पर्यटन प्रवद्र्वन सहयोग बन्यो यान्त्रिक पुल

यान्त्रिक पुल निर्माण भए संगै ग्रमीण बासीलाई पर्वत सदरमुकाम पुग्न नजिक

पर्वत, ३० असोज — जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कुश्माबजार आउजाउ गर्छन् । व्यवसायीहरु नितान्त नाफामुखी मात्र हुँदैनन् भन्ने सन्देश दिएको यो पुलमा स्थानीय बासिन्दाका साथै ख्याति प्राप्त निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको छ । व्यापारी–व्यवसायीहरुको छाता संस्था पर्वत उद्योग वाणिज्य संघको प्रवद्र्धन र स्थानीय व्यवसायीहरुको लगानीमा सेवा व्यवसायको नयाँ आयाम स्वरुप कुश्मा–बलेवा यान्त्रिक पुल निर्माण भएको छ । घण्टौं लागेर कालीगण्डकी वारपार गर्नुपर्ने बाध्यतालाई यो पुलले अन्त्य गरिदिएको छ ।

यो पुल नाफामुखी भन्दा बढी सेवामुखी सोचका साथ विसं २०६९ मा निर्माण गरिएको हो । छ वर्षअघि निर्माण गरिएको यान्त्रिक पुलका कारण कुश्माबजारको पर्यटन क्षेत्रले थोरै भए पनि गति लिएको छ । सदरमुकाम कुश्माको वडा नं ५ देखि बागलुङ नपा १४ नारायणस्थान, बलेवा जोड्ने गरी निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल पछिल्ला दिनहरुमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि थप अब्बल सावित हुँदै गएको छ । कुश्मा र समग्र पर्वत जिल्लाको व्यापार खस्कँदै गइरहेको अवस्थामा स्थानीय व्यापार प्रवद्र्धन गर्न तथा दक्षिण बागलुङका एक दर्जन भन्दा बढी तत्कालीन गाविसहरुलाई कुश्मासँग सिधै जोड्न करीब पाँच करोड रुपैयाँको लगानीमा यो पुल निर्माण गरिएको हो । उक्त पुल निर्माण सम्पन्न भएपछि कुश्मादेखि बलेवासम्मको एक घण्टाको दूरी चार मिनेटमै वारपार गर्न सम्भव भएको छ । करीब दुई दशक अघि बन्द रहेको विमानस्थलसमेत यही यान्त्रिक पुलका कारण पुनः सञ्चालन हुने माहोल बनेको हो । ‘बलेवा क्षेत्रमा ठूलो जनसंख्या रहेको र उनीहरुको मुख्य बजार कुश्मा भएकाले आवतजावतलाई सहज होस् भन्ने हेतुले यान्त्रिक पुल निर्माण गरेका हौं’ कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले भने ।