वामदेव, रामवीर र नेपाली मनोविज्ञान

जुन कुरा कमिटीभन्दा बाहिर नपुग्नुपर्ने हो, गलत मानसिकताका साथ फास्ट ट्र्याकबाट सामाजिक सञ्जालमा पुग्यो ।

२०७४ मंसिरको निर्वाचनबाट वामदेव गौतमको प्राविधिक पराजयपछि विभिन्न प्रतिक्रिया आए । धेरैले वामदेवको पराजयप्रति दुःख र चिन्ता प्रकट गरे । केहीले खुसियाली पनि मनाए । पराजित भइसकेपछि गौतमले अर्को निर्वाचनको पर्खाइ गर्नु उत्तम हुन्थ्यो । तर, पार्टी र पार्टीका कार्यकर्ताले आवश्यकता महसुस गरेपछि उनी पनि इच्छुक भएको देखिन्छ । गौतमलाई कुनै उपयुक्त परिस्थिति आए प्रतिनिधिसभा सदस्य निर्वाचित गराउने पार्टीका शीर्षस्थ नेताहरूको पनि सल्लाह भएको चर्चामा आउने गर्दथ्यो । यसैक्रममा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा यसबारे धेरै चर्चा पनि भए । पछिल्लो चरणमा २२ असोज २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठकमा काठमाडौं–७ का सांसद रामवीर मानन्धरको राजीनामा पेस भयो, वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा लैजानका लागि ।

तर, केन्द्रीय सचिवालयमा व्यवस्थित छलफल हुन नपाउँदै एकाएक सामाजिक सञ्जालहरू र सञ्चारमाध्यमहरू आए । यो घटनाले पार्टीको विधि र प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरेको छ । यो घटनामा कुनै अमूक नेता जब पार्टी वा राज्यको सत्तामा पुग्छ, उसैको चाकडी गर्ने र आफ्नो निहीत स्वार्थ पूरा गर्ने पात्रको भूमिका देखिन्छ । नेताकै कृपाले विभिन्न राजनीतिक नियुक्तिहरू हात पार्ने, पार्टीको केन्द्रीय तहमा पुग्ने र जब आफूले चाकडी गरेको नेता कमजोर हुन्छ, त्यसलाई लात हान्दै, विभिन्न सार्वजनिक माध्यमहरूबाट मानमर्दन गर्दै अर्को शक्तिकेन्द्र प्रवेश गर्ने र आफूभन्दा तल्ला कमिटीलाई आफ्नो कारिन्दाका रूपमा कजाउने र आदेश गर्ने संस्कृतिको अभ्यासको विकास भइरहेको छ, जुन कम्युनिस्ट पार्टीका लागि दुखद पक्ष हो ।

पार्टीमा थुप्रै नेता–कार्यकर्ताले स्वयंसेवीका रूपमा योगदान गर्दै सारा जीवन दिए पनि व्यक्तिगत लाभ प्राप्त नगरेका कमरेडहरू हजारांैको संख्यामा छन् । तर, केही यस्ता पात्र छन्, जसले पार्टी सम्पर्कमा आएपछि पार्टी सदस्यहरूले तिरेको शुल्कबाट पारिश्रमिक लिने, पार्टीको कोष र सिफारिसमा देशविदेशहरूको भ्रमणको अवसर लिने तर त्यहाँको सबल संस्कृति र समृद्धि सिकाउनुको सट्टा भद्दा शैलीमा आफ्नो व्यक्तिगत विवरण भर्ने र पार्टी तथा समाजमा भाँडभैलो गराउने काम गरिरहेका छन् । यस्तो संस्कार र शैलीले कम्युनिस्ट पार्टीलाई सबल र समृद्ध बनाउने कल्पना पनि गर्न सकिँदैन ।
रामवीर मानन्धर एक कुशल संगठकका रूपमा परिचित नाम हो । उनी २०४९ र २०५४ सालमा वडाध्यक्ष, २०७० र २०७४ सालमा काठमाडौं–७ बाट निर्वाचित विधायक हुन् । रामवीरको सपना आफ्नो क्षेत्रको भौतिक पूर्वाधारको हिसाबले सम्पन्न गर्ने हो । तर, यस विषयमा मानन्धरले तीतो अनुभव सुनाएका थिए । उनको भनाइअनुसार नेपाली राजनीतिमा विकास पहुँचवाला नेताको हातमा भएकाले मैले धेरै प्रयास गर्दा पनि विकासे बजेट लान सकेको छैन । जनताले जिताएर पठाए पनि मन्त्रालय, विभागलगायतमा भीख मागेजस्तो गर्नुपर्दछ । आफू पार्टीको तल्लो कमिटीमा रहेकाले केही सुनुवाइ नै हँुदैन । सांसद मानन्धरले सफा आशयका साथ पार्टीमा राजीनामा बुझाएको कुरा विभिन्न सञ्चारमाध्यममा प्रस्ट पारेका छन् । तर, स्वार्थी व्यक्तिहरूले वामदेव र रामवीरको उपहास गरिरहेका छन् ।
कसैकसैले वामदेवलाई ठाउँ खाली गर्नेलाई ३ करोड भन्दै सामाजिक सञ्जालमा भद्दा तरिका देखाए । रामवीरजस्ता निष्ठवान् र आर्थिक हिसाबले सम्पन्न व्यक्ति भएकाले अनुमानमा ५ करोड भनियो । यो संस्कृतिले कसैलाई बाँकी राख्नेछैन । यो निर्वाचन नै अन्तिम होइन, पार्टीका नियमित प्रक्रिया चलिरहनेछन् र अध्यावधिक निर्वाचनहरू पनि भइ नै रहनेछन् । त्यो घडीमा अहिलेको घटनाले पक्कै पनि अहिले हराउँछु भन्नेहरूले पनि हारको भारी बोक्नुपर्नेछ । निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउँदा कसैलाई आनन्द लाग्न सक्छ तर त्यो हार व्यक्तिको होइन पार्टीको हो भन्ने हेक्का हुन जरुरी छ । पार्टीका उम्मेदवारहरूलाई हराएर कुनै पनि नेता वा कार्यकर्ताले बहादुरी प्राप्त गर्न सक्दैन ।
वामदेवप्रति रामवीरको सदाशयता
रामवीरको राजनीनामाका सन्दर्भमा धेरै भ्रम छरिएका छन् । रामवीरले पैसा वा पदसँग सम्झौता गरेको भन्नेसम्म अफवाह फैलाइएको छ । रामवीरले कुरा सार्वजनिक रूपमै काठमाडांै–७ को विकाससँग आफ्नो पद साटेको भनेका छन् । निर्वाचित भएपछि आफ्नो क्षेत्रको विकास गर्ने धेरै प्रयास गर्दा पनि नेपाली राज्यको संयन्त्रले सहयोग नगरेको तर पार्टीका उच्च पदमा रहेका सांसद तथा मन्त्रीहरूले बजेट सहजै रूपमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गरेको अनुभव गरेपछि मानन्धरले निर्वाचनका बेलामा आफ्ना मतदातहरूसँग गरेको प्रतिबद्धता पूरा गर्न वामदेव गौतमलाई ठाउँ खाली गर्नुपर्ने अवस्थामा आएको बताएका छन् ।
पहिलो, वामदेव गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतामा खेलेको भूमिका सबैले सम्झिने गरेका छन् । पार्टी र पार्टीका उम्मेदवारहरूले देशव्यापी रूपमा विजय प्राप्त गर्दा पनि पार्टी एकताको सूत्रधार आफैं पराजित हुनु एउटा दुखद घटना थियो । उमेरको हिसाबले पनि ७० पार गरेका र सक्रिय राजनीतिको उत्तराद्र्धमा आएका वामदेवप्रति रामवीरको सदाशयता मानवीय हिसाबले पनि स्वाभाविक र तथ्यसंगत मान्न सकिन्छ ।
दोस्रो, पार्टीमा नेतृत्व गर्न सक्ने प्रमुख नेतामध्ये एक हँुदाहुँदै पनि केपी शर्मा ओली लामो समय पार्टी सत्ताबाहिर रहे । पछिल्लो समय उनलाई स्वास्थ्यले पनि साथ नदिएको अवस्था थियो । कार्यकर्ताले उनको भूमिकालाई एकपटक पार्टी प्रमुखका रूपमा देख्न चाहन्थे । त्यही भावनाका साथ कमरेड वामदेव गौतमले राजनीतिक मात्र नभई मानवीय संवेनशीलताका हिसाबले पनि ओलीलाई नवौं महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित बनाउने काम भयो । त्यही शृंखलाबाट ओली संसदीय दलको नेता हुँदै दुईपटक प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन् । गौतममा मानवताको अभाव रहेको भए सायद आज यो राजनीतिक कोर्स देख्न सकिँदैनथ्यो ।
तेस्रो, जनप्रतिनिधिको हैसियतले मानन्धरको यो चौथो कार्यकाल हो । मानन्धरले आफ्नो क्षेत्रका नागरिकलाई भौतिक पूर्वाधारको विकासले सम्पन्न गर्ने र काठमाडांैको नमुना क्षेत्र बनाउने सपना बाँडेका थिए । तर, नेपालको राज्य र राजनीतिक संयन्त्र पहुँचवालाहरूको मात्र चल्ने भएकाले उनका प्रयास सफल भएका थिएनन् । उनी जसरी पनि आफ्नो क्षेत्रलाई समृद्धिमा पु¥याउने विभिन्न अभियानमा लागिरहेका थिए, त्यहीबेला वामदेव गौतमको चर्चा एउटा उपर्युक्त संयोगका रूपमा जुरेको हो ।
काठमाडौंवासीको मनोविज्ञान भड्काउने काम
जीवन्त पार्टीमा अन्तरविरोध पनि हुन्छ र त्यसलाई व्यवस्थापन गर्ने विधि पनि हुन्छ । तर, जुन कुरा कमिटीभन्दा बाहिर नपुग्नुपर्ने हो, गलत मानसिकताका साथ फास्ट ट्र्याकबाट सामाजिक सञ्जालमा पुग्यो र त्यसको परिणामस्वरूप भाँडभैलो सिर्जना भयो । काठमाडौं–७ सँग सरोकार नभएकाहरूले त्यस क्षेत्रका बासिन्दालाई मनोवैज्ञानिक रूपमा विभाजित गर्ने काम गरे । वामदेव र रामवीरका विषयमा तथ्यहीन, कपोलकल्पित आरोपहरू लगाएर, अनेक भ्रम सिर्जना गरी समाजलाई गलत सूचना दिएर आपराधिक कर्तुत गरियो । जसका कारण रामवीरले पनि त्यसको पुष्टि गर्न विभिन्न सञ्चारगृहको अनुरोधमा आफ्नो राजीनामाको वास्तविकता पेस गरेका थिए । यी घटनाको विकासले तत्कालमा वामदेव र रामवीरलाई कमजोर बनाउने योजना भनिए पनि अन्ततः त्यसले पार्टीलाई कमजोर बनाउन मद्दत पुगेको छ । यो घटनाका योजनाकार पनि भोलिका दिनमा यस्तै गलत संस्कारको सिकार हुने पनि पक्का छ ।
वामदेव निर्वाचनमा पराजित हुन्छन् भन्ने भ्रमपूर्ण प्रचार यो सन्दर्भमा वस्तुवादी भएर हेर्ने हो भने वामदेवको कारणले मात्र निर्वाचन हार्ने होइन कि पार्टी र सरकारको पनि कारण हुन सक्छ । त्यो निर्वाचन वामदेवको एक्लो चाहना र प्रयासले मात्र जित्ने होइन, यो निर्वाचन पार्टीले सामना गर्ने हो । जनताले वामपन्थी सरकारबाट छिटो परिणाम खोजेका छन् तर त्यो तत्कालमा सम्भव छैन । नागरिकलाई पार्टी पंक्तिले त्यो बुझाउन सक्नुपथ्र्यो सकेको छैन । वामदेवविरुद्ध जोडिएको अर्को भ्रम राज्यकोष र शक्तिको दुरुपयोगजस्ता कुराले पनि सामाजिक सञ्जालमा रंगाउने गरेको पाइन्छ । पार्टीका केही नेताले नै वामदेवविरुद्ध तथानाम शब्दजाल र षड्यन्त्र गरिरहेका छन् । यदि, वामदेवको संलग्न थियो भने निर्वाचनमा हराउने र उपनिर्वाचनमा जान नदिने शक्तिले वामदेवलाई कानुनी दायरामा लिन सबैभन्दा सजिलो वातावरण पनि अहिले नै थियो ।
विगतमा वामदेवले कम्युनिस्ट पार्टीहरूको एकता गर्नुपर्दछ भन्दा एमालेको खोलमा माओवादीको राजनीति गरेको भनेर सार्वजनिक रूपमा टिप्पणीहरू गरिन्थे । पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरण गर्दा पनि वामदेवलाई पार्टी विभाजनको मात्र झझल्को देख्ने ? २०५६ सालको पार्टी विभाजन पनि वामदेव मात्र कारण थिएनन्, पार्टी नेतृत्वमा पनि वामदेव थिएनन् । पार्टी बहसमा एउटा व्यक्ति मात्र होइन, पार्टी प्रमुखको प्रमुख भूमिका र सहायक नेतृत्वहरूको पनि महŒवपूर्ण भूमिका रहेको हुन्छ ।
वामदेवको मात्र दोष देख्ने त्यो कस्तो चस्मा हो ? मन परेको व्यक्तिलाई देवत्वकरण गर्ने र अरूको मात्र दोष देख्ने प्रवृत्तिले समाज र पार्टीलाई सही दिशामा पु¥याउँदैन । त्यस्ता गतिविधि आफूसँग क्षमता नभएका र क्षमता भइहाले पनि गलत मानसिकताले निर्देशित भएकाले गर्ने गर्दछन् । व्यवस्थित, संवेदनशील र सामूहिकतामा आधारित कम्युनिस्ट पार्टीमा वामदेवको मात्र कमजोरी देख्नु वैज्ञानिक र वस्तुनिष्ठ छैन । यसपटकको उपनिर्वाचनका लागि स्वयं वामदेव गौतमले रामवीर मानन्धरप्रति आधार प्रकट गर्दै अहिलेलाई आफू अगाडि नबढ्ने निर्णयमा पुगे पनि उनको योगदानलाई कदर गर्नु जरुरी छ ।