चार महिनाको तलब विद्यालयलाई

हरेक वर्षको एक महिनाको तलब भत्ता विद्यालयलाई ः अध्यक्ष थापा

बागलुङ, ३० असोज — जिल्लाको काठेखोला गाउँपालिका–१ पालाका वडा अध्यक्ष खडक थापाले आफ्नो कार्यकालको चार महिनाको पारिश्रमीकबाट बिद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । थापाले वडा अध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार बर्षमा प्रत्यक बर्ष एकवटा बिद्यालयका दरले वडा भित्रका चारवटै बिद्यालयमा अक्षयकोष स्थापना गर्ने भएका हुन् । हरेक बर्षको एक महिनाको तलब भत्ता लगायतका सुबिधा बिद्यालयमा हस्तान्तरण गरेर अक्षयकोष स्थापना गर्न लागेको थापाले बताए । अक्षय कोषको व्याजबाट आउने रकमलाई आवश्यकताका आधारमा बिभिन्न शिर्षकमा खर्च गर्नेगरी बिद्यालयको संरक्षणमा राखिने छ । गरिविका कारण बिद्यालय बाहिर रहेका बालबालिकाको शिक्षा दिक्षा, छात्राबृत्ति, पुरस्कार वितरण लगायतका बिद्यार्थीको बृत्ति विकासमा खर्च हुने शिर्षकमा खर्च हुनेगरी अक्षयकोष स्थापना गर्न लागिएको हो । ‘एक महिनाको सबै सुबिधा बिद्यालयलाई उपलव्ध गराउँदा बिपन्न बिद्यार्थीलाई सहयोग पुग्छ भन्ने लागेको छ’ थापाले भने ‘मैले सुरुवात मात्रै गरेको हो, सरकारी सामुदायीक बिद्यालयहरुको सुधारका लागि अन्य मनकारीहरुले पनि सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।’ जनप्रतिनिधि भएकाले समाजको उत्तर दायित्व आँफुमा रहेको भन्दै थापाले बिद्यार्थीको उज्वल भविश्यको लागि अक्षयकोष स्थापना गर्ने सोच बनाएको बताए ।

आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक योजना तथा सम्पन्न कार्यक्रमको समिक्षा गर्दै थापाले अक्षयकोष स्थापनाको घोषणा गरेका थिए । थापाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत वर्ष सडक निर्माण, खानेपानी आयोजना, सिँचाइ जलाधर, शिक्षा भवन लगायतका ३९ ओटा योजना सम्पन्न भएको उल्लेख गरिएको छ । सबै योजना समयमा नै सम्पन्न गर्न सफल भएको वडा थापाले उल्लेख गरेका छन् । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले विकासको काममा सबैले हातेमालो गरेर जानुपर्ने बताए । कार्यक्रममा नेकपाका टिका बहादुर थापा, नेपाली कांग्रेसका सचिव गणेश नेपाली, कार्यपालिका सदस्य टिका संगम विक, काठेखोला गाउँपालिकाका योजना प्रमुख मिनबहादुर थापा लगायतले बोलेका थिए । वडा अध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडा सदस्य गम्विरा थापा र सञ्चालन वडा सचिव रिता रानाले गरेकी थिईन् ।