नालीको ढकनी एक हप्तापनि टिकेन

म्याग्दी, ३१ असोज — सदरमुकामस्थित बेनी नगरपालिका–८ कालीपुलमा ढलान गरिएको बसपार्क प्रयोगमा आएको एक हप्ता नहुदै लार्खो खर्चेर निर्माण गरिएको नालीमाथि राखिएको ढकनी भाँचिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत गत असारमा ढलान गरेको बसपार्क करिब एक हप्ताअघि सञ्चालनमा ल्याइएको थियो । ढलानसंगै बनाइएको नालीमाथि राखिएको ढकनी बसपार्क सञ्चालनमा आएको एक हप्तामै भाँचिएको छ । सिमेन्ट, गिट्टी, बालुवा, रडको प्रयोग गरेर बनाइएको ढकनी गुणस्तरहिन भएकोले भाँचिएको स्थानीयबासीले बताएका छन् । कमशल निर्माण सामग्रीको प्रयोग भएकाले ढकनी फुटेको गलेश्वरका दिपक कार्कीले बताए । ‘नाली र ढकनी मात्र नभएर बसपार्कको ढलानमा समेत कमशल सामग्रीको प्रयोग भएको विषयमा सरोकारवालालाई जानकारी गराएपनि बेवास्ता गरेकाले अहिले यस्तो परिणाम आएको हो’ कार्कीले बताए ।

डेढ मिटर चौडाईको नालीमाथि राखीएका अधिकांश ढकनी फुटेका छन । सवारी साधनको भार थाम्न नसकेपछि फुटेर नाली पुरिएको छ । ढकनी फुटेको ठाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको यातायात ब्यवसायी कुमार थापाले बताए । ५५ मिटर लम्बाई र १० मिटर चौडाईको ढलान तथा डेढ मिटरको नाली निर्माणका लागि त्रिशक्ति तिलक जेभीले ठेक्का लिएको थियो । चालीस लाख रुपैया लागत अनुमान गरिएको बसपार्क ढलान गर्न २८ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माणकै क्रममा सम्बन्धित ब्यवसायी र कार्यालयलाई पटक पटक जानकारी गराएपनि सुधारमा बेवास्ता भएकाले राज्यको लगानी खेर भएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए । ‘प्राबिधिक र निर्माण ब्यवसायीको मिलेमतोमा गुणस्तरहिन काम गरेर बजेटको दुरुपयोग भएको गुनासो तिब्र छ’ वडा अध्यक्ष बराईलीले बताए । डिभिजनका ईञ्जिनियर गणेश मर्हजनले निर्माण ब्यवसायीको कमजोरीका कारण ढकनी फुटेको बताए । महर्जनले एकहप्ताभित्रनै पुननिर्माण गर्न लगाउने भनिएपनि सुरु हुन सकेको छैन् । म्याग्दी घुम्न आउने पर्यटकलाई नालीको सलाप भाचिदाँ पाकिङ्गको समस्या तथा दुर्घटनाको जोखिम बढेको छ ।