बेकामे खर्चमा सिमा

नेपालीको महान पर्वको रुपमा मनाईंदै आएको दशैंका बेला आवश्यकता भन्दा धेरै खर्चहरु हुने गरेका छन् । खानपान, भेटघाट र शुभकामना आदान–प्रदानको बहानामा व्यक्ति, संस्था तथा समाजका सबै क्षेत्रमा दशैंमा खर्चको मात्रा निकै बढ्ने गरेको छ । दशैंलाई हुनेखाने र हुँदा खाने सबै तहका नागरिकले मनाउने खालको पर्वको रुपमा विकास गर्ने चर्को नारा लगाईने गरेको भएपनि व्यवहारमा भने त्यसको ठिक बिपरित हुने गरेको छ । हुँदा खाने र हुने खानेका बीचको खाडलको चित्र आईतबार बागलुङ नगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा देखीयो । एक गिलास चियाका लागि बिहान सुर्यको किरणसँगै काममा लाग्ने दशैंको पाँचौ दिन आईतबार पनि काममा थिए तर त्यही समयमा बागलुङ बजारका हुनेखाने, राजनीतिकर्मी व्यवसायी तथा नेता कार्यकर्ता बागलुङ नगरपालिका–२ मा रहेको ऐश्वर्य पार्कमा जम्मा भएर चिया र बिस्कुट खाँदै शुभकामना आदान प्रदान गरे ।
बागलुङ नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा गरिखानेलाई बोलाईएन वा उनीहरु आएनन् त्यो आयोजकले जान्ने कुरा हो । तर शुभकामना बाँड्न आएका सुकिला–मुकिला र काम गर्दै गरेका मजदुरको अनुहारमा भने एकै खालको चमक थिएन् । दशैंमा शुभकामना बाँड्ने बहानामा बागलुङ नगरपालिकाले चियापान कार्यक्रम गरेर हजारौं रुपैयाँ पैसा सक्कायो, जैमिनी नगरपालिकाका केही वडाले शुभकामना कार्ड महंगो मुल्यमा छपाएर बाँडीरहेका छन्, गल्कोटमा पनि केही वडाले कार्ड छपाएर बाँडीरहेका छन् । कार्ड छपाउँदा होस वा शुभकामना आदानप्रदान र चियापानका लागि आयोजना गरिएका कार्यक्रममा होस लाखौं रुपैयाँ खर्चिदा हुने खानेको पहुँच पुगेको छ तर हुँदा खानेको उपस्थितीसम्म देख्न सकिँदैन् । पर्वका बेला गरिने यस्ता बेकामी खर्चको साटो स्थानीय सरकार, उद्योगी, व्यवसायी तथा संघ संस्थाले चरम गरिबीका कारण छाक टार्न कठिन भएकालाई सहयोग गर्न सक्थे । यदि उनीहरुले त्यो खालको उदारता देखाएका भए हुँदा खाने र हुने खानेको बीचको खाडल पुर्न केही हदसम्म प्रयास भएको मान्न सकिन्थ्यो तर दिनभर काम गरेर एक छाक टार्न कठिन हुने मजदुरको अगाडि लाखौं रुपैयाँ खर्चेर चियाँ खाँदै शुभकामना बाँड्नेले नै हुने खाने र हुँदा खानेको बिचमा पर्वको बिभेद हुननहुने चर्का भाषण दिनु लज्जास्पद बिषय हो ।
दशैं सद्भाव बाँड्नका लागि, बिजय उत्सवका रुपमा मनाईने पर्व हो । यो पर्वलाई सबैको बनाउनका लागि हुने खानेले दशैंको समयमा देखाउने तडकभडक अन्त गर्नु पहिलो आवश्यकता हो । भोको पेटमा मनाएको दशैंले कसैलाई पनि खुसी राख्न सक्दैन् । त्यसैले दशैंलाई सबैको खुसीको पर्वको रुपमा विकास गर्नका लागि दैनिक गुजारा चलाउन गाह्रो हुनेहरुका लागि पनि सरोकारवालाले केही सोच्ने बेला भएको छ । शुभकामना आदानप्रदानको नाममा भैरहेको बेकामको खर्चलाई नियन्त्रण गनुको साटो आँफै त्यस्ता खालका खर्चमा ध्यान लगाउनु स्थानीय सरकारको भुल हो । यस्ता कार्यलाई तत्काल सच्चाएर सबैका लागि सधैंका लागि दशैं मनाउने वातावरण सिर्जना गरौं ।