शुभ बनोस बडा दशै

असत्यमाथि सत्यको बिजय भएको मान्यताका आधारमा मनाईने बडा दशैं यतिवेला घर–घरमा छाएको छ । नेपालीहरुले ठुलो पर्वका रुपमा मनाउने दशैंको लागि सबै तयारी पुरा गरेका छन् । देशका साना–ठुला शहर खाली हुँदै गईरहेका छन्भने गाउँ घरहरु भरिभराउ भएका छन् । फुलपातीको दिनसम्म सडकमा आवत–जावत बढेको छभने सावारी साधनमा चाप थेगिनसक्नु छ । दशैं मनाउनका लागि देशभित्रै बिभिन्न कामको शिलशिलामा घर बाहिर रहेका र रोजगारी तथा उच्च शिक्षाको लागि बिदेशिनेहरु समेत दशैं मान्नकै लागि घर फर्कीएका कारण सुनसान गाउँहरुमा चहलपहल छाएको छ । बागलुङ, पर्वत, म्याग्दी लगायतका देशका दुर्गा भगवतीका शक्तिपिठहरुमा भक्तजनको भिड लागेको छ । नवदुर्गा भवानीले राक्षसहरुलाई नौं दिनसम्म लडाईं गरेर बिजय हाँसिल गरेको पर्वको रुपमा मनाईने दशैं नेपालमा झण्डै १५ दिन मनाउने चलन छ । नवदुर्गाको पहिलो दिनदेखी बिजया दशमी र त्यसको पछि पुर्णिमासम्म यो पर्वलाई उत्साहका साथ मनाईने गरिन्छ । दहि टिका र जमरा यस पर्वका मुख्य आकर्षण हुन् । रातो टिका दहीमा मुछेर लगाउँदा शत्रुहरु परास्त हुने र टिकासँगै लगाईने जमराले चिरायु प्राप्त हुने धार्मिक मान्यता रहेको छ । नव दुर्गाको समयमा शक्तिपिठहरुमा पुजा आरधाना गर्नाले आँफुले चाहेको कुरा प्राप्त गर्ने समेत धार्मिक मान्यता रहेको छ । दशैंको समयमा शक्तिपिठहरुमा बलि चडाउने प्रचलन समेत परापुर्वकालदेखी चलिआएको छ ।
दशैं उत्साह र उमंगको पर्व हो । यो पर्व परापुर्व कालदेखी मनाउँदै आएको पर्व हो । असत्यलाई परास्त गरेर सत्यले जितेको सम्झनामा मनाईने पर्व आँफुभन्दा ठुलासँग आशिर्वाद लिएर मनाउने पर्व हो । दशैंमा हिजो जुन खालको उत्साह र सद्भाव थियो त्यो अहिलको पुस्तामा हराउँदै गएको छ । दशैंमा नयाँ लुगा लगाउनै पर्ने मिठो खानेकुरा खानै पर्ने र आफ्नो औकातभन्दा पनि धेरै खर्च गर्ने गलत परिपाटीको पछिल्लो समय विकास हुँदै गएको छ । दशैंमा नयाँ नोट, मिठो खाना र नयाँ लुगाले बिकृत रुप धारण गरेको छ । पछिल्लो पुस्ताले बिकृत बनाउँदै लगेको दशैंलाई सुधार गरेर सद्बुद्धि प्राप्त हुने पर्वको रुपमा विकास गर्नु अहिलेको आवश्यकता हो । दशैं सबैको पर्व हो यो पर्वमा हुनेखानेले देखाउने र हुँदा खानेले लुकाउने अवस्था सिर्जना हुनु हुँदैन् । उत्सवको पर्वका रुपमा मनाईने दशैंले कसैलाई खुसी र कसैलाई पिडा दियो भने त्यो सारा नेपालीका लागि खुसीको पर्व बन्न सक्दैन । आँफुमा जे छ त्यसैमा रमाउने, परिवार र आफन्तजनको बिचमा खुसी साटेर मनाउने संस्कृतिको विकास गर्न सक्नुपर्दछ । दशैंलाई सभ्य र भव्य बनाउनको लागि हामीभित्र रहेको सबैखालका विकारहरुको अन्त्य आवश्यक छ । यो पर्वले नेपालमा पछिल्लो समय मौलाउँदै गएका आपराधिक घटनाहरुमा कमी ल्याउने प्ररणा प्रदान गरोस, सबैमा भाईचाराको भावना विकास गरोस हाम्रो तर्फबाट बिजयादशमीको हार्दिक मंगलमय शुभकामना ।