थलमा अवतरण गर्ने तयारीमा ।
म्याग्दी, २८ असोज – जिल्लाको गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएकाको शव आइतबार संकलन गरी काठमाडौ लगिएको छ। सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोचबाट निकालेका शव हेलिकोप्टरमार्फत् पोखरा हुँदै काठमाडौं  लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धवलागिरी गाउँपालिका १ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्यालको शव हेलिकोप्टरबाट बेनी ल्याएर परीक्षण गरी पुन हेलिकोप्टरबाटै गुर्जा पुर्‍याएर आफन्तलाई जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।
बुढाका अनुसार संखुवासभाका तीन र दक्षिण कोरियाका पाँच जनाको शव पोखरामा संकलन गरी परीक्षणका लागि काठमाडौं पुर्‍याइएको छ। ‘नेपालीको शव परीक्षणपछि आफन्त र विदेशीको सम्बन्धित देशको राजदूतावासको जिम्मा लगाउने जानकारी आएको छ’ प्रनाउ बुढाले भने।
असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरीयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको थियो।  सँगै धवलागिरी गाउँपालिका १ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, संखुवासभाको हटियाका ३९ वर्षीय छिरीङ भोटे, संखुवासभाकै भोटेखोला गाउँपालिका ३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बु घर बताउने फुर्बा भोटेको मृत्यु भएको थियो।
जिल्ला सदरमुकाम बेनीदेखि मुनासम्म ४ घण्टा गाडी र त्यहाँबाट नौ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जादेखि थप ५ घण्टा हिँडेपछि गुर्जा हिमालको आधार शिविर पुग्न सकिन्छ। भौगोलिक विकटताका कारण हिमआँधी आएको तीन दिनपछि हिमाल आरोही दुर्घटनामा परेको जानकारी आएको थियो।