नक्सा पास नगरी सरकारी भवनको निर्माण

स्थानीय तहमा दर्ता गर्नु पर्ने हो, त्यो प्रकृया अब थाल्ने छौं ः प्रकाश अयौल

बागलुङ, २९ असोज — बर्षौदेखि अलपत्र रहेको धौलागिरी अञ्चल अस्पतालको बी, सी र कर्मचारी आबास भवनको नक्सा पास छैन । भवन डिभिजन कार्यालयको ठेक्कामा यी भवन बनिरहेका हुन् । जिल्ला प्रशासन कार्यालय समयमा बनेको भए तीन बर्षअघि सम्पन्न हुन्थयो । ठेकेदारको लापरबाहीले ढीला भएको छ । ठेकेदारलाई गाली गरिरहेपनि प्रशासनले समेत नक्सा पास नगरी निर्माण थालेको हो । भब्य भवन बनिरहेपनि त्यसको नक्सा पास नभएको र स्थानीय तहमा दर्तापनि नभएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सदरमुकाममा साँढे तीन तलाको स्वीकृत लिएका उपभोक्ताले साँढे पाँच तला सम्मका घर बनाईरहेका छन् । नगरपालिकाले पनि त्यस्ता घरको वास्तै गरेको छैन । अधिकांस सरकारी भवनहरु डिभिजन कार्यालयमार्फत बन्ने गर्छन् भने निजी घर नगरको स्वीकृति बिना बन्न नपाउने प्रावधान छ । ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीको घर झन सात तले छ । उनी निर्वाचित भएपछि बनेको यो घरले भवन निर्माण संहिता पालना गरेको छैन । बागलुङका लागि साँढे तीन तला सम्मका घर बनाउन पाउने प्रावधान छ । त्यो भन्दा अग्लो घर बनाउनु पर्दा माटो परिक्षण गर्ने, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन बनाउनुपर्ने लगायतका प्रावधान भएपनि कानूनको नियमन गर्ने तहबाटै उलंघन भैरहेको हो ।

‘हामीले बनाएका भवनहरु भूकम्प प्रतिरोधी र भवन निर्माण संहिता पालना गरेरै बनाएका छौं’ भवन डिभिजन कार्यालय बागलुङका प्रमुख प्रकाश अर्यालले भने, ‘स्थानीय तहमा दर्ता गर्नु पर्ने हो, त्यो प्रकृया अब थाल्ने छौं ।’ यसअघि निर्माण भएका सरकारी भवनहरु स्थानीय तह वा नगरपालिकामा दर्ता नगरी बनेका हुन् । सरकारले भने व्यक्तिगत र सार्वजनिक भवन निर्माण गर्दा नक्सा पास गर्नुपर्ने, तोकिए भन्दा अग्ला घर बनाउन नपाईने र भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरिएको हुनुपर्ने प्रावधान ल्याएको छ । राजपत्रमा प्रकाशित यस्ता प्रावधानलाई हरेक नागरिकदेखि सरकारी संस्थाले पनि अनिवार्य पालना गर्नुपर्छ । प्रशासनकै भवनको नक्सा पास नभएकोमा नगरप्रमुख पौडेलले टिप्पणी गरेपछि प्रजिअ बेदप्रसाद खरेलले प्रकृयामा जाने बताएका छन् । ‘पहिला अनिवार्य थिएन, अहिले आएको प्रावधान हो, अब नक्सा पास गरेरै जानुपर्छ’ खरेलले भने, ‘फेरिएको कानूनी प्रावधानले नक्सापासका लागि ढिलाई भएको हो ।’ २०७० साल फागुनमा दुई बर्षभित्र काम सक्ने गरी जिम्मा लिएको जयबाबा गोरख संयुक्त निर्माण कम्पनीले समयमा काम नसक्दा प्रशासनकै भवन अलपत्र छ । प्रजिअ खरेलले ठेकेदारलाई सम्पर्कमा ल्याएर काम लगाउने दाबी गरेपनि भवन स्वीकृत गराउने बिषय भने गरेका थिएनन् नगरपालिकाबाटै सार्वजनिक टिप्प्णी आएपछि मात्र खरेलले स्विकृत गराउने भनेका हुन् । हाल जिल्ला अदालतको भवन पनि बनिरहेको छ । म्याद थपेर आगामी चैत मसान्तसम्म सक्नेगरी काम गरिरहेका ठेकेदार जिसीले भवन डिभिजनले दिएको नक्साका आधारमा काम गरिरहेको बताए । उक्त भवन पनि नगरपालिकामा नक्सा पास नभई बनाइएको हो । २०७२ सालको भूकम्पपछि भवन निर्माण संहितालाई कडाईका साथ लागू गर्नुपर्ने भन्दै राजपत्रमा प्रकाशित गरेको थियो । त्यसपछि बनेका अधिकांस सरकारी भवन र व्यक्तिका घर समेत नक्सा पास बिनै बनिरहेका हुन् । जिल्लामै दर्जनौं स्वास्थ्यचौकी, तत्कालिन गाविस भवन र बिद्यालय समेत बनिरहेका छन् । ती भवनका लागि पनि नक्सा पास नभएको भेटिएको हो । चारतलामा ४० बढी कोठा भएको सदरमुकाको बिद्यामन्दिर माविले पनि नक्सा पास बिनै घर बनाएको हो । ‘पास नभई बनेका भवनका लागि स्ट्रक्चरसहित वडा कार्यालयको सिफारिस ल्याएमा दर्ता गर्ने प्रावधान छ’ ईन्जिनियर त्रिलोचन गिरीले भने, ‘जग खन्दा देखिको अनुगमन र गुणस्तर पाउन नसकेपनि दर्तामा भने आउनै पर्छ ।’ शुरुमै दर्ता भएका घरको नगरपालिकाले निरन्तर अनुगमन समेत गर्ने उनले बताए ।