पर्व लक्षित सुरक्षा

चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बागलुङले सुरक्षा योजना सार्वजनिक गरेको छ । समान्य समयमा भन्दा पर्वका बेला हुल भीड बढी हुने र धेरै मानिसहरु भएको ठाउँहरुमा स्वाभाविक रुपमा उत्तेजना बढ्ने भएका कारण सम्भावित दुर्घटनालाई मध्येनजर गरेर प्रहरीले सुरक्षा योजना बनाएको हो । जिल्ला प्रहरी कार्यालय, गल्कोट, बुर्तिबाङ र बरेङडाँडामा रहेका ईलाका प्रहरी कार्यालयहरुलाई उच्च सर्तकताका साथ तयारी अवस्थामा राखिएको छभने बिपद् व्यवस्थापन युनिटलाई पनि तयारी अवस्थामा राखिएको छ । जिल्ला प्रहरी कार्यालयको ४ समुह तत्कालिन उद्वारका लागि तयारी अवस्थामा राखिएको छभने प्रहरी अधिकृतहरुको टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ । मोबाईल गस्ती र सडक चेकजाँचका काम पनि भैरहेका छन् । सडकमा हुन सक्ने सम्भावित दुर्घटनाको पनि प्रहरीले उच्च निगरानी बढाएको छ ।

जिल्ला सदरमुकाममा रहेको बजार, गाउँ तथा नगरपालिकाका केन्द्रहरुमा बढेको प्रहरी सक्रियताले जिल्लाको सुरक्षा व्यवस्थामा कडाई थालिएको महसुस हुन थालेको छ । चाडपर्वका बेला लाग्ने मेला तथा महोत्सव र मठ मन्दिरहरुमा समेत मानिसहरुको उल्लेखनिय उपस्थिती हुने भएका कारण त्यस्ता क्षेत्रहरुमा अपराधिक क्रियाकलाप समेत हुने गरेका बिगतका तत्थ्याङ्कहरु छन् । अझै चाडपर्वको समयमा मदिराको प्रयोग बढी हुने र मदिराकै मातका कारण महिला तथा बालबालिका हिंसामा पर्ने गरेका घटनाहरु पनि बिगतमा हुने गरेका छन् । यस्ता घटनाहरु हुन नदिनको लागि प्रहरीले चलाएको सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ जुन प्रशंसनिय छ । जिल्लामा रहेको सवारी साधनको अभाव र दशैं तिहार जस्ता पर्वमा गाउँ शहरमा हुने आवत–जावतको चापका कारण सवारी साधनहरुमा असुरक्षित यात्रा समेत हुने गरेको छ । यातायातका साधन प्राप्त उपलव्ध नभएका कारण यात्रुहरुले जर्बजस्त यात्रा गर्ने र चलेका सवारीले मौकाको फाईदा उठाउने प्रबृत्तिका कारण यात्रु भाडा महंगिने र मनोमानी भाडा लिने गरेका घटनाहरु पनिज सार्वजनिक भैरहेका छन् ।
सडकमा हुने ज्यादतिको अन्त्यका लागि प्रहरी एक्लैले मात्र केही गर्न सक्दैन् जसको लागि नागरिक आँफु पनि सचेत हुन जरुरी छ । जिल्लाभर सञ्चालनमा रहेका सडकहरुको जिल्ला प्रशासन कार्यालयका प्रमुख नेतृत्वको समितिले निश्चित भाडादर कायम गरेको छ । यदि तोकिएको मुल्यभन्दा बढि भाडा लिएमा सवारी साधन वा त्यसका मालिक तथा चालकलाई कारवाही हुने व्यवस्था रहेकाले सर्वसाधारणले गोप्य तरिकाबाट उजुरी गर्ने र प्रहरीलाई सहयोग गर्न आवश्यक छ । चाडपर्वलाई लक्षित गरेर नागरिकको सुरक्षाको लागि प्रहरीले ल्याएको सुरक्षा योजनामा सघाउनु नागरिकको पनि कर्तव्य हो । स्थानिय राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि र आम सर्वसाधारणले प्रहरीको काममा सघाउने होभने पर्वका बेला हुने अपराधिक घटनामा कमि ल्याउन कुनै कठिन नहोला । पर्वलाई उत्सवको रुपमा मनाउनका लगि सबैले सुरक्षित महशुस गर्नु पहिलो आवश्यकता हो । जसको लागि प्रहरीले ल्याएको योजनामा सघाउन सबै लाग्नु जरुरी छ ।