दशैका लागि एक अर्ब बिप्रेषण भित्रियो

बागलुङ मनिट्रान्सफरमा मात्र दैनिक ४०—५० लाख रेमिट्यान्स भित्रिने गरेको ः दुर्गा कुँवर

बागलुङ, ३१ असोज — नवरात्री सुरु भएसँगै बागलुङका रेमिट्यान्स (विप्रेषण) केन्द्रहरुमा मानिसहरुको भिडभाड लाग्न थालेको छ । बैदेशीक रोजगारीमा गएकाहरुले दशैं खर्च पठाउने र आँफु घर फर्किंदा रेमिट्यान्स (विप्रेषण) मार्फत पैसा पठाएर आउने भएकाले केन्द्रहरुमा भिड लागेको हो । रेमिट्यान्स (विप्रेषण) केन्द्रहरुमा लागेको भिडसँगै दशैं तिहारका लागि बागलुङमा झण्डै एक अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । बागलुङ मनिट्रान्सफरका सञ्चालक दुर्गा कुँवरले अहिलेसम्म आफूले मात्र छ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स वितरण गरिसकेको बताए । कुँवरले आफ्नो मनिट्रान्सफरमा अघिपछि भन्दा यस बेला दैनिक ४० लाखदेखि ५० लाख रुपैयाँ सम्मको हाराहारीमा कारोबार हुने गरेको बताए ।

बागलुङ सदरमुकामका सयपत्री, कालिका, क्वीक, बागलुङ कालिका मनिट्रान्सफर, गलकोट, बुर्तिवाङ, कुश्मीसेरा, खर्वाङ लगायतका ठाउँमा दर्जनौ मनीट्रान्सफरबाट दशैका बेला दैनिक छ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । कालिका मनिट्रान्सफर बागलुङका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढेने गरेको बताए । सयपत्री मनिट्रान्सफरका देबु पोडेलले अन्य समय ८–१० लाखको रेमिट्यान्स कारोवार हुने गरेकोमा यो समयमा दिनहुँ २५ देखि ३० लाखको हाराहारीमा कारोबार हुने गरेको बताए । लाहुरेहरुको जिल्लाका रुपमा परिचित बागलुङ जिल्लामा दशैंका बेला अन्य समयमा भन्दा धेरै रेमिटान्स भित्रिने गरेको व्यवसायीको अनुभव छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या अत्याधिक भएकाले दशैंका बेला करोडौं रुपैयाँ रेमिट्यान्स भित्रने गरेको रमिट्यान्स व्यवसायीहरु बताउँछन् । रेमिट्यान्स (विप्रेषण) भुक्तानी केन्द्रका अलवा बैंक तथा अन्य बित्तिय संस्थाहरुमार्फत समेत रेमिट्यान्स भित्रिइरहेको छ ।