देखिन छाडे काठे पिङ र चमच्चा

बागलुङ, ३१ असोज — दशैंको बेला खेलिने काठेपिङ र चमच्चा गाउँघरमा देखीन छोडेका छन् । पिङ बनाउने युवाहरुको अभावका कारण दशैंमा खेलिने काठेपिङ र चमच्चा हराउँदै गएका हुन् । पहिले–पहिले चमच्चाको लागि प्रयोग गरिने खिर्रोको रुखहरु काटिएका छन् । पिङ बनाउने ठाउँहरुमा कतै सार्वजनिक भवन, बिद्यालय बने भने कतै तितेपाती उम्रिएको छ । घर–घरमा पुग्ने सडक बनेका कारण विगतमा जस्तो बाटोहरुमा चहलपहल, पैदलयात्रीको ओहोरदोहोर छैनभने दशैंका बेला राखिने पीङ चमच्चा खेल्नेको भीड देखापर्न छोडेका छन् । गाउँघरमा बृद्धबृद्धा र बालबालिका मात्रै छन्, उनीहरुले काठको प्रयोग गरे चमच्चा बनाउन सक्दैनन् । काठ बोक्न सक्ने युवा कोही रोजगारीको शिलशिलामा बिदेशमा छन्भने कोही देशै ठुला शहर छिरेका छन् । दशैंको बेला मात्रै टिका थाप्न गाउँ आउने युवाले चमच्चा बनाउन समय पाउँदैनन् । ‘नवदुर्गा सुरु हुनु अगाडी देखिनै हाम्रो घर नजिकमा बनेको काठे चमच्चा र लिङगेपीङ खेल्न पालो कुर्न पर्ने अवस्था हुन्थ्यो’ बागलुङको काठेखोला गाउँपालिका–२ का गोपाल बिकले भने– ‘अहिले त पिङ र चमच्चा बनाउने मैदाननै सुनसान रहेछ ।

’ दश बर्ष लामो बैदेशीक रोजगारीबाट फर्केका बिकले दशैंको रौनक हराएको बताए । पिङ हाल्नका लागि गाउँमा बाबियो समेत पाईन छोडेको छ । दशैको लागि पीङ हाल्नलाई वस्तुबाट जोगाएर बाबियो राख्ने गरिथ्यो स्थानीय दिलबहादुर थापाले भने, चमच्चाको लागि दुई महिनादेखि तयारी गर्नुपथ्र्याे अहिले हरायो । बाबियो बाटेर पिङ बनाउने र काठ काटेर चमच्चा बनाउने सिप नयाँ पस्तामा छैन् । गाउँमा बसोबास गर्ने अधिकांस मानिस सहर केन्द्रीत हुँदा परम्परागत सीप समेत नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बागलुङ जैमिनी नगरपालिका–१ का कृष्ण शर्माले बताए । शहर बजारमा पाईने तयारी पिङ बाह्रै महिना खेल्न पाईने भएका कारण नयाँ पुस्तामा पिङ र चमच्चाको मोह हराएको शर्माको अनुमान छ । ‘पहिले–पहिले पिङ र चमच्चा खेल्न तँछाडमछाड हुन्थ्यो’ शर्माले भने– ‘अहिलेत न पिङ र चमच्चा देख्न पाईन्छ नत भिडभाड नै हुन्छ ।’