चर्चामा बागलुङ नगरपालिका

कहि नभएको जात्रा बागलुङ नगरपालिकामा भएको छ यतिबेला । बागलुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीचको जुहारी चर्चामा छ । नयाँ संघिय संरचना अनुसार मुलुकमा गाउँ पालिका र नगरपालिका बनेपछि नेपाली जनतालाई सिंहदरबार गाउँ गाउँमा भन्ने मात्रै भ्रम रहेछ भन्ने स्पष्ट भएको छ । बागलुङ जिल्लामा २०५४ सालमा स्थापना भएको नगरपालिका पछिल्लो समय निकै चर्चामा आएको छ । बागलुङ बजारभन्दा माथि बानपा ३ रात्माटामा रहेको कार्यालयमा न त जनप्रतिनिधि बस्छन् न त कर्मचारी नै बस्छन् । जनताको पहुँचभन्दा टाढा रहेको नगरपालिकाको कार्यालय कुनै पनि हिसाबले नगरबासीको सेवा र सुबिधाको उपयुुक्त छैन भनेर भन्दा कसैको पनि दुई मत हुदैन होला । राजधानीबाट प्रशारण हुने टेलिभिजनमा नगरपालिकाका मेयर जनकराज पौडेलले आफुलाई कर्मचारीहरूबाट सहयोग नभएको कारणले काम गर्न गाह्रो भएको खुलासा गरेपछि यसले झन् बागलुङ नगरपालिका थप चर्चामा आएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि स्वयंले आफुलाई असहयोग भएको कुरा भन्न मिल्छ कि मिल्दैन त्यो आफ्नो ठाउँमा छ । २० बर्षअघि राजनीति नियुक्ति पाएका कर्मचारी अहिलेसम्म बागलुङ नगरपालिकामै कार्यरत छन् । ती कर्मचारीबाहेक अहिले संघिय संरचना अनुसार थप नयाँ कर्मचारी नगरपालिकामा छिरेका छन् । जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुन नसकेपछि भएको कामको समेत प्रगति देखाउन सकेको छैन । नगरपालिकाभित्र काम गर्ने कर्मचारी कार्यालयमा नबस्ने गरेको भन्ने गुनासो सुनेपछि मेयर जनकराज पौडेल आफैले कार्यालयमा गएर छड्के गर्दा दुई दर्जन कर्मचारी अनुस्पथित पाएको मात्रै हैन तिनलाई कार्वाही गर्ने कुरा समेत मिडियाले सोधेको प्रश्नको जवाफ दिनुभएको थियो । यसले बाहिर सन्देश राम्रो जादैन, भएको जनशक्तिबाट अधिकतम काम लिने हो ।

स्थानीय तहको निर्वाचन भएको पनि झण्डै १८ महिना बितिसक्यो । एकातिर मेयर लगायतका जनप्रतिनिधिले काम गर्ने वातावरण नभएको भन्ने अर्काेतिर कर्मचारीहरू आफ्नै तरिकाले अगाडि बढ्ने होभने यसले गन्तव्यमा पु¥याउन सक्दैन । स्थानीय तहको लागि बनाएको नीति नियम र अहिले भएको जनशक्तिबाट गराउनेभन्दा अर्को विकल्प नगरपालिकासंग छैन । अहिले जे–जति गुनासो सुन्नु परेको छ त्यो कार्यालय जनताको पहुँचभन्दा टाढा रहेको कारणले पनि हो । बागलुङ नगरपालिकाको कार्यालय जनप्रतिनिधिलाई समेत पायक पर्दैन । न त हिड्ने बाटो राम्रो छ, न त भनेको समयमा सवारी साधन नै पाइन्छ । बजारदेखि नगरपालिका सम्म पुग्न सामान्य गाडीभन्दा ४ सय लाग्छ । एकैपटकमा काम हुँदैन पटक–पटक जाँदा खर्चले पुग्दैन । थोरै कामको लागि समेत नगरपालिकामा जान नगरबासी चाहदैनन् । गाउँ–गाउँमा सिंहदरबार भन्ने नारा मात्रै कागजमै सिमित भएको देखिन्छ ।
जनप्रतिनिधिहरू स्वयंले अहिले भएको नगरपालिका कार्यालय तल बजारमा सार्नुपर्ने भनेर निबेदन हालेको पनि ३ महिना बितिसक्यो । नगरपालिकाको कार्यपालिकाले समेत त्यसलाई अनुमोदन गरिसक्यो तर कार्यालय सारिएको छैन । जिल्लामा बाँकी सबै सरकारी कार्यालयहरू बागलुङ बजारभित्र छन् । अहिले वडा कार्यालय समेत बजारमा भएको कारणले जतिसक्दो छिटो यसलाई बजारमा सार्न सकेमा जनताको काम पनि छिटोछरितो हुने निश्चित छ । संघियताको कारण सरकारी कार्यालयका भवन खाली भएका छन् । कुनै पनि भवनमा त्यसलाई सार्न सकिन्छ । अहिलेको बागलुङ नगरपालिका पहिलाको भन्दा धेरै ठूलो भएको छ, यसमा बलेवा क्षेत्रको ३ वटा गाबिस अमलाचौर, पैयुपाटा, नारायणस्थानलाई बागलुङ नगरपालिकामै गाभिएको छ । भकुण्डे, रायडाँडा, सिगाना, तित्याङ र मालिका समेत यसैमा गाँभिएको छ । नगरपालिकाबाट लिने सेवा सुबिधाको लागि कार्यालयमा धाउनु पर्ने बाध्यता आफ्नै ठाउँमा छ । त्यहाँसम्म पुग्नको लागि धेरै सकस छ । न त भनेर हुने न त अर्को केही बिकल्प नै छ । जनप्रतिनिधिले बैठक समेत बेला–बेलामा बजारको होटलमा गर्न बाध्य छन् । यो एक दिनको समस्या हैन, नगरपालिका कार्यालय सार्नुपर्छ भन्ने कुरामा सबै नगरबासी सहमत छन् ।

तत्कालिन समयमा बागलुङ बजारभित्र नगरपालिकाको लागि भवन बनाउने जग्गा उपलब्ध हुन नसकेको कारण रात्माटामा सुबिधा सम्पन्न भवन बनाउने काम भएको थियो । त्यस बेला पनि नगरपालिका कार्यालय बजारबाट माथि लैजानु हुदैन भनेर नगरबासीले आवाज नउठाएको हैन । त्यो बेला जनताको आवाज सुन्ने जनप्रतिनिधि थिएनन्, अहिले भने जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । तर समस्या ज्युका तिउ छ । धेरैभन्दा धेरै अधिकार जनप्रतिनिधि संग छ, स्थानीय ऐन कानुन पनि बनिसकेका छन् तर जनताको चाहना बमोजिम काम भने हुन नसकेको गुनासो पनि बेला बेलामा सुनिन्छ । जसरी हुन्छ जनतालाई सहज रूपमा सेवा सुबिधा दिने काम जनप्रतिनिधिले गर्न सक्नुपर्छ । कर्मचारीले स्थानीय जनप्रतिनिधिलाई दोष दिने जनप्रतिनिधिले कर्मचारीलाई दोष लगाएर सुख पाउदैन । निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई काममा लगाउन नसक्नु साँच्चै भन्ने होभने कमजोरी नै हो ।

राजमोका अध्यक्ष चित्रबहादुर केसीले भनेझै संघियता नेपालको लागि कामै छैन भन्ने कुरा अहिलेको गतिविधि कामलाई हेर्दा त्यस्तै लाग्छ । साँच्चै अहिले बागलुङ नगरपालिकाले जुन गति लिनुपर्ने हो त्यो लिन सकेको छैन । हुनतः यहाँ काम नभएको हैन धेरै भएको छ तर गर्ने गराउने तरिका नमिल्दा गरेको कामको समेत जस लिन सकेका छैनन् । बागलुङ नगरपालिकामा १ बर्षको दौरानमा ३ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । अहिले पनि वडाले गर्ने सामान्य विकास निर्माणको लागि समेत नगरपालिका धाउनुपर्ने अबस्था छ । थोरै बजेट तर काम गराई झन्झट भएको कारणले पनि जनप्रतिनिधि समेत वाक्कदिक्क बनेका छन् । अब सबै कुरा एकातिर राखेर नगरपालिकाको कार्यालय बजारमा ब्यबस्थापन गरेर चलाउन जरुरी छ । अब जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अगाडि बढ्नुको बिकल्प छैन । साँच्चै नगरपालिकामा जनप्रतिनिधिलाई असफल बनाउन खोज्ने कर्मचारीहरू को–को हुन तीनको नाम सार्वजनिक गर्न जरुरी छ । बागलुङ नगरपालिका भित्र के, कति जना कर्मचारी छन्, कसको जिम्मेवार के हो, त्यो कुरा सारा नगरबासीले देख्ने गरि सार्वजनिक गर्ने होभने भोलिका दिनमा जनतालाई पनि को–कोसंग, के–के काम गराउने हो भन्ने कुरा बुझ्न सहज हुनेछ । यो सबै भएको खण्डमा मेयर साहेवले आफ्नै कर्मचारीलाई छड्के गर्नुपर्ने झंन्झट हुने छैन ।