भारतमा एकै परिवारका ४ नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं ५, कात्तिक-भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका भारतीय प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते हुनेमा दुई जना सोही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।